ढल्केबर, धनुषा
धनुषाको मिथिला नगरपालिका–९, स्थित बडहरी खोलाबाट भइरहेको ग्राभेल उत्खनन रोक्न स्थानीयले माग गरेका छन् । बिहीबार स्थानीयले उत्खनन रोक्न माग राख्दै ढल्केबरस्थित मिथिला नगरपालिकाको कार्यालय अगाडि टायर बालेर नाराबाजी गर्दै केही समय पूर्वपश्चिम राजमार्गसमेत अवरुद्ध गरेका हुन् ।
आन्दोलनरत स्थानीय नागेन्द्र महतोले खोलाबाट जथाभावी ग्राभेल उत्खनन हुँदा नदी आसपासका खेतीयोग्य जमिन भासिने जोखिम बढेको र उत्खननपछि खोलामा ठूलाठूला खाडल बनाएर छाडिदिनाले बालबालिका डुब्ने जोखिमसमेत बढेको बताउनुभयो । उहाँले ग्राभेल उत्खननका कारण वातावरणीय तथा मानवीय जोखिम बढेको भन्दै स्थानीय आन्दोलित बनेको जानकारी दिनुभयो ।
मिथिला नगरपालिकाले नगर क्षेत्रभित्रका बडहरी, बसही, औरही, जलाधार र रातु खोला गरी छ वटा खोला ग्राभेल उत्खननका लागि काठमाडौंस्थित नेरिसा कन्ट्रक्सन कम्पनी प्रालिलाई तीन करोड पाँच लाख ६२ हजार २७३ रुपियाँमा ठेक्का दिएको छ ।
महतोले ठेक्का सम्झौता रद्द गरेर भए पनि उत्खनन कार्य तत्काल बन्द गर्नुपर्ने बताउँदै भन्नुभयो, “अब बडहरी खोलाबाट एउटा ट्याक्टरलाई पनि ग्राभेल लैजान दिँदैनौँ । स्थानीयले माग पूरा नभएसम्म आन्दोलनलाई थप सशक्त बनाउने चेतावनीसमेत उहाँले दिनुभयो ।
स्थानीयको विरोधपछि मिथिला नगरपालिकाका प्रवक्ता रामबहादुर स्याङ्दनले स्थानीयको माग सम्बोधन गरिने बताउँदै आवश्यक प्रक्रिया पूरा गरेर ठेक्का रद्द गर्ने विषयमा छलफल भइरहेको जानकारी दिनुभयो ।

