मधेश भवन परिसरमा मुख्यमन्त्रीसहितको सहभागितामा फोहोर व्यवस्थापन

|

ढल्केबर, धनुषा । मधेश प्रदेश सरकारले मङ्गलबारदेखि राष्ट्रिय सरसफाई सप्ताह २०८३ को विधिवत सुरुवात गरेको छ । वन तथा वातावरण मन्त्रालयको अगुवाईमा जनकपुरस्थित प्रदेश मुख्यालय मधेश भवन परिसरमा बृहत् सरसफाई कार्यक्रमको आयोजना गरी सप्ताहको शुभारम्भ गरिएको हो ।

सरसफाई अभियानमा मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवलगायत मन्त्री, प्रमुख सचिव, विभिन्न मन्त्रालयका सचिव, कर्मचारी तथा मधेश भवनमा सुरक्षामा खटिएका सुरक्षाकर्मीको सहभागिता रहेको थियो । मधेश भवन परिसरभित्र फालिएका प्लास्टिकजन्य फोहर, बोतल, मिचहा प्रजातिका झार र निर्माणाधीन संरचनाका सिमेन्टका बोरा सङ्कलन गरेर व्यवस्थापन गरिएको बताइएको छ । सङ्कलन गरिएको करिब तीन ट्रयाक्टर फोहोरलाई परिसर बाहिरको डम्पिङ साइटमा लगेर विसर्जन गरिएको वन तथा वातावरण मन्त्रालयका जलाधार व्यवस्थापन अधिकृत बेचन महतोले बताउनुभयो ।

उहाँका अनुसार यो सरसफाई सप्ताह आगामी जेठ १ गतेसम्म सञ्चालन रहनेछ । सरकारी कार्यालयको नियमित सरसफाई र फोहोर व्यवस्थापन गर्ने, सेवाग्राहीलाई स्वच्छ र आकर्षक वातावरणमा सेवा प्रवाहको सुनिश्चितता गर्ने तथा सौन्दर्यीकरणको स्थायी प्रणाली विकास गर्ने उद्देश्यले यो अभियान सुरु गरिएको अधिकृत महतोले जानकारी दिनुभयो ।