विजयकुमार साह
ढल्केबर, धनुषा ।
धनुषाको मिथिला नगरपालिका ढल्केबरकी कल्पना कडारी, बिना कडारी र ललिता सिंह करिब दुई दशकदेखि नगरक्षेत्रभित्रका हिंसापीडित महिलालाई न्याय दिलाउन निरन्तर सहजीकरण गर्दैआउनुभएको छ । एउटै टोलमा बसोबास गर्दै आएका यी तीन महिलाले घरेलु हिंसा, यौनजन्य हिंसा, बालविवाह तथा अन्य विभिन्न कारणले पीडित बनेका महिलालाई सहयोग गर्दै आउनुभएको छ । स्थानीयतहदेखि प्रहरी, प्रशासन र अदालतसम्म पुगेर आवश्यक सहजीकरण गर्दै आएको उहाँहरु बताउनुहुन्छ ।
कल्पनाले दैनिक एक÷दुई जना हिंसापीडित महिला सहयोग माग्न आउने गरेको बताउनुभयो । हामी पनि सकेसम्म सहयोग गर्दैआएको उहाँले सुनाउनुभयो । सुरुमा छिमेकमै भएका हिंसाका घटनामा चासो लिएर छलफल र प्रहरीसम्म पुगेर सहयोग गर्न थालेपछि बिस्तारै हिंसापीडितका पक्षमा आवाज उठाउने व्यक्तिका रूपमा आफूहरुलाई चिन्न थालेको उहाँले बताउनुभयो ।
सुरुमा छिमेकमा हुने सानातिना झैझगडा र महिला हिंसाको घटनामा चासो राख्न थालेको सुनाउदै उहाँले भन्नुभयो, “पछि विस्तारै अन्य ठाउँबाट पनि महिला आउन थाले । अहिले त दैनिक एक÷दुई जना सहयोग खोज्दै आउनुहुन्छ । कहिलेकाहीँ बिहानै घर खोज्दै आइपुग्छन् ।”
उहाँका अनुसार कतिपय महिलाले घर नै नचिनेको अवस्थामा पनि सोधपुछ गर्दै घरसम्म आउने गरेका छन् । यहाँ आउने महिला केही न केही पीडा बोकेर आएका हुन्छन् । त्यसैले आफूहरुले समय, परिस्थिति अनुसार सकेसम्म सहयोग गर्ने गरेको कल्पनाले सुनाउनुभयो ।
उहाँले आवश्यक परेको अवस्थामा पीडितलाई लिएर प्रहरी कार्यालय, स्थानीय तहको मेलमिलाप केन्द्र र अदालतसम्म पुगेर सहयोग गर्दैआएको बताउनुभयो । उहाँले भन्नुभयो, “धेरैजसो महिलालाई कहाँ जाने, कसरी उजुरी गर्ने भन्ने जानकारी हुँदैन । हामीले त्यो बाटो देखाइदिन्छौँ ।”
त्यस्तै बिनाले हिंसापीडितलाई सहयोग गर्ने क्रममा कहिलेकाहीँ पीडक पक्षबाट धाकधम्कीसमेत आउने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “कतिपयले त तिमीहरू धेरै जान्ने भयाँै भनेर धम्क्याउने गर्छन् तर हामी त्यस्तो धाकधम्कीको प्रर्वाह नगरी पीडितलाई न्याय दिलाउन निरन्तर खटिरहेका छौँ ।” उहाँहरुले महिलालाई मात्र हैन पुरुष र बालबालिकाको घटनालाई पनि उत्तिकै चासो दिएर सहजीकरण गर्दैआएको उहाँले सुनाउनुभयो ।
उहाँका अनुसार कतिपय घटना मेलमिलापमार्फत समाधान खोजिन्छ भने गम्भीर घटना भए कानुनी प्रक्रियाबाट अगाडि बढिन्छ । आफैँ कानुनका विज्ञ नभए पनि अनुभवले धेरै कुरा सिकेको उहाँको भनाइ छ ।
बिनाले मनोपरामर्शसम्बन्धी विभिन्न तालिमसमेत लिएको बताउँदै घटनाको अवस्था हेरेर पीडितलाई मनोपरामर्श सेवा पनि दिने गरेको बताउनुभयो ।
उहाँका अनुसार धेरै महिलालाई मानसिक रूपमा सशक्त बनाउनु पनि उत्तिकै आवश्यक हुन्छ । धेरै पीडित महिला शारीरिकभन्दा बढी मानसिक रूपमा कमजोर भएका हुन्छन् । उहाँले पहिला कुरा सुनेपछि समाधानको बाटो अपनाउने गरेको बताउँदै कतिपय महिलालाई सुरक्षित स्थानमा बस्ने व्यवस्था, परिवारसँग पुनःसम्पर्क गराउने र आर्थिक रूपमा आत्मनिर्भर बन्न सुझाव दिने गरेको बताउनुभयो ।
यसैगरी ललिताका अनुसार धेरैजसो पीडित महिला स्थानीय तहको मेलमिलाप केन्द्र वा प्रहरी कार्यालय जानुअघि नै घरमा आउने गरेको बताउनुभयो । उहाँले पनि पीडितलाई न्याय दिलाउन सजिलो नभएको जानकारी दिनुभयो । उहाँका अनुसार पीडक पक्षबाट पटकपटक धाकधम्की आउने गर्छ । हामीलाई कतिपयले धेरै जान्ने नबन्नु भनेर तस्र्याउन खोज्छन् ।
ढल्केबरका स्थानीय रामकुमार महतोले यी तीन महिलाको सहयोगले धेरै हिंसा पीडित महिलाले न्याय पाएको बताउनुभयो । उहाँहरु कुनै स्वार्थ र पारिश्रमिक बिना दुई दशकदेखि यो काममा सक्रिय रहेको उहाँले जानकारी दिनुभयो । मिथिला नगरपालिकाका जनप्रतिनिधिले महिला सशक्तिकरणका जीवन्त उदाहरण भएको बताउँदै उहाँहरुको सहयोगले मेलमिलाप केन्द्रलाई पनि काम गर्न सजिलो भएको बताएका छन् ।

