सुकुम्बासीको घर बनाउन विदेशीसहित जनप्रतिनिधिले गरे श्रमदान

|

ढल्केबर, धनुषा । सुकुम्बासीको घर बनाउन विदेशी नागरिकले श्रमदान गरेका छन् । धनुषाको गणेशमान चारनाथ नगरपालिका–७, सन्तनगरमा नमूना सुकुम्बासी बस्ती निर्माणमा विदेशी नागरिकसहित स्थानीय जनप्रतिनिधिले श्रमदान गरेका हुन् ।

गणेशमान चारनाथ नगरपालिका, ह्याविट्याट फर ह्युमानिटी नेपाल र सामुदायिक सुधार केन्द्र धनुषाले सन्तनगरमा रहेका ३६ सुकुम्बासी परिवारका लागि सुरक्षित आवास निर्माणको काम गरिरहेका छन् ।

बस्ती निर्माणको काममा नेपालस्थित अष्ट्रिेलियन दूतावासका प्रबन्धक कविता कश्यनाथन, सोही दुताबासका प्रतिनिधि कमाक्छि यखथुम्वा, ह्याविट्याट फर ह्युमानिटी अष्ट्रिेलियाका प्रबन्धक क्रिस गोभरससहित ह्याविट्याट फर ह्युमानिटी नेपालका निर्देशक एलिजा स्थापित, कार्यक्रम निर्देशक लक्षिन्द्र महर्जन र गणेशमान चारनाथ नगरपालिकाका नगर प्रमुख जितनारायण यादव, उपप्रमुख तुलसाकुमारी पाण्डेलगायतका जनप्रतिनिधिले एक दिन श्रमदान गरेका छन् । त्यसलगायत ह्याविट्याट फर ह्युमानिट नेपालसँग आवद्ध २५ जना स्थानीय २५ जना भोलिन्टियरले सुकुम्बासीको घर बनाउन श्रमदान गरेका छन् ।

उनीहरुले घर निर्माणका लागि सिमेन्ट र कङ्क्रिटका ब्लक बनाउन श्रमदान गरेको सामुदायिक सुधार केन्द्र धनुषाका अध्यक्ष सञ्जयकुमार साहले बताए । उनले अव्यवस्थित बसोबासीका लागि सुरक्षित आवास निर्माणको काम भइरहेको बताउँदै एउटा घर निर्माणमा पाँच लाख रुपियाँभन्दा बढी खर्च लाग्ने जानकारी दिनुभयो । “प्रत्येक परिवारका लागि दुई वटा कोठा, भान्छा र शौचालय निर्माण गरिने छ । जस्ताको छाना, बाँसको टाटीमा दुवैपट्टिबाट तारजाली राखेर घर प्लाष्टर गरिने छ ”, अध्यक्ष साहले भने ।

बस्ती निर्माण गर्न एक करोड ८४ लाख रुपियाँ खर्च हुनेछ । जसमध्ये एक करोड २४ लाख रुपियाँ नगरपालिका र ६० लाख रुपियाँ ह्याविट्याट र सामुदायिक सुधार केन्द्रले खर्च गर्ने छन् ।