मिथिला नगरपालिका ५ को वडा कार्यालयमा तालाबन्दी

|

ढल्केबर, धनुषा । धनुषाको मिथिला नगरपालिका–५, श्रीपुरस्थित वडा कार्यालयमा स्थानीय बासिन्दाले तालाबन्दी गरेका छन् । वडाको बजेट दुरुपयोग गरी जनप्रतिनिधि र कर्मचारीले धार्मिक तथा पर्यटकीय अवलोकन भ्रमणमा आफ्ना श्रीमती तथा आफन्तलाई भ्रमणमा लगेको आरोप लगाउँदै आइतबार स्थानीयले कार्यालयमा तालाबन्दी गरेका हुन् ।

स्थानीय गणेश महतोले जनताको काम छाडेर आफ्नै जनप्रतिनिधि र कर्मचारी परिवारलाई घुमाउन वडाको बजेट दुरुपयोग गरेकाले कार्यालयमा तालाबन्दी गरिएको बताउनुभयो । वडाको नियमित सेवा प्रवाह पूर्णरूपमा ठप्प पारेर बजेटको दुरुपयोग गरेको उहाँले जानकारी दिनुभयो । स्थानीयले बजेट खर्चको पारदर्शिता, भ्रमणमा सहभागीको विवरण सार्वजनिक गर्नुपर्ने माग गर्दै स्पष्ट जवाफ र छानबिन नभएसम्म तालाबन्दी जारी राख्ने चेतावनी दिएका छन् ।

वडा कार्यालयले चैत १० गते सूचना जारी गर्दै जनप्रतिनिधि र कर्मचारी धार्मिक तथा पर्यटकीय अवलोकन भ्रमणमा जाने भएकाले पाँच दिनका लागि कार्यालय बन्द रहने जनाएको थियो । यता भ्रमणमा रहनुभएका वडाध्यक्ष रामचन्द्र महतोले वडाका सम्पूर्ण जनता आफन्त नै भएको बताउँदै सबै राजनीतिक दलको निर्णयअनुसार भ्रमण गरिएको बताउनुभयो ।