विजयकुमार साह
ढल्केबर, धनुषा । पछिल्लो समय धनुषाको उत्तरी क्षेत्रबाट लागूऔषध कारोबारी धमाधम पक्राउ पर्न थालेका छन् । लागूऔषध बेचबिखन तथा सेवनकर्तामाथि प्रहरीले कडाइ गरेपछि कारोबारी पक्राउ पर्न थालेका हुन् । इलाका प्रहरी कार्यालय ढल्केबर धनुषाले सोमबार एकै दिन दुई छुटछुट्टै स्थानमा छापा हानेर ठूलो मात्रामा लागूऔषधसहित चार जनालाई पक्राउ ग¥यो ।
प्रहरीले धनुषाधाम नगरपालिका–८, भिमान चोकमा रहेको समिक्षा हेल्थ केयरबाट लागूऔषधसहित गणेशमान चारनाथ नगरपालिका–१, निवासी सन्तोषकुमार विश्वकर्मालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय ढल्केबर र लागूऔषध ब्यूरो शाखा कार्यालय बर्दिवास महोत्तरीबाट खटिएको संयुक्त टोलीले औषधि पसल तथा घरकोठामा खानतलासी गरेर लागूऔषध बरामद गरेको थियो ।
प्रहरीले हेल्थ केयरको भुईँतला घरको पछाडितर्फ रहेको कोठामा कार्टुन तथा प्लास्टिकको पोकाभित्र लुकाइछिपाइ राखिएको अवस्थामा विभिन्न प्रकारका लागूऔषध बरामद गरेको हो । बरामद लागूऔषधमा ट्यापेन्टाडोल, स्पासरेस्ट, ट्रामाडोल, स्पासपेन तथा स्पाज्मो गरी कुल पाँच हजार ९१९ वटा ट्याब्लेट रहेको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक लक्ष्मण केसीले जानकारी दिनुभयो । उहाँका अनुसार औषधि पसल तथा उपचार केन्द्रको आडमा लागूऔषध बिक्री वितरण भइरहेको गोप्य सूचनाको आधारमा छापा मारिएको हो ।
त्यसैगरी सोहीदिन मिथिला नगरपालिका–१०, लालगढस्थित सुनौलो बस्तीबाट प्रहरीले लागूऔषधसहित तीन जनालाई पक्राउ ग¥यो । पक्राउ पर्नेमा महोत्तरीको बर्दिवास नगरपालिका–७, घर भई हाल लालगढमा बस्दै आएका ३० वर्षीय विजय लिम्बु, बर्दिवास नगरपालिका–१ निवासी २८ वर्षीय सुमन बुढाथोकी र सोही स्थानका अन्दाजी २७ वर्षीय सागर भनिने मनकुमार लिम्बु रहेका छन् ।
प्रहरीले विजय लिम्बुले भाडामा बस्दै आएको घरमा खानतलासी गर्दा ओछ्यानमुनिबाट लागूऔषध बरामद गरेको थियो । लिम्बुले घरबाट लागूऔषध बिक्री वितरण गर्दै आएको सूचनाका आधारमा प्रहरीले छापा मारेको प्रहरीको भनाइ छ ।
प्रहरीले ओछ्यानमुनि तथा पक्राउ परेकाहरूको साथबाट टेन्टाडोल र १०० एमजीका ९२ वटा र स्पासरेस्टका ८३ वटा गरी जम्मा १७५ वटा ट्याब्लेट बरामद गरेको थियो । साथै विभिन्न दरका नगद १५ हजार ५२० रुपियाँ र लागूऔषध सेवनपछि प्रयोग गरिएका खोलसमेत बरामद भएको प्रहरीले बताएको छ । पक्राउ परेकामाथि लागूऔषधसम्बन्धी कसुरमा मुद्दा चलाइएको र यससम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक केसीले जानकारी दिनुभयो ।
यसअघि चैत १ गते मिथिला नगरपालिका–७, ढल्केबरस्थित अनु मेडिकलबाट पनि ठूलो परिमाणमा लागूऔषधसहित त्यसका सञ्चालक रामकुमार महतोलाई प्रहरीले पक्राउ गरेको थियो । प्रहरीले सो पसलबाट टापेन्टा ट्याब्लेट ४६० पत्तामा सात हजार ६ सय पिस, स्पासरेस्ट २० मिलिग्राम ९५ पत्तामा ९५० पिस, डोवेल ७५ मिलिग्राम ६० पत्तामा ६०० पिस तथा डोवेल १०० मिलिग्रामका ९४४ वटा ट्याब्लेटसहित नगद एक लाख ३५ हजार रुपियाँ बरामद गरेको थियो ।
प्रहरी निरीक्षक केसीले लागूऔषध नियन्त्रण अभियान नभई प्रहरीको नियमित कामअन्तर्गत नै लागूऔषधका कारोबारीलाई पक्राउ गरिएको बताउनुभयो । उहाँले लागूऔषध सेवनकर्ता तथा कारोबारी नियन्त्रणलाई प्राथमिकतामा राखेर काम भइरहेको उल्लेख गर्दै साना गिरोहदेखि ठूला सञ्जालसम्म भत्काउने प्रयास भइरहेको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “यो प्रहरीको नियमित काम नै हो । तर यो बिषयलाई हामीले प्राथमिकतामा राखेर काम गरेका हाँै । ससाना गिरोहदेखि ठूलो सञ्जाल भत्काउने, कारोबार रोक्ने र समाजलाई सुसस्कृत बनाउन हामीले केही कोसिस गरेका छौँ ।’
त्यसैगरी, मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामले लागूऔषध सेवन तथा दुव्र्यसन नियन्त्रणका लागि सीमावर्ती क्षेत्रमा विशेष निगरानी अभियान सुरु गरेको छ । खुला सिमानाको फाइदा उठाउँदै भारततर्फ गएर लागूऔषध सेवन गरी फर्किने युवाको संख्या बढ्दै गएको निष्कर्षपछि प्रहरीले अत्याधुनिक प्रविधिको प्रयोग गरेर सीमा नाकामै परीक्षण अभियान सञ्चालनमा ल्याएको हो ।
प्रदेश प्रहरी कार्यालयका अनुसार “लागूऔषध सेवनकर्ता खोजी तथा सुधार महाअभियान” अन्तर्गत मधेश प्रदेशका धनुषासहित आठवटै जिल्लाका सीमावर्ती नाकामा लागूऔषध परीक्षण जाँच केन्द्र स्थापना गरिएको छ । ती केन्द्रमा अत्याधुनिक उपकरणमार्फत कुनै व्यक्तिले लागूऔषध सेवन गरेको छ वा छैन भन्ने विषय तत्काल पहिचान गर्न सकिने व्यवस्था गरिएको छ ।
प्रहरीको तथ्याङ्कअनुसार १४ देखि ३० वर्ष उमेर समूहका युवा सबैभन्दा बढी लागूऔषध दुव्र्यसनको सिकार भइरहेका छन् । लागूऔषधकै कारण चोरी, लुटपाट, घरेलु हिंसा, सडक दुर्घटना तथा अन्य आपराधिक गतिविधि बढेका छन् ।
मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी कमल थापाले लागुऔषध सेवनमा संलग्न व्यक्तिको अभिलेख तयार गरी नियमित निगरानीमा राखिने बताउनुभयो । उहाँले सीमाक्षेत्रमा नियमित आवतजावत गर्ने युवाको तथ्याङ्क सङ्कलन गर्ने कामसमेत भइरहेको जानकारी दिनुभयो ।

