विजयकुमार साह
ढल्केबर, धनुषा
धनुषाको सबैला नगरपालिका–१३, ढोलबाजामा रहेको कमलामाई आधारभूत विद्यालयको जग्गा अतिक्रमण गरी बनाइएका घरटहरा हटाइएको छ । विद्यालयको नाम रहेको एक बिघा १० कठ्ठा जग्गा स्थानीयले २० औं वर्षदेखि अतिक्रमण गरी बनाइएका घरटहरा बिहीबार सबैला नगरपालिकाको न्यायिक समिति, विद्यालय व्यवस्थापन समिति, स्थानीय राजनीतिकर्मी, सुरक्षाकर्मी र स्थानीय युवा मिलेर खाली गराइएको हो ।
सबैला नगरपालिकाकी नगर उपप्रमुख रहिमा खातुनले विद्यालयको जग्गा अतिक्रमण गरी बनाइएका घरटहरा हटाउन विद्यालय व्यवस्थापन समितिले न्यायिक समितिमा निवेदन दिएपछि त्यसको कार्यन्वयन गरिएको बताउनुभयो ।
आफूले कानुनको दायराभित्र रहेर अतिक्रमित जग्गा खाली गराएको बताउँदै उहाँले जेसिबी लगाउनुअघि जग्गा नाप जाँच गरी छुट्टयाएको र पहिलो पटक ३५ दिने, दोस्रो पटक सात दिने र अन्तिम पटक २४ घण्टाभित्र जग्गा खाली गर्न सम्बन्धित व्यक्तिहरुलाई सूचना दिएको जानकारी दिनुभयो ।
जग्गा खाली गर्न पटकपटक सूचना दिएपनि स्थानीयले अटेर गरेपछि बाध्य भएर सबै पक्षको सहयोगमा घरटहरा हटाइएको नगर उपप्रमुख खातुनको भनाइ छ । उहाँले जग्गा खाली नगराउन थुप्रै राजनीतिक दबाब आएको बताउँदै त्यसको कुनै परवाह नगरी कानुनको अधिनमा रहेर विद्यालयको अतिक्रमित जग्गा खाली गराएको बताउनुभयो ।
विद्यालयको अतिक्रमिण जग्गा खाली गराएपछि स्थानीय पनि खुसी देखिएका छन् । स्थानीय पशुपति यादवका अनुसार हुने खाने केही व्यक्तिले विद्यालयको जग्गा अतिक्रमण गरिराखेका थिए । अहिले खाली भएपछि सबैलाई राम्रो भएको छ । विद्यालयको जग्गा विद्यालयले नै उपयोग गर्न पाउनुपर्ने उहाँका भनाइ छ ।

