विजयकुमार साह
ढल्केबर, धनुषा ।
धनुषाको विदेह नगरपालिका–९, इटहर्वास्थित मुसहर बस्तीकी ललिता सदा श्रीमान मैता सदाको दिनहुँ मदिरा सेवन गर्ने बानीले आजित हुनुभएको छ । उहाँको श्रीमान कृषि मजदुरी गरेर दैनिक पाँच सय रुपियाँ कमाउनुहुन्छ तर साँझ घर आइपुग्दासम्म मुस्किलले उहाँको साथमा सय डेढ रुपियाँ बाँकी रहन्छ ।
श्रीमानले कमाएको आधाभन्दा बढी पैसा मदिरामै खर्च गर्ने गरेको ललिताले बताउनुभयो । उहाँले भन्नुभयो, श्रीमान बिहानै काम गर्न जानुहुन्छ, साँझ फर्किँदा हातमा न पैसा हुन्छ नत होस । सम्झाउँदा उल्टै झगडा गर्नुहुन्छ । श्रीमानको यो बानीले गर्दा कहिले काँही खानपानमा समेत समस्या हुने गरेको ललिताले सुनाउनुभयो ।
बस्तीमा यो समस्या ललिताको एक्लो होइन । इटहर्वास्थित मुसहर बस्तीका अधिकांश महिला यस्तै समस्याले गुज्रिरहेका छन् । सोही बस्तीकी शारदा सदाले श्रीमानको प्रत्येक दिन मदिरा पिउने बानीले दिक्क भएको बताउनुभयो । उहाँले भन्नुभयो, “श्रीमान बिहानै खेततिर मजदुरी गर्न निस्कनुहुन्छ । साँझ घर फर्किँदा मदिराले लट्ठ हुन्छन् । कहिले काँही हो नखाएको दिन पुरै पैसा ल्याउनुहुन्छ ।” मदिरा सेवनकै कारण बस्तीमा घरयासी झैँ–झगडा बढेको उहाँले बताउनुभयो ।
शारदाका अनुसार बस्तीमा झैँ–झगडा हुनु सामान्य जस्तै भइसकेको छ । रातभर रक्सी खाएर हल्ला गर्ने र श्रीमती कुट्ने प्रवृत्ति बढ्दो छ । मदिरा सेवनकै कारण धेरै पुरुष अल्पआयुमै मरेको उहाँको भनाइ छ ।
उहाँका अनुसार केही महिना पहिले मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह बस्ती अनुगमनमा आउनुभएको थियो । त्यस अवसरमा हामीले महिलाको समस्या खुलेर समस्या राखेका थियौं । हामी महिलाको एउटै भनाइ थियो, “ पुरुषको यो लतबाट जोगाइदिनुहोस् । जसरी भए पनि मदिराको लत छुटाइदिनुहोस् ।” उक्त अवसरमा महिलाले घरेलु मदिराको खुलेआम बिक्री रोक्न, घरेलु मदिरा निषेध गर्न समेत ध्यानाकर्षण गराएको शारदाले बताउनुभयो ।
स्थानीय उमेशकुमार पण्डितले मुसहर बस्तीका अधिकांश पुरुष मदिरा सेवन गर्ने गरेको बताउनुभयो । यहाँका अनुसार यो धनुषा जिल्लाकै सबैभन्दा ठूलो मसुहर बस्ती हो । यहाँ करिब दुईभन्दा मुसहर समुदायका घरपरिपार छन् । उहाँहरु गुठीको जमिन लामो समयदेखि बसोबास गर्दै आउनुभएको छ । बस्तीको प्रमुख समस्या भनेकै अधिकांश पुरुष मदिरा सेवन गर्नु रहेको उहाँले जानकारी दिनुभयो ।
पण्डितले बस्तीमा जसरी बालविवाह, घरेलु हिंसा र सरसफाइका कार्यक्रम विभिन्न सङ्घसंस्था सञ्चालन गर्दै आएको छ त्यसरी नै अब मदिराविरुद्धको अभियान चलाउनुपछै बताउनुभयो । नत्र, ललिता र शारदा जस्ता महिलाको पीडा यथावत् रहने उहाँको भनाइ छ ।
बस्तीका इन्दल सदाले दिनभरको थकाइ मेट्न मदिरा पिउने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “दिनभर काम गर्दा थकान लाग्छ । त्यसलाई मेट्न थोरै त पिउनै प¥यो ।” यस्तो सोच यहाँका धेरै पुरुषमा छ। उनीहरूलाई कामपछि रक्सी पिउनु अधिकारजस्तै लाग्छ। तर महिलाका लागि त्यो दिनको झगडाको संकेत हो।
विदेह–९, का वडाध्यक्ष वृजनन्दन मण्डलले यहाँ पुरुष घर धान्न भन्दा पनि मदिरा सेवन गर्नकै लागि कमाउने गरेको बताउनुभयो । उहाँले पुरुषको यो बानीमा सुधार ल्याउन नगरपालिका तथा विभिन्न संघसंस्थामार्फत सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो । तर उहाँले भन्नुभयो, “कार्यक्रम त भएका छन्, तर सुधार खासै भएको छैन ।”
वडाध्यक्ष मण्डलका अनुसार बस्तीमा घरेलु मदिरा सहजै उपलब्ध हुने भएकोले समस्याले जरो गाडेर बसेको छ । यसलाई नियन्त्रण गर्न नगरपालिका मात्रै होइन प्रहरी प्रशासनको पनि सक्रियता आवश्यक छ । गोरखापत्रबाट

