भौतिक पूर्वाधारको विकास नभएसम्म देश समृद्ध बन्दैन : उपप्रधानमन्त्री महासेठ

|

ढल्केबर, धनुषा । नेपाल सरकारका उपप्रधान एवं भौतिक पूर्वाधर तथा यातायत मन्त्री रघुवीर महासेठले भौतिक पूर्वाधारको विकास नभएसम्म देश समृद्धितर्फ जान नसक्ने बताउनुभएको छ ।

शुक्रबार धनुषाको महेन्द्रनगरमा क्षीरेश्वरनाथ नगरपालिका नेकपा एमालेको नगर कमिटीले आयोजना गरेको होलीको शुभकमना आदानप्रदान कार्यक्रममा उहाँले भौतिक पूर्वाधारको विकास नगरीकन देश समृद्धितर्फ जान नसक्ने भएकाले भौतिक पूर्वाधार निर्माणको कामलाई प्राथमिकताका साथ अगाडि बढाएको बताउनुभयो ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले) का केन्द्रीय सचिवसमेत रहनुभएका उपप्रधानमन्त्री महासेठले सरकारको पहिलो लक्ष्य पनि भौतिक पूर्वाधारको विकास रहेकाले त्यसमा केन्द्रित रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, हुलाकी राजमार्ग, पूर्व पश्चिम राजमार्ग, मध्य पहाडी राजमार्ग र मदन भण्डारी राजमार्गसहितका सडकहरु छिटोभन्दा छिटो सम्पन्न गर्ने सरकारको लक्ष्य छ ।

वर्तमान पाँच दलीय गठबन्धनको यो सरकार अगामी चार वर्षसम्म चल्ने बताउँदै उहाँले यो गठबन्धन लामो समयसम्म चल्ने पनि जानकारी दिनुभयो । उपप्रधानमन्त्री महासेठले भन्नुभयो, “होलीको शुभकमना आदानप्रदान कार्यक्रम भएकाले राजनीतिको धेरै कुरा गर्दिन । विकासको काममा विरोधी दल र प्रतिपक्षी दललाई मिलाएर विकास निर्माणको कामलाई अगाडि बढाउछु ।”

उहाँले आपसी सदभावको होली सभ्य र मर्यादित भएर खेल्न आग्रह गर्दै आउँदै गरेको होलीको शुभकमना दिनुभयो ।