नेपाल विद्युत प्राधिकरणको ढल्केबर ग्रिडमार्फत लगातार भइरहेको अघोषित लोडसेडिङप्रति आपत्ति जनाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी मिथिला नगर समितिले शुक्रबार एक ज्ञापन पत्र बुझाएको छ । ज्ञापन पत्रमार्फत पार्टीले हाल भइरहेको लोडसेडिङप्रति गम्भीर आपत्ति जनाउँदै तत्काल सुधारको माग गरेको छ ।
पार्टीका नगर सभापति विजयकुमार साहद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा भनिएको छ, “विगतमा कुलमान घिसिङको नेतृत्वमा विद्युत प्राधिकरणले लोडसेडिङ अन्त्य गरेपछि आम जनताले निर्वाधरूपमा विद्युत सेवा उपभोग गरेका थिए । तर, पछिल्लो केही महिनादेखि पुनः अघोषित लोडसेडिङ सुरु भएको छ, जसले आम नागरिकको जनजीवन प्रभावित बनाएको छ।”
ज्ञापनमा उल्लेख गरिएअनुसार यसले घरायसी कार्य, उद्योग, व्यवसाय र शिक्षाका साथै विद्युतीय उपकरणहरूमा क्षति र्पुयाएको पार्टीको आरोप छ । “पंखा, चिम्नी, मोटर, कम्प्युटरलगायत उपकरणहरू पटक–पटक बिग्रेर ठूलो आर्थिक क्षति व्यहोर्नु परिरहेको छ,” ज्ञापन पत्रमा भनिएको छ, “यो नोक्सानी राष्ट्रियस्तरमै ठूलो हुनेछ।”
ज्ञापनमा लोडसेडिङका पछाडि कुनै व्यापारीक स्वार्थ लुकेको आशंका पनि व्यक्त गरिएको छ। “के इन्भर्टर, जेनेरेटर, ब्याट्री सप्लायर्ससँगको साँठगाँठमा अघोषित लोडसेडिङ भइरहेको त होइन?” भन्ने प्रश्न गर्दै पार्टीले नेपालभरका नागरिकमा यस्ता शंकाहरू बढिरहेको उल्लेख गरेको छ।
पार्टीले समस्याको समाधान नगरे जनस्तरबाट आन्दोलन गर्न बाध्य हुने चेतावनीसमेत दिएको छ। “यसलाई सामान्य गुनासो होइन, जन आक्रोशको झिल्कोको रूपमा बुझ्न आग्रह गर्दछौं,” ज्ञापन पत्रमा उल्लेख गरिएको छ।

