मोटरसाइकल दुर्घटनामा ढल्केबरका युवा इन्द्रदेव महतोको मृत्यु

|

ढल्केबर, धनुषा ।  धनुषाको मिथिला नगरपालिका–११, बाहुनमारास्थित बर्दिवास–सिन्धुली सडकखण्डमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

आइतबार ढल्केबरबाट सिन्धुलीतर्फ गइरहेको मधेश प्रदेश–२–०२–००८ प ८५८३ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आइरहेको मधेश प्रदेश–२–०२–००३ प ४४७१ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ ।

दुर्घटनामा मधेश प्रदेश–२–०२–००८ प ८५८३ नम्बरको मोटरसाइकलमा सवार धनुषाको मिथिला नगरपालिका–६, ढल्केबर निवासी २७ वर्षीय युवा इन्द्रदेव महतोको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक लक्ष्मण केसीले दुर्घटनामा सख्त घाइते भएका महतोलाई उपचारका लागि बर्दिवासस्थित जनसेवा अस्पताल पु¥याइएपछि चिकित्सकले मृत घोषणा गरेको बताउनुभयो ।

दुर्घटनामा अर्का मोटरसाइकल चालक सिन्धुलीको कमलामाई नगरपालिका–४, निवासी ४० वर्षीय सन्तोष कार्की घाइते भएका छन् । उहाँको उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक केसीले जानकारी दिनुभयो ।