धनुषा । निर्वाचनको मिती नजिकिँदैछ । जति निर्वाचन नजिकियो, त्यति मुटुको रफ्तार पनि बढिरहेको छ । विद्यार्थी राजनितीमा चुनावको अनुभव भएतापनि प्रतिनिधी सभा जस्तो निती बनाउने ठाउँमा जानका लागि निर्वाचनमा म पहिलोपटक होमिएको छु । मैले मेरा अन्य प्रतिस्पर्धी उमेदवारहरु जस्तो जितहारको अनुभव लिएको छैन ।
भदौ २३ गतेको जेनजी आन्दोलनमा म पनि अन्य साथिहरुसँगै बानेश्वर चोकमा दौडिरहेको थिएँ । आँखै अगाडी साथीहरु ढलेको देख्दा अहिलेसम्म पनि म झस्किरहन्छु । निन्द्रा गायव छ । त्यहि गायव निन्द्रालाई फिर्ता ल्याउन, म प्रतिनिधी सभामा प्रत्यक्ष तर्फको उमेदवार बनेको हुँ ।
अहिले मानिसहरुले एउटा भ्रम बनाइरहेका छन्, जेनजीको नाममा । जसले गर्दा जेनजी भन्न समेत लाज लाग्ने अवस्था निर्माण भएको छ। जेनजी भनेको पार्टी हैन, एउटा उमेर समुह हो भन्ने मानिसहरुले विर्सिएका हुन् या विर्साउन खोजेका हुन्, मैले थाहा पाउन सकिरहेको छैन ।
जेनजीका नाममा राजनिती गरेको देखेर मलाई भगवान गौतम बुद्धको याद आइरहेको छ । उहाँले मुर्ति पुजालाई कहिल्यै प्रसय दिनुभएन तर आज उहाँकै मुर्ति धेरै छन् ।
जेनजीले पुराना नेतृत्वको बिरोध गरेर आन्दोलन छेडेका थिए, तर उक्त आन्दोलनको भावना विपरित पुराना पार्टीलाई बहिष्कारको ट्रेन्ड चलिरहेको छ । राम्रा नराम्रा भाडमा जाए, ठग, फटाहा, भाइरल र अवसरबादीहरु संसदमा पठाएर निती बनाउने हो या चटक देखाउने हो, कृपया मलाई बुझाइदिनुहोला ।
हामी जुन व्यवस्थाको बिरोध गरेर आन्दोलनमा गयौं, आज त्यसैलाई भजाएर अवसरवादीहरुले टाउको उठाएको देख्दा मन अत्तालिएको छ । के हामीले गरेको जेनजी आन्दोलन ठगहरुलाई सफाइ दिन, अवसरवादीहरुलाई मौका दिन र पपुलिष्टहरुलाई सत्ता सुम्पन मात्रै हो ?
मेरा साथीहरुले रगत बगाएको यत्तिका लागि हो ? नेपालका जल्दावल्दा छोराछोरी, भाईबहिनी, दिदीदाजु, नातिनातिनाले तातो गोली खाएको यत्तिकै लागि हो ?
के यो सवै भएको, चुपचाप विना घोषणापत्र, बिना प्रतिवद्धता विवादित पार्टीलाई भोट दिएर जिताउन मात्रै हो ?
म इन्जिनियर हुँ। मेरो घर धनुषा क्षेत्र नं ४ बटेश्वर गाउँ पालिका वडा नं १ मा पर्छ । मैले अहिलेसम्म धेरै प्रोजेक्टहरुको काम सम्पन्न गरिसकेको छु ।
काममा सक्रिय इन्जिनियर एकाएक प्रतिनिधी सभाको निर्वाचनमा होमिँदा किन उठ्यो, कसरी उठ्यो जस्ता प्रश्न स्वभाविक हो । प्रश्नहरु मध्ये २ ओटा प्रश्नको उत्तर मैले दिनैपर्ने हुन्छ ।
१) इन्जिनियर भएर खुरुखुरु काम नगरेर के को राजनिती गरेको ?
२) नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को चनुव चिन्ह तारा नै किन ?
