दुई फरक व्यक्तिको एउटै नाम र नागरिकता नम्बर, प्रशासनिक लापरबाहीले दुई गणेश समस्यामा

|

विजयकुमार साह
ढल्केवर, धनुषा ।
धनुषाको बटेश्वर गाउँपालिकामा दुई फरक व्यक्तिको नाम र नागरिकता नम्बर एउटै भएको घटना बाहिरिएको छ । दुवै जनाको नाम गणेशकुमार महतो र नागरिकतामा १४६८२८८३ नम्बर उल्लेख छ । नाम र नागरिकता नम्बर एउटै भएपछि दुवै जना समस्यामा परेका छन् ।

दुवै जना बटेश्वर गाउँपालिकाको भए पनि वडा भने फरक छ । एक जनाको बटेश्वर गाउँपालिका–१, सोनापुरका हुन भने अर्का गणेश बटेश्वर गाउँपालिका–२, धुमासनका हुन् । धुमासनका गणेशका पिता रामकिसुन महतो हुन् र उहाँले २०५६ माघ १३ गते जिल्ला प्रशासन कार्यालय धनुषाबाट नागरिकता लिनुभएको छ । त्यस्तै, सोनापुरका गणेशका भने रामगुलाम महतोका छोरा हुन् उहाँले २०५७ साल फागुन ३० गते सोही कार्यालयबाट नागरिकता प्राप्त गर्नुभएको हो ।

सोनापुरका गणेशकुमारले बैंकमा खाता खोल्ने यो कुरा थाहा पाएको बताउनुभयो । उहाँले भन्नुभयो, केही दिनअघि एक बैंकमा खाता खोल्न गएको थिएँ  तर बैंकका कर्मचारीले तपाईंको नाममा पहिलादेखि नै खाता सञ्चालनमा रहेको भन्दै नयाँ खाता खोल्न मानेन् । त्यसपछि त्यस खाताबारे बुभ्mदै जाँदा धुमासनका गणेशकुमार भएको र नागरिकता नम्बर पनि एउटै भएको उहाँले सुनाउनुभयो ।

उहाँका अनुसार नाम र नागरिकता नम्बर मिल्दा कम्युटर प्रणालीमा विवरण प्रविष्ट गर्दा समस्या भएको छ । म विदेश गएर फर्किएको व्यक्ति हुँ । पासपोर्टदेखि अन्य सबै कागजात यही नम्बरबाट बनेको छ । अब फेरबदल गर्नुपर्दा ठूलो समस्या पर्छ ।

उता, धुमासनका गणेश पनि यस्तै समस्याबाट हैरान हुनुहुन्छ । हालसालै सरकारी सेवा र बैंकिङ प्रणालीमा नागरिकता नम्बर अनिवार्य गरिएपछि मात्रै दुई फरक व्यक्तिमा एउटै नागरिकता नम्बर रहेको रहस्य खुलेको उहाँले बताउनुभयो । उहाँले कर्मचारीको गलतीका कारण हामी दुई जनालाई समस्या भोग्न परिरहेको जानकारी दिनुभयो ।

जिल्ला प्रशासन कार्यालय धनुषाका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले दुई फरक व्यक्तिको एउटै नागरिकता नम्बर कसरी आयो भन्ने विषयमा दुवै नागरिकताको अभिलेख हेरेपछि मात्र केही भन्न सकिने बताउनुभयो ।