गिट्टी, बालुवा उत्खनन पूर्णरुपमा बन्द गर्न श्रीपुरबासीको माग

|

ढल्केवर, धनुषा ।

धनुषाको मिथिला नगरपालिका–५, श्रीपुरस्थित औरही खोलाबाट भइरहेको गिट्टी, बालुवाको अवैध दोहन रोक्न माग गर्दै स्थानीयले शान्तिपूर्ण ¥याली निकालेका छन् । उनीहरुले सोमबार ढल्केवर चोकमा ¥याली निकालेका हुन् ।

ढल्केवरको पूर्वचोकबाट निकालिएको ¥याली चोकको परिक्रमा गर्दै मिथिला नगरपालिका अगाडि गएर टुङ्गिएको थियो । ¥यालीका सहभागीहरुले ‘खोला उत्खनन पूर्णरुपमा बन्द गर, पर्यावरण संरक्षण गर, खानेपानी मुहानको स्रोत सुनिश्चित गर र किसानको जग्गा रक्षा गर’ जस्ता नारा लगाएका थिए ।

¥यालीका सहभागीका अनुसार औरही खोलाको अस्तित्व संरक्षणका लागि ¥याली आयोजना गरिएको बताए । गिट्टी, बालुवाको अवैध दोहनले औरही खोलाको अस्तित्व समाप्त भएर विपदका घटना बढ्न थालेपछि खोला संरक्षणको माग गरिएको ¥यालीका सहभागी गणेश महतोले बताए । उनले आफ्ना मागहरु मिथिला नगरपालिकाका नगर प्रमुख महेन्द्र महतो समक्ष राखेको जानकारी दिए ।

नगरपालिकाले स्थानीय तहमा दर्ता नभएको, नविकरण नगरेको र राजस्वसमेत नबुझाएको क्रसर उद्योगहरु बन्द गराएको छ । योसँगै औरही खोलालगयतका नदीनालाबाट भइरहेको बालुवा, गिट्टीको अवैध उत्खनन रोक्न कडाइ गरेको छ ।

नगरपालिकाले बालुवा, गिट्टी निकाल्न कडाइ गरेपछि खोलामा आश्रित क्रसर उद्योगका मजदुर, ट्याक्टर धनी र ट्याक्टरमा काम गर्ने मजदुरहरुले आइतबार मिथिला नगरपालिकाको कार्यालय अगाडि विरोध प्रर्दशन गरेको थियो । क्रसर उद्योग र नदीजन्य पदार्थको उत्खनन बन्द गराएपछि आफूहरु बेरोजगार बनेकाले काम गर्ने वातावरण बनाइदिन माग गर्दै उनीहरुले प्रदर्शन गरेको हो ।

नगरपालिकाले नदीजन्य पदार्थको उत्खननमा कडाइ गरेपनि खोला किनारमा रहेको क्रसर उद्योगी तथा उत्खनन माफियाले औरही खोलाबाट रातिको समयमा जेसीबी, टिपर र ट्याक्टरको प्रयोग गरेर बालुवा, गिट्टीको उत्खनन गर्ने गरेको स्थानीयको भनाइ छ ।

सोही औरही खोलामा २०७६ पुस २५ गते क्रसर तथा उत्खनन माफियाविरुद्ध बोल्दा श्रीपुरका दिलीप महतोको हत्या भएको थियो । सो घटनापछि क्रसर माफियाविरुद्ध आवाज उठाउन पनि स्थानीयवासी गराउने गरेका छन् ।