सद्भाव कायम राख्दै मौलिक चाडपर्व मनाउन गृहमन्त्री समिमको आग्रह

|

ढल्केवर, धनुषा

मधेश सरकारका गृह तथा सञ्चार मन्त्री मोहम्मद समिमले आपसी सद्भाव कायम राख्दै मौलिक चाडपर्व विजयादशमी, दीपाली र छठ पर्व मनाउन आग्रह गरेका छन् । बुधबार धनुषाको ढल्केवरमा प्रदेश चार (ख) नेपाली कांग्रेस कार्यसमितिद्वारा आयोजित बडा दशैं, दीपावली तथा छठ पर्वको शुभकमना आदानप्रदान कार्यक्रममा उनले यस्तो आग्रह गरेका हुन् ।

सामाजिक एकता र आपसी सद्भावले नै देशको मौलिक चाडपर्वको संरक्षण सम्वद्र्धन हुने बताउँदै उनले भने, ‘बडादशैं र आउँदै गरेको दीपाली तथा छठ पर्वको अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि शुभकमना व्यक्त गर्दछु । साथै सामाजिक एकता र आपसी सद्भाव कायमको शुभकमना दिन चाहन्छु ।’

कार्यक्रममा बोल्दै उनले यहीँ चार नम्बर क्षेत्रबाट प्रतिनिधि सभा सदस्यका लागि चुनाव लडेका नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार गर्नेलाई कडा कारवाहीका लागि संघीय सरकारसँग मागसमेत गरे ।

एक अर्को प्रसङ्गमा मन्त्री समिमिले एकले अर्कोलाई हराउने परिपार्टीले धनुषामा नेपाली कांग्रेस कमजोर देखिएको बताउँदै महेन्द्र यादव पनि हराउनेको सिकार भएको र कांग्रेस एक ढिक्का भए धनुषाका चार वटै प्रतिनिधि र आठ वटै प्रदेश सभामा जित्न सकिने विचार व्यक्त गरे ।
कार्यक्रममा प्रदेश सभासदस्य कुवरकान्त झाले मिथिला नगरपालिकालगायत उत्तरी भेग तरकारी र उखु उत्पादनका लागि उर्वरभूमि भएको बताउँदै यस क्षेत्रमा सिँचाइ व्यवस्थापनका लागि मधेश सरकारका गृह तथा सञ्चार मन्त्रीलाई आग्रह गरे ।

क्षेत्रीय सभापति श्रीराम यादवको अध्यक्षतामा भएको शुभकमना आदानप्रदान कार्यक्रममा प्रदेश सभासदस्य शेषनारायण यादव, अन्जना पण्डित, मिथिला नगरपालिकाका मेयर महेन्द्र महतो, नेपाली कांग्रेसका मिथिला नगरपालिका सभापति जोगी महतोलगायत पार्टीका क्षेत्रीय र नगरका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।