राजनीति र नेतृत्वका लागि उमेरले होइन, विचारले नेतृत्व गर्छ : महेन्द्र यादव

|

ढल्केबर, धनुषा ।
नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री तथा धनुषा–४ प्रतिनिधि सभा सदस्यका उम्मेदवार महेन्द्र यादवले राजनीति र नेतृत्वका लागि उमेरभन्दा विचार, दृष्टिकोण र प्रतिबद्धता नै मुख्य आधार हुने बताएका छन् ।

नेतृत्व परिवर्तनको विषयमा समाजमा बढ्दो बहस चलिरहेका बेला यादवले उमेरलाई नेतृत्वको मापन गर्ने आधार नबनाउन आग्रह गर्दै सही सोच, स्पष्ट योजना र जनताप्रतिको इमान्दार समर्पण भए जोसुकैले पनि प्रभावकारी नेतृत्व दिन सक्ने धारणा व्यक्त गर्नुभयो ।
‘राजनीतिमा उमेरले होइन, विचारले नेतृत्व गर्छ,’ उहाँले भन्नुभयो, ‘सही सोच, स्पष्ट दृष्टिकोण र जनताप्रतिको इमान्दार प्रतिबद्धता भए उमेर कहिल्यै बाधक हुँदैन।’

उहाँका अनुसार देशको वर्तमान राजनीतिक परिवेशमा अनुभव र नवीन सोचबीच सन्तुलन आवश्यक छ। केवल युवा वा केवल अनुभवी नेतृत्वले मात्र अपेक्षित परिणाम दिन नसक्ने उल्लेख गर्दै उहाँले दुवै पक्षको संयोजनबाट मात्रै दिगो राजनीतिक परिवर्तन सम्भव हुने बताउनुभयो ।

‘युवाको ऊर्जा र अनुभवी नेतृत्वको मार्गदर्शन मिल्दा मात्र समाज रूपान्तरण हुन्छ,’ यादवले भन्नुभयो, ‘हामीलाई पुस्तान्तरणको बहसभन्दा पनि क्षमता, दृष्टिकोण र काम गर्ने शैलीलाई प्राथमिकता दिनुपर्छ।’

यादवले राजनीति सेवा र जिम्मेवारीको क्षेत्र भएको उल्लेख गर्दै जनमुखी नीति निर्माण, पारदर्शिता र प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने धारणा राख्नुभयो। उहाँका अनुसार देश र समाजलाई सही दिशामा अघि बढाउन वैचारिक स्पष्टता, सुशासन र जनताको अपेक्षाअनुसार काम गर्ने इच्छाशक्ति अनिवार्य हुन्छ ।

आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै यादवले धनुषा–१ का मतदाताले व्यक्तिको उमेरभन्दा पनि उसको विचार, नीतिगत प्रतिबद्धता र विगतको योगदानलाई आधार बनाएर निर्णय गर्ने विश्वास व्यक्त गर्नुभयो। ‘मतदाताले अब नाराभन्दा काम हेर्छन्, अनुहारभन्दा सोच र परिणामलाई प्राथमिकता दिन्छन्,’ उहाँले भन्नुभयो ।

स्थानीय स्तरमा मतदाता भेटघाट तथा छलफल कार्यक्रमलाई तीव्रता दिँदै यादवले आफू जनताको समस्या बुझेर समाधानमुखी योजना अघि सार्ने प्रतिबद्धता पनि जनाउनुभएको छ ।