धनुषामा गर्मीसँगै वर्षाका कारण सर्पदंशका बिरामी बढ्दो

|

ढल्केबर, धनुषा ।
पछिल्लो केही दिनयता बढेको अत्यधिक गर्मीसँगै वर्षाका कारण धनुषामा सर्पदंशका बिरामीको सङ्ख्या बढ्न थालेको छ । जिल्लाको धारापानीस्थित धनुषाधामम सर्पदंश उपचार केन्द्रमा बिरामीको चाप बढेको उपचार केन्द्रका चिकित्सक केशवबहादुर खत्रीले जानकारी दिनुभयो ।

उहाँका अनुसार यस वर्षको सुरुवातमै सर्पदंशका बिरामीको सङ्ख्या अघिल्ला वर्षको तुलनामा बढेको छ । उहाँले भन्नुभयो, “पछिल्ला एक वर्षमा २१० जना बिरामीको उपचार गरिएको थियो भने २०८२ वैशाख महिनादेखि अहिलेसम्म २४ जना सर्पदंशका बिरामी आइसकेका छन् । उहाँले विशेष गरी ग्रामीण भेगबाट बिरामी उपचारका लागि आउने गरेको उल्लेख गर्नुभयो ।

धनुषाधाम नगरपालिकाको व्यवस्थापनमा सञ्चालित अस्पतालमा पर्याप्त बेड भए पनि अत्यावश्यक उपकरणको अभाव रहेको चिकित्स खत्रीको भनाइ छ । उहाँले अस्पतालमा केवल एउटा भाइटल मोनिटर रहेको र भेन्टिलेटरको चरम अभाव रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “कहिले काहीँ एकै पटक दुई–तीन जना गम्भीर बिरामी आउँदा उपचारमा समस्या हुन्छ । बिषालु सर्पले टोकेको अवस्थामा श्वासप्रश्वासमा समस्या हुने भएकाले भेन्टिलेटर र आइसियु आवश्यक पर्छ तर अस्पतालमा यी सुविधाहरू उपलब्ध छैनन् ।

त्यस्तै, धनुषाको सखुवा महेन्द्रनगरस्थित सर्पदंश उपचार केन्द्रमा पनि बिरामीको सङ्ख्या बढ्दै गएको छ । सो केन्द्रका चिकित्सक भुवन कुँवरका अनुसार २०८१ सालमा बिच्छी र सर्पदंश गरेर २७० जना बिरामीको उपचार भएको थियो २०८२ को वैशाखदेखि हालसम्म ३८ जना सर्पदंशका बिरामी उपचारका लागि आएका छन् ।

मिथिला वाइल्ड लाइफ ट्रस्टका अध्यक्ष तथा सर्प उद्धारकर्ता देवनारायण मण्डलले गर्मी र वर्षाको समय अझै बाँकी रहेकाले सर्पदंशका बिरामी थप बढ्न सक्ने बताउनुभयो । गर्मी सुरु भएसँगै वर्षा हुन थालेपछि सर्पहरू बासस्थानबाट बाहिर निस्किन थाल्दा सर्पदंशका घटना बढ्ने गरेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “चिसो मौसममा सर्पहरू दुलोभित्र लुकेर बस्छन्, तर गर्मी बढेपछि खानाको खोजीमा र दुलोमा पानी भरिँदा बाहिर निस्कन थाल्छन् ।

मण्डलका अनुसार मानव बस्ती नजिक खेत, बारी, घरको गोठ, खरको छानो, झारपातले ढाकिएको आँगन लगायत ठाउँहरू सर्प बन्ने हुँदा सतर्कता अत्यावश्यक हुन्छ । उहाँले भनुभयो, “हामीले बारम्बार सचेतना अभियान चलाएर घर वरिपरि सफा राख्न, राति उज्यालो बिना नहिँड्न र सुत्दा ओछ्यान केही अग्लोमा राख्न अनुरोध गर्दै आएका छौं ।” गोरखापत्रबाट