‘पहिले म कांग्रेसको पल्टन थिएँ, अहिले जनताको पल्टन भएको छु।’

|

धनुषा निर्वाचन क्षेत्र नम्बर १ यतिबेला चुनावी सरगर्मीले तातेको छ। गाउँका चौतारा, बजारका चिया पसलदेखि लिएर घरदैलो अभियानसम्म प्रतिनिधिसभा सदस्य रामपल्टन साह आफूलाई शजनताको पल्टन’ का रूपमा प्रस्तुत गर्दै चुनावी मैदानमा उत्रिएका छन् । नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेका साहसँग गरिएको कुराकानीले उनको राजनीतिक यात्रा, आत्मविश्वास र चुनावी एजेन्डालाई स्पष्ट रूपमा उजागर गर्छ ।
चुनाव नजिकिँदै जाँदा जनताको प्रतिक्रिया कस्तो छ भन्ने प्रश्नमा साहको उत्तर आत्मविश्वासले भरिएको छ । उनी भन्छन्, ‘पहिले म कांग्रेसको पल्टन थिएँ, अहिले जनताको पल्टन भएको छु।’ उनका अनुसार यसपटक कार्यकर्ता मात्र होइन, आम मतदातामा समेत उनको पक्षमा आशा र भरोसा बढ्दो छ। लामो समयदेखि संगठनमा सक्रिय रहँदै आएका उनले आफूलाई कुनै गुट वा समूहभन्दा माथि उठेर सबैको साझा उम्मेदवारका रूपमा स्थापित गर्न खोजिरहेका छन् ।

टिकट वितरणका क्रममा अन्य नामहरूको चर्चा भए पनि अन्ततः पार्टीले उनैलाई उम्मेदवार बनायो । चुनाव खर्चिलो बन्दै गइरहेका बेला आर्थिक व्यवस्थापन कसरी भइरहेको छ भन्ने जिज्ञासामा उनले दिएको जवाफ रोचक छ । उनका अनुसार उनी “खुला किताब” जस्तै छन् । गाउँमै बसेर अभियान चलाइरहेका साहलाई साथीसंगी र शुभेच्छुकहरूले सघाइरहेका छन्—कसैले खाना खुवाइदिन्छन्, कसैले गाडी उपलब्ध गराउँछन्, कसैले आफ्नै खर्चमा इन्धन हालिदिन्छन् । ‘मसँग तीनवटा गाडी सहयोगमा छन्,’ उनी भन्छन्, ‘जिल्ला सभापति, एक मित्र र छोराको साथीले दिएका हुन् ।’ उनका शब्दमा यो सहयोग पैसाको लेनदेनभन्दा बढी विश्वासको प्रतीक हो ।

विश्वासको यो आधार कहाँबाट आयो त ? साह यसको श्रेय आफ्नो राजनीतिक निष्ठा र चरित्रलाई दिन्छन् । आफूलाई स्वर्गीय प्रदीप गिरिको अनुयायी बताउँदै उनी भन्छन् कि ३० वर्षसम्म गिरिको सेवामा रहँदा उनले सत्य र सिद्धान्तको राजनीति सिके । ‘मैले कसैको चित्त दुखाएको छैन, सुख–दुःखमा साथ दिएको छु,’ भन्ने उनको दाबी छ । यही निरन्तरता र सरल व्यवहारले जनतामा भरोसा पैदा गरेको उनी ठान्छन् ।
चुनाव जित्नेमा कत्तिको ढुक्क हुनुहुन्छ भन्ने प्रश्नमा उनको जवाफ प्रतीकात्मक शैलीमा आउँछ । महाभारतका दानवीर कर्णको उदाहरण दिँदै उनी भन्छन्, ‘हारेर पनि योद्धा चिनिन्छ, तर म त हार्दिनँ।’ उनको विश्वासमा समयले ढिला गर्न सक्छ, तर न्याय अन्ततः हुन्छ। कांग्रेसले यस क्षेत्रमा दुई दशकदेखि प्रतिनिधिसभा जित्न नसकेको सन्दर्भमा उनी यसपटकको प्रतिस्पर्धालाई ऐतिहासिक मोडका रूपमा चित्रित गर्छन् ।

