धनुषा ।
धनुषा निर्वाचन क्षेत्र नम्बर–१ का प्रतिनिधि सभा सदस्य उम्मेदवार मनोज मल्ल ठकुरीले विदेशी प्रभाव र भ्रष्टाचारलाई जरैदेखि अन्त्य गर्न मतदाताले यसपटक राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई जिताउने दाबी गरेका छन् । चुनावी सभालाई सम्बोधन गर्दै उनले देशको स्वाभिमान जोगाउन र सुशासन स्थापना गर्न राष्ट्रवादी शक्तिको विजय अपरिहार्य रहेको बताए ।
ठकुरीले पुराना दलहरूमाथि तीव्र प्रहार गरे। ‘सधैंझैं ठग्ने पार्टीहरू फेरि गाउँघरमा घुमिरहेका छन्। भोट मागिरहेका छन्। तर उनीहरूले विगतमा के गरे भन्ने जनताले बिर्सनु हुँदैन,’ उनले भने । उनका अनुसार अहिले केही नयाँ शक्ति र दलहरू पनि ‘परिवर्तन’को नारा लिएर गाउँमा पुगेका छन्, तर ती शक्तिहरू पनि मूल मुद्दाबाट विमुख भइसकेका छन् । ‘गरिब जनतालाई फेरि झुटा आश्वासन दिएर अलमल्याउने काम भइरहेको छ । ‘फलानो चिन्हमा भोट दिए राजा फर्किन्छ’ भन्ने जस्ता हल्ला फैलाइँदैछ, जुन सरासर असत्य हो,’ उनले दाबी गरे ।
ठकुरीले पछिल्लो समय चर्चामा आएको जेनेरेशन–जेड (न्भल श्) आन्दोलनबारे पनि टिप्पणी गरे । उनका अनुसार उक्त आन्दोलन चुनाव लक्षित नभई आमूल परिवर्तनका लागि भएको थियो । ‘संघीयता खारेज गर्नेदेखि भ्रष्टाचार उखेल्नेसम्मका मुद्दा उठेका थिए। तर बीचमै केही तथाकथित परिवर्तनवादी दलहरू छिरेर आन्दोलनलाई विषयान्तर गरे,’ उनले आरोप लगाए ।
उनले स्वतन्त्र नागरिकको सरकार बन्ने चर्चा चले पनि अन्ततः त्यही समूह दलगत राजनीतिमा फर्किएको उदाहरण दिँदै भने, ‘हिजो स्वतन्त्रता र नयाँ राजनीतिक संस्कारको कुरा गर्नेहरू कसरी फटाफट दलमा प्रवेश गरे, त्यो जनताले देखेकै छन् ।’
सभामा बोल्दै ठकुरीले भ्रष्टाचारविरुद्ध गठन भएका आयोगहरू प्रभावहीन भएको दाबी गरे । ‘दोषीलाई कारबाही गर्न आयोग बन्यो, तर निष्कर्ष केही आएन । केवल ‘चुनाव, चुनाव’ भनियो,’ उनले भने ।
प्रधानमन्त्रीले भ्रष्टाचारीलाई जेल हाल्ने घोषणा गरे पनि त्यसको कार्यान्वयन नभएको उनको आरोप छ । ‘भ्रष्टाचार नियन्त्रण गर्ने नाममा जनतालाई झुक्याइयो । सिंहदरबार र संसद जलाउनेलाई जोगाएर चुनाव घोषणा गरिएको छ,’ उनले टिप्पणी गरे ।
उनले पुराना दलहरूलाई ‘पुरानै रक्सीमा नयाँ लेबल’को संज्ञा दिँदै जनतालाई सचेत रहन आग्रह गरे। “पहिले गरिबको मसिहा बनेर आएका शक्तिहरूले पनि अन्ततः जनतालाई निराश बनाएका छन्,’ उनले भने।
सभामा ठकुरीले आफू आबद्ध पार्टीलाई राष्ट्रवादी शक्तिको प्रतिनिधि भन्दै अन्य दलहरूलाई विदेशी प्रभावमा चलेको आरोप लगाए । ‘आज सबै गणतन्त्रवादी दलहरू एकातिर छन् । अर्कोतिर एउटा मात्र राष्ट्रवादी शक्ति उभिएको छ, जसले विदेशीको एक पैसा पनि लिएको छैन,’ उनले दाबी गरे ।
ठकुरीले चुनावी प्रचारका बाँकी दिनहरूलाई निर्णायक समयका रूपमा चित्रित गर्दै समर्थकहरूलाई घरदैलो अभियानमा सक्रिय हुन आह्वान गरे। घर–घर पुगेर झुटको खेती उदाङ्गो पार्नुपर्छ । नत्र फेरि जनताले ठगिएको महसुस गर्नुपर्नेछ, उनले चेतावनी दिए । उनले अन्त्यमा राष्ट्र र राष्ट्रियताको रक्षा आफ्नो प्राथमिकता भएको बताउँदै भने, ‘अहिले सुत्ने बेला होइन, जाग्ने बेला हा े। देश बचाउन राष्ट्रवादी शक्तिलाई बलियो बनाउनैपर्छ ।’

