सरकारको निर्णयविपरीत कार्यालय स्थानान्तरण गर्न खोजिएको भन्दै स्थानीय आक्रोशित
ढल्केवर, जेठ १९ गते ।
धनुषाको ढल्केवरस्थित भूमि प्रशासन (साविक मालपोत) कार्यालयलाई बजार क्षेत्रबाट बाहिर सार्ने तयारी भएको भन्दै स्थानीयवासी, व्यवसायी तथा सरोकारवाला आक्रोशित बनेका छन् । उनीहरूले सरकारको निर्णयविपरीत कार्यालय स्थानान्तरण गर्न खोजिएको आरोप लगाएका छन् ।
नेपाल सरकार मन्त्रिपरिषद्को २०७२ असोज १४ गतेको निर्णयअनुसार धनुषाको ढल्केवरमा मालपोत तथा नापी कार्यालय स्थापना गर्ने निर्णय भएको थियो । स्थानीय युवाहरूको लामो संघर्षपछि २०८० मंसिरमा कार्यालय स्थापना भएको थियो भने २०८१ जेठ १८ गतेदेखि विधिवत रूपमा सेवा सञ्चालनमा आएको थियो ।
कार्यालय रहेको भवनको दुईवर्षे भाडा सम्झौता अवधि २०८२ मंसिरमा सकिएपछि नयाँ भवन छनोटका लागि सूचना प्रकाशित गरिएको थियो । उक्त सूचनाअनुसार साविककै घरधनीसहित अन्य व्यक्तिहरूले पनि शिलबन्दी दरभाउ पेश गरेका थिए । तर कार्यालय प्रमुख रोहित विश्वकर्माले ढल्केवर बजार क्षेत्रका भवनहरूलाई विभिन्न बहानामा अनुपयुक्त ठहर गर्दै कार्यालयलाई साविक नकटाझिज गाविस क्षेत्रतर्फ सार्न खोजेको स्थानीय स्रोतहरूको दाबी छ ।
गणेशमान चारनाथ नगरपालिका, क्षिरेश्वरनाथ नगरपालिका, मिथिला नगरपालिका तथा बटेश्वर गाउँपालिकालाई कार्यक्षेत्र बनाएको उक्त कार्यालय यातायात पहुँच र सेवाग्राहीको सहजताका दृष्टिले बजार क्षेत्रभित्रै रहनुपर्ने स्थानीयहरूको भनाइ छ । मिथिला नगरपालिका–१० का स्थानीय सुवर्ण लामाले मालपोत कार्यालय सबै नागरिकलाई सहज हुने स्थानमा सञ्चालन हुनुपर्ने बताए । ‘यदि ढल्केवर बजार क्षेत्रभन्दा बाहिर लैजानै खोजिएको हो भने त्यसबारे स्पष्ट सूचना आउनुपर्छ । हामी आवश्यक परे लालगढमा निःशुल्क भवन व्यवस्थापन गर्न तयार छौं,’ उनले भने ।
स्थानीयहरूका अनुसार मन्त्रिपरिषद्को निर्णयले साविक ढल्केवर क्षेत्र (हाल मिथिला नगरपालिका–१, ६ र ७) लाई आधार मानेको हुँदा कार्यालय त्यही क्षेत्रभित्र रहनुपर्ने कानुनी तथा नैतिक दायित्व छ । तर कार्यालय प्रमुखले बिचौलियासँगको मिलेमतोमा कार्यालय अन्यत्र सार्न खोजेको आरोप कर्मचारीहरूकै तर्फबाट समेत उठेको छ ।
नाम नखुलाउने सर्तमा एक कर्मचारीले भने, ‘सूचनामै ढल्केवर बजार क्षेत्रभित्र भवन हुनुपर्ने उल्लेख छ । तर कार्यालय प्रमुखले कर्मचारीहरूको सुझावसमेत बेवास्ता गर्दै एकलौटी निर्णय गर्न खोज्नुभएको छ । प्रस्तावित भवन सुरक्षा र सेवाग्राहीको पहुँच दुवै दृष्टिले उपयुक्त देखिँदैन ।’
बजार बाहिर लगे आन्दोलनमा उत्रिने व्यवसायीको चेतावनी
ढल्केवरका व्यवसायीहरूले पनि कार्यालय बजार क्षेत्रभित्रै राख्नुपर्ने अडान दोहोर्याएका छन् । उनीहरूले भवन छनोट प्रक्रियामा बिचौलियाको प्रभाव रहेको आरोप लगाउँदै कार्यालय प्रमुखले उद्योग वाणिज्य संघ, जनप्रतिनिधि तथा सरोकारवाला पक्षसँग कुनै परामर्श नगरेको बताएका छन् । व्यवसायीहरूले बजार क्षेत्रबाट कार्यालय अन्यत्र सार्ने निर्णय भए बजार बन्द गरेर आन्दोलनमा उत्रिने चेतावनीसमेत दिएका छन् ।
यता कार्यालय प्रमुख रोहित विश्वकर्माले भने ढल्केवर बजार क्षेत्रभित्र आवश्यक मापदण्ड पूरा गर्ने उपयुक्त भवन नपाइएकाले वैकल्पिक स्थान खोज्नुपरेको दावी गर्छन् ।
तर मिथिला नगरपालिका–६ का वडाध्यक्ष नन्दकिशोर यादवले बजार क्षेत्रभित्रै भवन व्यवस्थापन गर्ने जिम्मेवारी आफूले लिएको दाबी गर्दै कार्यालय प्रमुखले तानाशाही शैलीमा निर्णय गर्न खोजेको आरोप लगाए । उनले बजार क्षेत्रभन्दा बाहिर गरिएको भवन सम्झौता रद्द गरी पुनः प्रक्रिया अघि बढाउनुपर्ने बताए ।
‘ढल्केवर बजार क्षेत्रमा पर्याप्त र उपयुक्त भवनहरू उपलब्ध छन् । तर कार्यालय प्रमुखले त्यसलाई बेवास्ता गर्दै मनोमानी गरिरहनुभएको छ,’ वडाध्यक्ष यादवले भने । स्थानीयवासी, व्यवसायी तथा जनप्रतिनिधिहरूले सरकारको मूल निर्णयअनुसार ढल्केवर बजार क्षेत्रभित्रै कार्यालय कायम राख्न माग गरेका छन् । उनीहरूले अन्यत्र सार्ने प्रयास भए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

