ढल्केबर, धनुषा । धनुषाको मिथिला नगरपालिका–१, केमलीपुरमा तारजालीमा फसेको चितुवाको सकुशल उद्दार गरिएको छ । पर्सा राष्ट्रिय निकुञ्जबाट आएको उद्दार टोलीले चितुवालाई उद्दार गरेको हो ।
डिभिजन वन कार्यालय धनुषाका कमाण्डर वैजनाथ सिंहले निलगाई, बँदेललगायतका वन्यजन्तुबाट बाली जोगाउन वन क्षेत्र नजिकका किसानले लगाएको तारजालीमा चितुवा पासोमा परेको अवस्थामा उद्दार गरिएको बताउनुभयो । उहाँका अनुसार बुधबार बिहान स्थानीयले तारजालीमा चितुवा फसेको देखेपछि खबर गरेलगत्तै निकुञ्जको प्राविधिक टोलीको सहयोगमा चितुवालाई सुरक्षित रूपमा नियन्त्रणमा लिइएको हो ।
उद्दार टोलीका डा. निवना ढकालले नियन्त्रणमा लिइएको चितुवालाई आवश्यक स्वास्थ्य परीक्षणपछि पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रमा छाडिने जानकारी दिनुभयो ।
मिथिला नगरपालिका–७, का वडाध्यक्ष रामबहादुर स्याङ्दनले चितुवाले विगत दुई महिनादेखि स्थानीयलाई त्रसित बनाउँदैआएको बताउनुभयो । उहाँका अनुसार चितुवाले बाख्रा, गाई, पाडो र कुकुर गरी ३५ भन्दा बढी पशुचौपाया मारेको छ ।
वडाध्यक्ष स्याङ्दनले चितुवाले केमलीपुर, गैरीटोली, एक्लेबरलगायतका बस्तीमा पटकपटक प्रवेश गरी पशुचौपायामाथि आक्रमण गर्दै आएको बताउनुभयो । उहाँले सोही चितुवाको आक्रमणबाट एक जना स्थानीय घाइतेसमेत भएको जानकारी दिनुभयो । उहाँका अनुसार केमलीपुरका ४८ वर्षीय सुमन विक चितुवाको आक्रमणमा परी घाइते भएका हुन् । तारजालीमा फसेको चितुवा हेर्न नजिक पुगेका विकमाथि चितुवाले आक्रमण गरेको र उपचारपछि उहाँको अवस्था सामान्य रहेको वडाध्यक्ष स्याङ्दनले बताउनुभयो ।

