निजामती सेवामा युवाको पहुँच बढाउन ढल्केबरमा उदगम विन्दु लोकसेवा कक्षा सुरु

|

ढल्केबर, धनुषा ।
धनुषाको ढल्केबरस्थित जनक एकेडेमीमा लोकसेवा तयारी कक्षा सञ्चालनमा ल्याइएको छ । मंगलबार आयोजित एक कार्यक्रमबीच कक्षाको उद्घाटन गरिएको हो । युवालाई स्वदेशमै अवसर खोज्न प्रेरित गर्दै वैदेशिक रोजगारीप्रतिको निर्भरता घटाउने उद्देश्यले उदगम विन्दु लोकसेवा कक्षा सञ्चालनमा ल्याइएको आयोजकले जनाएको छ ।

उदगम विन्दु लोक सेवा कोचिङ सेन्टरका सञ्चालक अमरदीप महतोले प्रविधिको सही उपयोग र निजामती सेवामा स्थानीय युवाको पहुँच बढाउने उद्देश्यले लोकसेवा कोचिङ्ग कक्षा सञ्चालनमा ल्याइएको बताउनुभयो । उहाँका अनुसार पछिल्लो समय बालबालिका र युवा मोबाइलमै सीमित हुने प्रवृत्ति बढेकाले उनीहरूलाई सकारात्मक सोचसहित राष्ट्र सेवा र देशभक्तिमा अभिप्रेरित गर्ने प्रयास गरिएको हो ।
उहाँले स्याङ्जा, गुल्मी, अर्घाखाँची र झापा जस्ता जिल्लाहरू लोकसेवा परीक्षामा अगाडि रहेको उदाहरण दिँदै अब धनुषा तथा आसपासका पालिकाका युवालाई पनि त्यही स्तरमा पु¥याउने लक्ष्य राखिएको जानकारी दिनुभयो ।

कक्षामा प्रदेश लोकसेवा आयोगअन्तर्गत चौथो र पाँचौँ तह तथा संघीय लोकसेवा आयोगअन्तर्गत खरिदार, सुब्बा लगायतका पदका लागि तयारी गराइनेछ । शिक्षक सेवा आयोग, बैंकिङ, प्रहरी सेवा लगायत विभिन्न प्रतिस्पर्धात्मक परीक्षाका लागि पनि कक्षा सञ्चालन गरिने जनाइएको छ ।
कार्यक्रममा मिथिला नगरपालिकाका मेयर महेन्द्र महतो, उपमेयर सुनिता सिंह बुढाथोकी, वडाध्यक्ष रामबहादुर स्याङदन, नन्दकिशोर यादव लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधि, शिक्षक तथा स्थानीयवासीको उल्लेख्य उपस्थिति रहेको थियो । उपस्थित वक्ताहरूले यस्ता कक्षाले ग्रामीण क्षेत्रका युवालाई प्रतिस्पर्धात्मक परीक्षामा सक्षम बनाउँदै स्थानीय स्तरमै अवसर सिर्जना गर्ने विश्वास व्यक्त गरेका थिए ।