‘पानी र जीवन’ शीर्षकमा चित्रकला प्रतियोगिता

|

ढल्केबर, धनुषा । विश्व पानी दिवसको अवसरमा धनुषाको लालगढस्थित आदर्श माध्यमिक विद्यालयले चित्रकला प्रतियोगिता भएको छ । शुक्रबार पानीको महत्व दर्साउन ‘पानी र जीवन’ शीर्षकमा आयोजना गरिएको चित्रकला प्रतियोगितामा सोही विद्यालयका कक्षा छ देखि १० सम्मका ३० जना विद्यार्थीले भाग लिनुभएको थियो ।

चित्रकला प्रतियोगितामा कक्षा १० की डुपकुमारी कार्की प्रथम, कक्षा ८ का अजयकुमार सिंह द्वितीय, कक्षा ९ का प्रतीक लामा तृतीय र कक्षा ९ का शिरीष भुजेलले सान्त्वना स्थान प्राप्त गर्नुभयो ।

विद्यालयका प्रधानाध्यापक हरि काफ्लेले पृथ्वीमा पानीको सङ्कट बढ्दै गएकाले विद्यार्थीलाई पानीको महत्व बुझाउन चित्रकला प्रतियोगिताको आयोजना गरिएको बताउनुभयो । उहाँले जीवित प्राणीको जीवनमा पानी नभइ नहुने महत्वपूर्ण तत्वहरुमध्ये एक भएको बताउँदै विद्यार्थीलाई पानीको महत्वबारे बढीभन्दा बढी जानकारी उपलब्ध गराउन सो प्रतियोगिता गरिएको जानकारी दिनुभयो । उहाँले स्थानीय आदर्श बाल क्लबको आयोजनामा चित्रकला प्रतियोगिता आयोजना गरिएको बताउनुभयो ।