साहका अनुसार पार्टीभित्र मात्र होइन, बाहिरबाट पनि उनलाई समर्थनको संकेत मिलिरहेको छ । उनी गगन थापाको विश्वास आफूमा रहेको बताउँछन्, तर त्यसलाई व्यक्तिगत शक्तिको आधारभन्दा बढी जनताको विश्वाससँग जोड्छन् । मधेसको सवाललाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा उठाउन थापाले जोखिम मोलेको दाबी गर्दै साह मधेसमा नयाँ राजनीतिक ऊर्जा जन्मिएको बताउँछन् ।
यसैबीच काठमाडौंका मेयर बालेन शाहको नाममा देखिएको ‘ऊर्जा’ सँग तुलना गर्दा साह फरक धारणा राख्छन् । उनका अनुसार बालेनको ऊर्जा काठमाडौंमा सीमित छ र उनले जनतासँग गरेको वाचा पूरा गर्नुपर्छ । मधेसको राजनीतिक यथार्थ फरक रहेको उनको तर्क छ।
धनुषामा ‘घण्टी’ चिन्हको चर्चा बढ्दो छ भन्ने प्रश्नमा उनले सावधानीपूर्वक प्रतिक्रिया दिन्छन् । रवि लामिछानेको नाम उल्लेख गर्दै उनी भन्छन् ‘हावा आउँछ, तर हुरीबतास क्षणिक हुन्छ। ’ उनका अनुसार कुनै पनि उम्मेदवारको चर्चा मात्र पर्याप्त हुँदैन, चरित्र र विगतको काम पनि हेर्नुपर्छ ।
देशको समग्र राजनीतिक पृष्ठभूमिबारे कुरा गर्दा साहले जनयुद्ध र त्यसपछिको राजनीतिक उतारचढावको प्रसंग उठाउँछन् । पुष्पकमल दाहालको सन्दर्भमा उनी भन्छन् कि आन्दोलन सत्य हुन सक्छ, तर त्यसको दुरुपयोगबाट विकृति जन्मिएको छ । उनका अनुसार अहिलेको चुनाव ‘सत्य र असत्य’ बीचको प्रतिस्पर्धा हो—जनताको विश्वास र स्वार्थी प्रवृत्तिबीचको संघर्ष हो ।

प्रतिस्पर्धी उम्मेदवारबारे सोध्दा साहले संयमित तर आलोचनात्मक धारणा राख्छन् । माओवादीका मातृका प्रसाद यादव, एमालेका रामचन्द्र मण्डल र जसपा नेपालका दीपक कार्की—तीनै जना पूर्वमन्त्री वा सांसद भइसकेका व्यक्तिहरू हुन् । तर साहको दाबी छ कि उनीहरूले जनताको अपेक्षाअनुसार काम गर्न सकेनन् । ‘जितेर गएपछि फर्केर नआएको’ गुनासो आफूले गाउँ–गाउँमा सुन्ने गरेको उनी बताउँछन् ।
यसको विपरीत उनले एउटा सार्वजनिक वाचा गरेका छन्—चुनाव जिते वा हारे पनि हरेक ६ महिनामा गाउँ–टोलमा पुगेर जनताको सुख–दुःखमा साथ दिने। राजनीतिक उत्तरदायित्वलाई केवल पदसँग नजोडी निरन्तर सम्बन्धका रूपमा परिभाषित गर्न खोजिएको यो वाचा मतदातालाई आकर्षित गर्ने प्रयास देखिन्छ।

उनका एजेन्डा स्पष्ट छन्। किसानका लागि सिँचाइ र मलखादको सहज उपलब्धता, शिक्षा र स्वास्थ्यलाई सुलभ बनाउने, बेरोजगारी घटाउने र सुशासन कायम गर्ने उनको प्राथमिकता हो। चार दशकदेखि पार्टीमा सक्रिय रहेको अनुभवलाई उनले आफ्नो पूँजी मान्छन्। “आजसम्म कसैको एक रुपैयाँ ठगेको छैन,” भन्ने दाबीमार्फत उनी स्वच्छ छविलाई चुनावी ब्रान्ड बनाउने रणनीतिमा छन्।

धनुषा–१ को यो प्रतिस्पर्धा केवल दलगत अंकगणित होइन, छवि, विश्वास र निरन्तरताको परीक्षा पनि हो। एकातिर परिवर्तनको नारा र नयाँ शक्तिको आकर्षण छ, अर्कोतिर अनुभव, संगठन र निष्ठाको दाबी। रामपल्टन साहले आफूलाई दोस्रो धारको प्रतिनिधि मानेका छन्—जसले पुरानो संरचनाभित्रै नयाँ भरोसा जगाउने प्रयास गरिरहेको छ।

अन्ततः मतदाताले कसलाई रोज्छन्, त्यो निर्वाचन परिणामले तय गर्नेछ। तर चुनावी मैदानमा उभिएर “म कांग्रेसको होइन, जनताको पल्टन हुँ” भन्ने उद्घोषले रामपल्टन साहले आफ्नो अभियानलाई भावनात्मक र राजनीतिक दुवै आयाम दिन खोजेको स्पष्ट देखिन्छ। धनुषाको माटोमा यसपटकको मतदान केवल प्रतिनिधि चयन मात्र होइन, विश्वासको पुनस्र्थापनाको प्रश्न पनि बनेको छ।