विजयकुमार साह
ढल्केबर, धनुषा ।
धनुषाको दोस्रो ठूलो धार्मिक पर्यटकीय स्थल धनुषाधामस्थित सीताराम आश्रममा विगत २५ वर्षदेखि अखण्ड सङकीर्तन निरन्तर सञ्चालन भइरहेको छ । ढोलकको ताल, हारमोनियमको धुन र झ्यालीको झन्कारसँगै ‘सीताराम’ नामको जापसहितको सङकीर्तन २०५७ सालदेखि निरन्तर रूपमा चलिरहेको हो ।
आश्रमका महन्थ धनेश्वर यादवका अनुसार २०५७ सालमा चटीबाबा त्यागीले आश्रम परिसरमा महायज्ञको आयोजना गर्नुभएको थियो । त्यही महायज्ञको बेला सुरु गरिएको सङ्कीर्तन निरन्तर चलिरहेको छ । महन्थ यादवले सङकीर्तन मानव तथा विश्व कल्याणको कामनाका साथ सञ्चालन भइरहेको बताउनुभयो । आश्रममा चारवटा कीर्तन मण्डली रहेको बताउँदै उहाँले कीर्तन मण्डललीले पालैपालो कीर्तनभजन गर्दै आउनुभएको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “कीर्तन मण्डलीमा अधिकांश साधुसन्त हुनुहुन्छ । उहाँहरू सम्पूर्ण जीवन यसैमा समर्पित गर्नुभएको छ । यहीँ बसोबास, यहीँ भोजन, र यहीँ साधनामा समर्पित जीवन बिताइरहनुभएको छ ।” सर्वसाधारणको कल्याणका लागि यो अखण्ड सङ्कीर्तन निरन्तर चलिरहेको उहाँको भनाइ छ ।
उहाँका अनुसार आश्रमको आफ्नै कुनै स्थायी आम्दानी स्रोत छैन । धार्मिक गतिविधि स्थानीय भक्तजनको दान र सहयोगमा चलिरहेको छ । कोही अन्न दिन्छन् भने कोही सागसब्जी । यही दानको भरमा साधुसन्तको भोजन र रहनसहन चलिरहेको छ ।
महन्थ यादवले जस्तोसुकै मौसममा भए पनि सङ्कीर्तन नरोकिएको बताउनुभयो । उहाँले भन्नुभयो, “हावाहुरी, भारी वर्षा, शीतलहर वा विनाशकारी भूकम्पजस्ता विपत्तिमा पनि सङ्कीर्तन रोकिएको छैन । सीताराम नामको जापमा अलौकिक शक्ति छ ।”
मिथिलाको मौलिक संस्कृति विशेषतः लोक बाजागाजाको धुनमा सीताराम नामको जापले अलौकिक आनन्द प्राप्त हुने गरेको बताउँदै यसले यसले धनुषाधामको धार्मिक गरिमा समेत थप बढाएको बताउनुभयो ।
कीर्तन मण्डलीका राजेन्द्र यादवले धनुषाधाम धार्मिक पर्यटकीय क्षेत्रको रूपमा विस्तार हुँदै गर्दा सीताराम आश्रममा २५ वर्षदेखि निरन्तर भइरहेको अखण्ड सङ्कीर्तनले आध्यात्मिक आकर्षणको केन्द्र बनेको बताउनुभयो । उहाँले देशविदेशबाट समेत भक्तजन यो अखण्ड सङ्कीर्तनमा सहभागी हुन यहाँ आउने गरेको जानकारी दिनुभयो ।
कीर्तन मण्डलीका अर्का सदस्य श्यामनारायण सिंहले आश्रममा सञ्चालन भइरहेको अखण्ड सङ्कीर्तन केवल धार्मिक अनुष्ठान मात्र नभई सांस्कृतिक चेतना, आध्यात्मिक र सामाजिक एकताको प्रतीक भएको बताउनुभयो । आधुनिक जीवनको दौडधुपबीच यस्तो स्थायी साधनास्थलले समाजलाई आत्मचिन्तन र कल्याणको बाटो देखाउने उहाँको भनाइ छ ।

