ढल्केबर, धनुषा ।
धनुषाको बटेश्वर गाउँपालिका–१, चित्रपुरमा रहेको लक्ष्मी माध्यमिक विद्यालयले आफ्नो स्वर्ण जयन्ती मनाएको छ । स्थापनाको ५० औँ वर्ष पूरा गरेको अवसरमा शुक्रबार एक समारोहकोे आयोजना गरेर स्वर्ण जयन्ती मनाएको हो ।
समारोहमा प्रतिनिधि सभा सदस्य राजकिशोर महतोले शिक्षा नै समृद्ध समाज निर्माणको मुख्य आधार भएको बताउनुभयो । उहाँले ग्रामीण क्षेत्रमा रहेको यस विद्यालयले पाँच दशकसम्म निरन्तर शैक्षिक सेवा प्रदान गर्नु गौरवको विषय भएको उल्लेख गर्दै अबको समय गुणस्तरीय, व्यवहारिक र प्रविधिमैत्री शिक्षामा जोड दिनुपर्ने धारणा राख्नुभयो । उहाँले विद्यालयको भौतिक तथा शैक्षिक विकासका लागि आफ्नोतर्फबाट आवश्यक सहयोग रहने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।
सभा सदस्य महतोले विद्यालयले पाँच दशकसम्म पु¥याएको योगदानको प्रशंसा गर्दै भन्नुभयो, कुनै पनि समाजको विकासको मापन त्यहाँको शैक्षिक अवस्थाले गर्छ । लक्ष्मी माध्यमिक विद्यालयले ५० वर्षदेखि यो क्षेत्रमा ज्योति छर्ने काम गरेको छ ।’
कार्यक्रममा प्रदेश सभा सदस्य हरिनारायण महतो र शारदा पहाडीले विद्यालयको योगदानको प्रशंसा गर्दै आगामी दिनमा अझ प्रभावकारी शैक्षिक वातावरण निर्माण गर्न सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिनुभयो । उहाँहरूले स्वर्ण जयन्तीले विद्यालयको इतिहास मात्र होइन, भविष्यको दिशानिर्देश पनि गर्ने बताउनुभयो ।
त्यसैगरी बटेश्वर गाउँपालिका अध्यक्ष रामअशिष महतोले स्थानीय स्तरमा शिक्षा विकासमा लक्ष्मी माध्यमिक विद्यालयले खेलेको भूमिकाको महत्वपूर्ण भएको बताउनुभयो । उहाँले विद्यालयलाई नमुना शैक्षिक संस्थाका रूपमा विकास गर्न आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
विद्यालयका प्रधानाध्यापक अशोकुमार ठाकुर विद्यालय वि.सं. २०३२ सालमा स्थापना भएको यस विद्यालयले माध्यमिक तहसम्मको शिक्षा प्रदान गर्दै आएको बताउँदै ५० वर्षको गौरवमय यात्रा पूरा गर्दा विद्यालयले हजारौँ दक्ष जनशक्ति उत्पादन गरिसकेको बताउनुभयो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक, अभिभावक तथा पूर्व विद्यार्थीको उल्लेखनीय सहभागिता रहेको थियो ।


