धनुषाको चुनावी माहोल अहिले दिनप्रतिदिन तात्दै गएको छ । गाउँ–टोलदेखि बजार चोकसम्म राजनीतिक बहस र चहलपहल बढेको छ । यही चहलपहलबीच स्थानीय बासिन्दासँग हालखबर सोध्दै अघि बढिरहेका देखिए नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा धनुषा–१ प्रतिनिधिसभा उम्मेदवार राम पल्टन साह । समर्थकहरूको उत्साह र उनको सरल बोलीले चुनावी भीडभाडलाई पनि आत्मीय संवादमा रूपान्तरण गरिरहेको छ । उनी भाषणभन्दा बढी चुनावी एजेण्डालाई मूर्तरुप दिनेमा विश्वास गर्ने नेताको रुपमा चिनाउन चाहन्छन् । उनका शब्दमा, ‘मतदाता मेरा मालिक हुन्, म उनीहरूको सेवक मात्र हुँ।’
साहको राजनीतिक यात्रा कुनै आकस्मिक अवसरको परिणाम होइन, बरु चार दशक लामो संघर्ष, संगठन र विचारको निरन्तरता हो । विद्यार्थी जीवनदेखि नै उनी राजनीतिमा होमिएका थिए । २०३८ सालमा नेविसंघको सदस्यता लिएर सुरु भएको उनको राजनीतिक सक्रियता सरस्वती हाइस्कूलको स्ववियु सचिवसम्म पुग्यो । त्यही समयदेखि उनी प्रजातन्त्र, अधिकार र सामाजिक न्यायका सवालमा खुलेर बोल्ने युवाका रूपमा चिनिन थाले । २०४२ सालको सत्याग्रह आन्दोलनले भने उनको जीवनमा निर्णायक मोड ल्यायो । महेन्द्र नारायण निधिको नेतृत्वमा भएको आन्दोलनमा सहभागी हुँदा उनले जेल जीवनसमेत भोग्नुप¥यो । त्यो अनुभवलाई उनी अहिले पनि गर्वका साथ सम्झिन्छन् । ‘जेल मेरो लागि डर होइन, राजनीतिक पाठशाला थियो,” उनी भन्छन्, “त्यहीँबाट मैले राजनीति भनेको जनताको लागि त्याग गर्नुपर्छ भन्ने कुरा सिकेँ ।’
जेलबाट निस्किएपछि उनको सक्रियता झनै बढ्यो । पार्टीभित्र विभिन्न जिम्मेवारी सम्हाल्दै उनी नवौँ महाधिवेशनमा निर्वाचन क्षेत्र नं. ३ बाट महाधिवेशन प्रतिनिधि बने । त्यसपछि तरुण दलको केन्द्रीय सदस्यको जिम्मेवारी पाए । समाजवादी चिन्तक प्रदीप गिरीसँग करिब ३५ वर्ष सहकार्य गरेको अनुभवलाई उनी आफ्नो वैचारिक आधार मान्छन् । गिरीबाट राजनीति केवल सत्ताको खेल नभई समाज रूपान्तरणको साधन हो भन्ने शिक्षा पाएको उनी बताउँछन् । पछिल्लो समय गगन थापाको नेतृत्वमा कांग्रेसभित्र सुरु भएको ‘सच्चिएको कांग्रेस’ र ‘नयाँ कांग्रेस’ अभियानसँग जोडिँदै विशेष महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएपछि उनलाई पार्टीले प्रतिनिधिसभा उम्मेदवारको जिम्मा दिएको हो ।’
यसपटकको चुनावमा साहको मूल नारा सुशासन, पारदर्शिता र भ्रष्टाचारविरुद्धको कडा अडान हो । उनी भन्छन्, ‘आज जनताले सबैभन्दा बढी दुःख भोगेको कुरा भ्रष्टाचार र बेथिति हो । वडा कार्यालयदेखि मालपोतसम्म पैसा नदिई काम हुँदैन भन्ने मानसिकता बसेको छ । यो अवस्थालाई अन्त्य नगरेसम्म लोकतन्त्रको अर्थ हुँदैन ।’ उनका अनुसार यही समस्याले नयाँ पुस्तालाई राजनीतिप्रति निराश बनाएको छ । त्यसैले उनी युवालाई केन्द्रमा राखेर अभियान चलाइरहेका छन् । ‘न्भल–श्’ पुस्ताको उल्लेख गर्दै उनी भन्छन्, ‘युवा पुस्ता अब सचेत छ । उनीहरू परिवर्तन चाहन्छन्, पारदर्शी नेतृत्व चाहन्छन् । यही ऊर्जा कांग्रेससँग जोडिएको छ ।’
उनको दाबी छ, कांग्रेसले विगतका कमजोरी स्वीकार गर्दै आफूलाई सुधार गरेको छ । पुराना विकृति र गुटबन्दीलाई पन्छाएर नयाँ सोच र नयाँ नेतृत्वलाई अघि सारिएको उनी बताउँछन् । ‘कांग्रेस अब सच्चिएर आएको छ,’ उनले दोहो¥याए, “जनताले फेरि विश्वास गर्ने आधार यही हो ।” देशभरि ‘गगनमय वातावरण’ बनेको उल्लेख गर्दै उनले कांग्रेसप्रति बढ्दो भरोसा आफूहरूको जितको आधार बन्ने विश्वास व्यक्त गरे ।
