धनुषा ।
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले सरकारसँग भएको १२ बुँदे सम्झौता कार्यान्वयन नगरेको आरोप लगाउँदै आन्दोलनको घोषणा गरेको छ। अभियानका तर्फबाट संयोजक विजय थापाद्वारा जारी विज्ञप्तिमा सम्झौता कार्यान्वयनमा सरकारले उदासीनता देखाएको र जनविरोधी गतिविधि गरेको आरोप लगाइएको छ ।
विज्ञप्तिमो सरकारप्रति गम्भीर आपत्ति जनाउँदै अभियानका नेतृत्वकर्ता दुर्गा प्रसाईंलाई ‘अपहरण शैलीमा’ पक्राउ गरिएको दाबी गरिएको छ । उक्त कार्यलाई लोकतन्त्र, नागरिक अधिकार र अभिव्यक्ति स्वतन्त्रतामाथिको आक्रमणको रूपमा चित्रित गर्दै तत्काल रिहाइको माग गरिएको छ ।
अभियानले आर्थिक वित्तीय शोषण, उत्पीडन तथा अन्यायबाट पीडित जनतालाई भ्रममा पारेर कथित चुनाव गराउन खोजिएको आरोप लगाएको छ । यस्तो परिस्थितिमा जनविरोधी चुनाव बहिष्कार गर्न आह्वान गरिएको विज्ञप्तिमा उल्लेख छ । ‘दुर्गा प्रसाईंलाई केन्द्र गरेर गरिने कुनै पनि चुनाव स्वीकार्य नहुने’ अभियानको स्पष्ट धारणा रहेको जनाइएको छ ।
विज्ञप्तिमा दुर्गा प्रसाईंको अविलम्ब रिहाइ नभएसम्म शान्तिपूर्ण रूपमा सडक संघर्ष जारी रहने चेतावनी दिइएको छ । साथै, आन्दोलनलाई बदनाम गर्न घुसपैठ, तोडफोड वा आगजनीजस्ता गतिविधि गरिन सक्ने आशंका व्यक्त गर्दै त्यस्ता गतिविधिमा संलग्न व्यक्तिहरूलाई अभियानले समर्थन नगर्ने स्पष्ट पारिएको छ ।
अभियानले दुर्गा प्रसाईंको रिहाइ नभएसम्म शैक्षिक संस्था र यातायातका साधन सञ्चालन नगर्न शैक्षिक संस्था, यातायात व्यवसायी तथा आम नागरिकलाई आग्रह गरेको छ । विज्ञप्तिमा तीन बुँदे माग अघि सार्दै दुर्गा प्रसाईंको अविलम्ब रिहाइ, १२ बुँदे सम्झौताको तत्काल कार्यान्वयन र जनविरोधी भनिएको कथित चुनाव अस्वीकार गर्ने जनाइएको छ । सरकारको तर्फबाट भने यस विषयमा औपचारिक प्रतिक्रिया आएको छैन ।

