किसान सिँचाइका लागि चर्को शुल्क तिर्न बाध्य
विजयकुमार साह
ढल्केबर, धनुषा ।
समयमै आकासे वर्षा नहुँदा धनुषासहित मधेशका किसान सिँचाइको वैकल्पिक उपाय डिप ट्युवबेलमा निर्भर हुन बाध्य भएका छन् । तर, सरकारी लगानीमा निर्माण गरिएका यस्ता संरचना व्यक्तिको नियन्त्रणमा परेपछि किसानले महङ्गो शुल्क तिरेर खेत सिँचाइ गर्नुपरेको छ । डिप ट्युवबेल समितिबाट सञ्चालन हुनुपर्ने कानुनी व्यवस्था हुँदाहुँदै समेत स्थानीय निकाय र प्रदेश सरकारले निगरानी नगर्दा किसान झनै मारमा परेका छन् ।
यस्तै समस्या धनुषाको मिथिला नगरपालिका–४, रतनपुरमा देखिएको छ । यहाँका किसान चर्को शुल्क तिरेर डिप ट्युवबेलको पानीले सिँचाइ गरेर धान रोप्न बाध्य बनेका छन् । स्थानीयका अनुसार रतनपुर क्षेत्रमा मात्रै मधेश प्रदेश सरकार र मिथिला नगरपालिकोे लगानीमा सिँचाइ सुविधाका लागि २० भन्दा बढी सार्वजनिक डिप ट्युवबेल जडान गरिएका छन् । नियमअनुसार सरकारी खर्चमा गाडिएका यस्ता डिप बोरिङ समितिमार्फत सञ्चालन हुनुपर्ने र समितिको राय सल्लाहमा सिँचाइ शुल्क निर्धारण गरिनुपर्ने हो । तर, यहाँका सरकारी डिप ट्युवबेल व्यक्तिगत रूपमा प्रयोग भइरहेको स्थानीयको भनाइ छ ।
स्थानीय सन्तु दासले रतनपुर क्षेत्रमा १७ वटा मधेश प्रदेश सरकार र तीन वटा मिथिला नगरपालिको लागनीमा डिप ट्युवबेल जडान रहेको बताउनुभयो । उहाँका अनुसार सरकारी खर्चमा जडान गरिएको सबै डिप ट्युवबेल व्यक्तिको नियन्त्रणमा छन् । उहाँहरुले सिँचाइका लागि मनपरी ढङ्गले शुल्क असुल्ने गरेका छन् ।
उहाँले डिप ट्युवबेलबाट एक कठ्ठा खेत सिँचाइ गर्न कम्तिमा छ सय रुपियाँ खर्च लाग्ने गरेको बताउनुभयो । पाँच हर्सपावरको मोटरबाट सिँचाइ गरेको प्रतिघण्टा एक सय पचासदेखि दुई सय रुपियाँ असुल्ने गरेका छन् । एक कठ्ठा खेत सिँचाइ गर्न तीन घण्टा सयम लाग्ने गरेको उहाँको भनाइ छ । दासले भन्नुभयो, “एक त मल, बीउ महङ्गो छ, त्यसमाथि सिँचाइ पनि व्यापारीकरण भयो । यस्तो स्थितिमा धान उत्पादनको लागत बढेर किसान घाटामा परेका छन् ।”
अर्का स्थानीय किसान जनक महतोले सरकारी स्तरबाट अनुगमन तथा शुल्क निर्धारण नगरिदिँदा किसान थप मारमा परेको उहाँले बताउनुभयो । भन्नुभयो, “एक घण्टा मोटर चलाउँदा २० रुपियाँको पनि विद्युत खपत हुँदैन तर हामीसँग दुई सय रुपियाँ असुल्छन् । यो शुल्क किसानका लागि अत्यधिक महँगो हो ।” डिप ट्युवबेल सञ्चालनका लागि उपभोक्ता समिति गठन गरेर यसको प्रयोग र शुल्क निर्धारण गर्ने व्यवस्था भए पनि यहाँ त्यो पालना नभएको उहाँको भनाइ छ । वर्षा नहुँदाको फाइदा महतोको आरोप छ ।
आकाशे वर्षा नहुँदा यहाँका मात्र नभइ मधेश प्रदेशका अन्य जिल्लाका किसान सिँचाइका लागि वैकल्पिक उपाय डिप ट्युवबेलमा निर्भर छन् । यस्तो अवस्थामा सरकारी लगानीका संरचना केही व्यक्तिको नियन्त्रणमा पुगेपछि किसानले महङ्गो मूल्यमा पानी किनेर खेत सिँचाइ गर्नुपर्ने बाध्यता भोगिरहेका छन् । प्रदेश सरकार र स्थानीय तहले यस्ता अनियमित कार्यको नियन्त्रण गर्नुपर्ने स्थानीय किसानको भनाइ छ ।
एक डिप ट्युवबेल सञ्चालक सरोज महतोले सिँचाइका लागि प्राविधिक व्यवस्थापन, पाइप र विद्युत खर्च लाग्ने भएकाले प्रति घण्टा एक सय ५० रुपियाँ लिने गरिएको बताउनुभयो । उहाँले आफू सस्तोमा सिँचाइ सुविधा उपलब्ध गराएको बताउँदै अन्यले दुई सय रुपियाँसम्म असुल्ने गरेको सुनाउनुभयो ।
मिथिला नगरपालिकाका नगर प्रमुख महेन्द्र महतोले सार्वजनिक डिप बोरिङ्ग व्यक्तिगत रुपमा प्रयोग भइरहेको विषयमा छानबिन र अनुगमन गरेर सुधार ल्याउने बताउनुभयो । उहाँले किसानको मर्काप्रति आफू गम्भीर रहेको जानकारी दिनुभयो ।

