विजयकुमार साह
ढल्केबर, धनुषा । धनुषाको मिथिला नगरपालिका क्षेत्रभित्रका सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पठनपाठन र निःशुल्क सवारी सुविधाले विद्यार्थीको आकर्षण बढ्न थालेको छ । सामुदायिक विद्यालयमै गुणस्तरीय शिक्षा दिने उद्देश्यले यहाँका अधिकांश विद्यालयले अङ्ग्रेजी माध्यमबाट पढाउन सुरु गरेपछि विद्यार्थीको चाप बढ्न थालेका हुन् ।
ढल्केबरमा रहेको महेन्द्र माध्यमिक विद्यालयमा चालू शैक्षिक वर्षदेखि शिशु कक्षादेखि ६ सम्म अङ्ग्रेजी माध्यमबाट पठनपाठन सुरु गरिएको छ । विद्यालयले विद्यार्थीलाई ल्याउनलैजान निःशुल्क सवारी सुविधा समेत सञ्चालनमा ल्याएपछि भर्ना हुने विद्यार्थीको सङ्ख्या उल्लेख्य रूपमा बढेको विद्यालय प्रशासनले जनाएको छ ।
विद्यालयका प्रधानाध्यापक रामकुमार महतोले नियमित नेपाली माध्यमसँगै अंग्रेजी माध्यमबाट पढाउन सुरु गरेपछि अभिभावकको विश्वास बढेको बताउनुभयो । उहाँले चालू शैक्षिक वर्षमा मात्रै अढाइ सयभन्दा बढी नयाँ विद्यार्थी भर्ना भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अहिले पनि भर्नाका लागि अभिभावक आउने क्रम जारी छ तर जनशक्ति र कक्षाकोठाको अभावका कारण सबैलाई भर्ना लिन सकिएको छैन ।”
प्रधानाध्यापक महतोले सामुदायिक विद्यालयप्रति अभिभावकको बढ्दो भरोसालाई कायम राख्न गुणस्तरीय शिक्षामा जोड दिइएको बताउनुभयो । उहाँले भन्नुभयो, “भर्ना गरेर मात्र हुँदैन, गुणस्तरीय शिक्षा दिन सक्नुपर्छ ।” उहाँले विद्यालयले तत्कालका लागि भाडाको गाडीमार्फत विद्यार्थी ओसारपसार गरिरहेको बताउँदै नगरपालिकाका नगर प्रमुख महेन्द्र महतोले बस उपलब्ध गराउने आश्वासन दिएको जानकारी दिनुभयो ।

त्यसैगरी मिथिला नगरपालिका–९, बडहरीस्थित सार्वजनिक माध्यमिक विद्यालयले शिशुदेखि कक्षा १२ सम्म अङ्ग्रेजी माध्यमबाट पठनपाठन सञ्चालन गर्दै आएको छ । यसअघि कक्षा आठसम्म मात्रै अङ्ग्रेजी माध्यममा पढाइ गराउँदै आएको विद्यालयले यस वर्षदेखि कक्षा १२ सम्म विस्तार गरेको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रदिप महतोले अङ्ग्रेजी माध्यम र बस सेवाका कारण यस वर्ष करिब चार सय नयाँ विद्यार्थी भर्ना भएको जानकारी दिनुभयो । उहाँका अनुसार विद्यार्थीको सुविधाका लागि विद्यालयले आफ्नै बस सञ्चालनमा ल्याएको छ । बस खरिदका लागि विद्यालयमा कार्यरत शिक्षकले एक महिनाको तलब सहयोग गरेका छन् भने बाँकी रकम विद्यालयको आन्तरिक स्रोतबाट व्यवस्थापन गरिएको उहाँले बताउनुभयो ।

यसैगरी नकटाझिजस्थित जनता माध्यमिक विद्यालयले यसअघि नै शिशु कक्षादेखि कक्षा १० सम्म अङ्ग्रेजी माध्यमबाट पठनपाठन सञ्चालन गर्दै आएको छ । विद्यालयमा पछिल्लो समय विद्यार्थीको नियमित उपस्थिति र सिकाइ उपलब्धिमा सुधार आएको प्रधानाध्यापक श्याम यादवले बताउनुभयो ।
मिथिला नगरपालिकाका शिक्षा शाखा प्रमुख सीता काफ्लेले नगरपालिकाभित्र रहेका २८ सामुदायिक विद्यालयमध्ये २२ वटा विद्यालयमा नेपालीसँगै अङ्ग्रेजी माध्यमबाट पठनपाठन भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार विद्यालयमा दक्ष शिक्षक व्यवस्थापन, पाठ्यसामग्री, प्रविधिमैत्री कक्षा तथा बालमैत्री वातावरण निर्माणमा नगरपालिकाले प्राथमिकता दिएको छ ।
मिथिला नगरपालिकाका नगर प्रमुख महेन्द्र महतोले आफू निर्वाचित भएर पदभार ग्रहण गरेकै दिन नगरभित्रका सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यमबाट समेत पठनपाठन सञ्चालन गर्ने निर्णय गरेको बताउनुभयो । उहाँले सोही लक्ष्यअनुसार सामुदायिक विद्यालयलाई निजी विद्यालयसरह प्रतिस्पर्धी र गुणस्तरीय बनाउने काम भइरहेको जानकारी दिनुभयो ।
नगर प्रमुख महतोका अनुसार आवश्यक जनशक्ति, पाठ्यपुस्तक, पूर्वाधार तथा प्रविधिको व्यवस्थापन गर्दै नगर क्षेत्रभित्रका सबै सामुदायिक विद्यालयमा क्रमशः अङ्ग्रेजी माध्यमको पठनपाठन विस्तार गरिनेछ । उहाँले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारसँगै अभिभावकको आर्थिक भार कम गर्ने उद्देश्यले बस सेवा, अतिरिक्त क्रियाकलाप तथा प्रविधिमैत्री शिक्षण प्रणालीमा समेत जोड दिइएको बताउनुभयो ।
स्थानीय विनोद ठाकुरले सामुदायिक विद्यालयमा सुधार हुँदै गएको बताउनुभयो । उहाँले सामुदायिक विद्यालयमा निजी सहर पठनपाठन हुन थालेपछि आफ्ना दुई छोराछोरीलाई निजी विद्यालयबाट निकालेर सामुदायिक विद्यालयमा भर्ना गरेको जानकारी दिनुभयो । शिक्षाको गुणस्तर सुधारसँगै सवारी सुविधा उपलब्ध गराउन थालेपछि सामुदायिक विद्यालयप्रति अभिभावको विश्वास पुनः बढ्न थालेको उहाँको भनाइ छ ।