साहको अर्को महत्वपूर्ण एजेन्डा राजनीतिक संस्कार सुधारसँग सम्बन्धित छ । उनी पदमा लामो समय टिकिरहने प्रवृत्ति लोकतन्त्रका लागि हानिकारक भएको ठान्छन् । त्यसैले पार्टीले दुई कार्यकालभन्दा बढी प्रधानमन्त्री बन्न नपाउने निर्णय गरेको र सांसद तथा स्थानीय तहका जनप्रतिनिधिलाई पनि सीमित कार्यकालको व्यवस्था लागू गरिएको उनको भनाइ छ । ‘राजनीति कसैको निजी सम्पत्ति होइन । नयाँ पुस्तालाई अवसर दिनुपर्छ,’ उनी भन्छन् । उनका अनुसार यही व्यवस्थाले भ्रष्टाचार र शक्ति दुरुपयोग घटाउन सहयोग पुग्नेछ ।
चुनावी अभियानका क्रममा साहले आफूलाई नेता भन्दा ‘सेवक’ का रूपमा प्रस्तुत गरिरहेका छन् । गाउँ–टोलका कार्यक्रममा उनी प्रायः भन्छन्, ‘नेता शासक होइन, सेवक हुनुपर्छ । जनता नै भगवान हुन् ।’ यही सन्देशमार्फत उनले मतदातासँग भावनात्मक सम्बन्ध गाँस्ने प्रयास गरेका छन् । उनले जातीय र धार्मिक विभाजनको राजनीति नगर्ने स्पष्ट पार्दै सबै समुदायलाई समान दृष्टिले हेर्ने बताउँछन् । ‘हामी हिन्दु, मुस्लिम, ईसाई भनेर लड्ने होइन, दाजुभाइ भएर बाँच्ने समाज बनाउनु छ,’ उनको भनाइ छ ।
क्षेत्रमा अन्य दलका प्रभावशाली उम्मेदवारहरू पनि मैदानमा छन् । पुराना नेताहरूको संगठनात्मक शक्ति र जातीय समीकरण चुनावी प्रतिस्पर्धालाई जटिल बनाउने कारक मानिन्छ । तर साह आफूलाई विचार र एजेन्डाको आधारमा फरक उम्मेदवारका रूपमा प्रस्तुत गर्छन् । उनी प्रतिस्पर्धीहरूलाई व्यक्तिगत रूपमा आक्रमण गर्न चाहँदैनन्, तर उनीहरूको विगत कार्यसम्पादनबारे भने प्रश्न उठाउँछन् । जनयुद्ध र आन्दोलनको नाममा राजनीति गर्नेहरूले जनतालाई ठोस विकास दिन नसकेको उनको टिप्पणी छ । ‘जनताले अब नाराभन्दा नतिजा खोजिरहेका छन्,’ उनी भन्छन् ।
साहले आफ्नो अभियानलाई क्षेत्रीय इतिहाससँग पनि जोड्ने गरेका छन् । महेन्द्र नारायण निधि, दुर्गानन्द झा, ठाकुर प्रसाद ढुंगाना जस्ता लोकतान्त्रिक योद्धाको नाम स्मरण गर्दै उनी आफू त्यही विरासतको निरन्तरता भएको दाबी गर्छन् । आफू यही माटोमा हुर्किएको ‘धर्तीपुत्र’ भएको उल्लेख गर्दै जनताको पीडा आफूले नजिकबाट बुझेको बताउँछन् । ‘म यहीँको छोरा हुँ,’ उनी भन्छन्, ‘त्यसैले यहाँको समस्या पनि आफ्नै जस्तो लाग्छ ।’
राजनीतिक विश्लेषकहरूका अनुसार राम पल्टन साहको चुनावी रणनीति सन्तुलित देखिन्छ । संघर्षशील छवि, लामो संगठनात्मक अनुभव, सुशासनको स्पष्ट एजेन्डा र युवामुखी सन्देश उनका बलिया पक्ष हुन् । विशेषगरी कांग्रेसभित्र सुधारको बहस चलिरहेका बेला उनले ‘नयाँ कांग्रेस’ को प्रतिनिधित्व गरेको सन्देशले केही मतदातामा सकारात्मक प्रभाव पार्न सक्छ । तर चुनौतीहरू पनि कम छैनन् । स्थानीय शक्ति सन्तुलन, जातीय गणित र अन्य दलका स्थापित नेताहरूको प्रभावले प्रतिस्पर्धा कडा हुने देखिन्छ । अन्ततः मतदाताले कसलाई विश्वास गर्छन् भन्ने कुराले नै परिणाम निर्धारण गर्नेछ ।
चुनावी दौडधुपबीच पनि साहको बोलीमा भने आत्मविश्वास कम देखिँदैन । उनी बारम्बार दोहो¥याउँछन् कि यो चुनाव व्यक्तिगत महत्वाकांक्षाको लडाइँ होइन, विचार र संस्कारको लडाइँ हो । ‘म पदका लागि होइन, सेवा गर्न आएको हुँ,’ उनले भने, ‘जनताले विश्वास गर्नुभयो भने यो क्षेत्रको विकास, सुशासन र पारदर्शिताका लागि पूर्ण समर्पणका साथ काम गर्नेछु ।’
धनुषाको चुनावी मैदानमा अहिले धेरै अनुहार र धेरै वाचा छन् । तीमध्ये साह आफूलाई संघर्षको विरासत, सुधारको एजेन्डा र सेवाभावको प्रतिबद्धता बोकेको उम्मेदवारका रूपमा प्रस्तुत गरिरहेका छन् । उनको अभियानले मतदाताको मन कत्तिको जित्छ, त्यो मतपेटिकाले मात्र बताउनेछ । तर यति भने निश्चित छ— उनी आफूलाई नेता भन्दा सेवकका रूपमा स्थापित गर्न निरन्तर प्रयासरत छन्, र यही सन्देशलाई आधार बनाएर जनताको ढोका–ढोकामा पुगिरहेका छन्।

