सुकुम्बासीका लागि घर निर्माण सुरु

|

ढल्केवर, धनुषा । धनुषाको गणेशमान चारनाथ नगरपालिका–७, सन्तनगरमा रहेका सुकुम्बासी परिवारका लागि पक्की घर निर्माण गर्न शिलान्यास गरिएको छ । शनिबार मधेश प्रदेशका सभा सदस्य सञ्जय महतोले सन्तनगरमा रहेका ३६ सुकुम्बासी परिवारका लागि पक्की घर निर्माण गर्न शिलान्यास गर्नुभएको हो । सो अवसरमा गणेशमान चारनाथ नगरपालिकाका नगर प्रमुख जितनारायण यादव र उपप्रमुख तुलसाकुमारी पाण्डेलगायत विभिन्न संघसंस्था तथा स्थानीयको उपस्थिति थियो ।

गणेशमान चारनाथ नगरपालिका, ह्याविट्याट फर नेपाल र सामुदायिक सुधार केन्द्र धनुषाले सो घर निर्माण लागेको छ । घर निर्माण गर्न एक करोड ८४ लाख रुपियाँ खर्च हुनेछ । जसमध्ये एक करोड २४ लाख रुपियाँ नगरपालिका र ६० लाख रुपियाँ ह्याविट्याट र सामुदायिक सुधार केन्द्रले खर्च गर्ने छन् ।

सामुदायिक सुधार केन्द्र धनुषाका अध्यक्ष सञ्जयकुमार साहले अव्यवस्थित बसोबासीका लागि जग्गासहितको सुरक्षित आवास निर्माण गर्न लागिएको बताउनुभयो । उहाँले एउटा घर निर्माणमा पाँच लाख रुपियाँभन्दा बढी खर्च लाग्ने बताउँदै प्रत्येक परिवारका लागि दुई वटा कोठा, भान्छा र शौचालय निर्माण गरिने जानकारी दिनुभयो । जस्ताको छाना, बाँसको टाटीमा दुवैपट्टिबाट तारजाली राखेर घर प्लाष्टर गरिने उहाँको भनाइ छ ।

अध्यक्ष साहले घर निर्माणपछि सुकुम्बासी परिवारको आयस्तरमा वृद्धि ल्याउन, बालबालिकाको शिक्षा, शिशु तथा वृद्धवृद्धाको स्याहार गर्न विभिन्न कार्यक्रम सञ्चालन गरिने बताउनुभयो । यसका लागि विभिन्न सङ्घसंस्थासँग सम्झौतासमेत भइसकेको उहाँले जानकारी दिनुभयो ।
गणेशमान चारनाथ नगरपालिकाका नगर प्रमुख जितनारायण यादवले अव्यवस्थित बसोबासीका लागि जग्गा व्यवस्थासहित घर बनाइदिन लागेको बताउनुभयो । उहाँले शौचालय, खानेपानी, बिजुल बत्तिसहित पक्की घर निर्माण गरी एकीकृत नमूना बस्ती बनाउन लागिएको बताउँदै नागरिकको सुरक्षित आवासका लागि नगरपालिकाले यो योजना अघि बढाएको जानकारी दिनुभयो ।

नगर प्रमुख यादवले सन्तनगरमा रहेको ४३ बिघा नदी उकास जग्गामा सुकुम्बासी बस्ती निर्माणको काम सुरु भएको र घर निर्माणपछि एक घरपरिवारलाई १० धुर जग्गाको लालपुर्जासमेत बनाइ दिएर प्रदान गरिने बताउनुभयो ।

सन्तनगर बस्तीमा दुसाद, मण्डल, यादव र थारु गरी ३६ घरधुरी अव्यवस्थित बसोबासी छन् । वर्षौँदेखि घरको झपडीमा बस्दै आउनु भएका उहाँहरु जग्गाको स्वामित्वसहित बसोबासका निम्ति पक्की घर बन्ने भएपछि खुसी देखिएका छन् ।