दिलिप महतोलाई पर्यावरण सहिद घोषणा गनुपर्ने माग राख्दै सडक अवरुद्ध

|

ढल्केवर, धनुषा

क्रसर व्यवसायीबाट मारिएका दिलिप महतोलाई पर्यावरण सहिद घोषणा गर्नुपर्ने माग राख्दै शनिबार धनुषाको ढल्केवरस्थित पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरिएको छ ।

दिलिपका आफन्त, समाजिक अभियन्ता र ओमप्रकाश महतो दिलिप पर्यावरण संरक्षण प्रतिष्ठानका पदाधिकारीले दिलिपलाई पर्यावरण सहिद घोषणा गर्नुपर्ने माग राख्दै करिब आधा घण्टा पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरिएको हो । उनीहरुले साङ्केतिक रुपमा आज केही बेरका लागि अवरुद्ध गरिएको बताउँदै दिलिपलाई पर्यावरण सहिद घोषणा नगरेसम्म चरणबद्ध विरोधका कार्यक्रम गरिरहने बताए ।

धनुषाको मिथिला नगरपालिका–५, श्रीपुरका दिलिपको २०७६ पुस २५ गते टिपरले किचेर हत्या गरिएको थियो । घर नजिकको औरही खोलाबाट भइरहेको अवैध उत्खनन रोक्न जाँदा उहाँको हत्या गरिएको थियो ।

जिल्ला अदालत धनुषाले हत्या आरोपित सात जनामध्ये तीन जनालाई दोषी ठहर गरेको छ । हत्याका मुख्य योजनाकार चुरियामाई बालुवा प्रशोधन उद्योगका सञ्चालक विपिन महतो र कामदार मुनिन्द्र महतोलाई २५–२५ वर्ष कैद र पाँच–पाँच लाख रुपियाँ क्षतिपुर्ति तिर्न फैसला सुनाएको छ । त्यस्तै, हत्याका मतियार ठहर भएको जितेन्द्र महतोलाई साढे १२ वर्ष कैद र दुई लाख ५० हजार रुपियाँ क्षतिपूर्ति तिर्न फैसला सुनाइएको छ ।

मृतक दिलिपको परिवारजन र प्रतिष्ठानका पदाधिकारीले फागुन ३० गते गृहमन्त्री रवि लामिछानेलाई उहाँको मन्त्रालयमै पुगेर परिवारजनको रोजगारीको व्यवस्थासहित छ सुत्रीय माग गर्दै ज्ञापनपत्र बुझाउनु भएको छ ।

उनीहरुले दिलिप महतोको घटनामा भएको अनुसन्धान त्रुटीपूर्ण रहेको र सो घटनाका मुख्य योजनाकार अझै कारबाहीको दायरामा नपरेकोले उच्चस्तरीय छानविन समिति गठन गरि दोषीहरुलाई कानुनी कारबाही हुनुपर्ने, घटनाको मुख्यस्थल तथा देशभर रहेका सम्पूर्ण अवैध क्रसर उद्योगहरुका कारण वातावरण र सामाजिक तथा स्वास्थ्यमासमेत हानि पुगिरहेकाले तत्काल त्यस्ता क्रसर उद्योगमा रोक लगाउनुपर्ने, देशका प्रमुख भू–भाग तथा लाखौँ जीवनको आधार चुरे क्षेत्र संरक्षणका लागि तत्काल चुरे संरक्षण ऐनका लागि कार्य अघि बढाउनु पर्ने, दिलिपको परिवारलाई उचित क्षतिपुर्तिको व्यवस्था गर्नुपर्ने र उहाँको परिवारमा कम्तिमा एकजनालाई रोजगारीको व्यवस्था गर्नुपर्ने माग माग राखेका थिए ।