इन्जिनियर भन्ने बित्तिकै धेरैको दिमागमा आउँछ, पहेँलो हेलमेट लगाएर साइट भिजिट गर्ने, डिजाइन बनाउने, नक्सा कोर्ने मानिस । त्यसैले त किन राजनिती गरेको भन्ने प्रश्न उब्जियो ।
म यो बताउन चाहन्छु कि, इन्जिनियर भनेको समस्या देख्ने, कारण खोज्ने र दीर्घकालीन समाधान दिने सोच पनि हो । जुन सोचको अभावका कारण दिर्घकालिन बिकासमा समस्या आइरहेको छ ।
हामी पुर्वाधार र भौतिक बिकास त गर्छौ तर त्यसलाई कसरी लामो समयसम्म कायम राख्ने भन्नेवारे बिर्सन्छौं । यसअघि जतिपनि जनप्रतिनिधी हुनुहुन्थ्यो, उहाँहरुले पुर्वाधार विकासमा धेरै काम गरेपनि कार्यकाल सकिन लाग्दा धेरै सडकका कालोपत्रे उप्किन थालिसके । पोल ढलिसके, विजुलीका तारहरुले प्राकृतिक सौन्दर्यमा बाधा पुर्याएका छन् । त्यसैले पुरानाले सुरु गरेको कामलाई अन्त्य गर्न र त्यसलाई दिर्घकालिन बनाउन नै मैले राजनितीमा कदम राख्ने सोच बनाएको हुँ ।
आफैले काम गर्ने क्रममा पनि धेरै ठाउँमा स्पष्ट नितीको अभावले विचैमा काम रोक्नुपरेको समस्याको साक्षी हुँ । पुर्वाधार विकासका क्रममा धेरै निकायसँग ठोकिनुपर्ने हुन्छ । सबैका आ–आफ्नै निती नियम छन् । त्यसले भौतिक विकासमा निकै वाधा पुर्याइरहेको छ ।
अर्को पनि उदाहरण पेश गरें । धनुषामा आँप खेति हुन्छ । आँप पाकेपछि धेरै दिन जोगाउन सकिँदैन । जसले गर्दा किसानहरु कौडीको भाउमा आफ्नो परिश्रम फालिरहेका छन् । आँपको पात समेत महत्पूर्ण जडिबुटी हो । तर चाहेर पनि हामीले यसलाई व्यवसायिक बनाउन सकिरहेका छैनौं । कारण निती निर्माणमा भएको समस्या र दिर्घकालिन सोचको अभाव ।
त्यसैले म, नारा धेरै भयो, अब सिस्टम चाहिन्छ भन्ने मुल उद्देश्यका साथ राजनितीमा आएको हुँ । जवसम्म बैज्ञानिक र प्राविधिक सिस्टमले काम गर्न सकिँदैन, तवसम्म हामी दिर्घकालिन बिकासमा देशलाई लैजान सक्दैनौं ।
भत्काउने र बनाउने चक्रमा मात्र देश घुम्नेछ । यहि चक्रमा नितीगत भ्रष्टाचार गर्दै भुँडी फुलाउनेहरु उस्तैगरी हाम्रो टाउकोमा टेकेर छोराछोरीलाई ल्युसी भ्युटन, गुचि र कार्टियर जस्ता महंगा ब्राण्डका प्रोडक्टहरु सामाजिक सञ्जालमा सजाउने मौका दिइरहनेछन् । यो चक्र भत्काउन पनि म जत्तिको युवाले तपाईको मत पाउनैपर्छ ।
अर्को प्रश्न । किन नेपाली कम्युनिष्ट पार्टीको तारा चिन्हबाट उमेदवारी ?
यो प्रश्नको जवाफ सजिलो छैन । जेनजी आन्दोलनको अवस्थासम्म देश किन पुग्यो ? यसको उत्तर खोज्दा पार्टीमा भएका केहि नेतृत्वको नाम पनि आउनसक्छ । यसलाई नकार्न सकिँदैन । तर आन्दोलन हुँदा हाम्रो पार्टी सत्तामा थिएन भन्ने कुरा विर्सन भएन ।
अनि एकदुई ब्यक्ति खराव भयो भन्दैमा, शसक्त बिचार बोकेको पार्टी नै गलत भन्न मिल्दैन । अहिले हामीले भोगचलन गरिरहेका तमाम सेवा सुविधाहरु यहि पार्टिले संस्थागत गरेका विचारहरु हुन् । गणतन्त्रको आवाज उठाउने पार्टी नै यहि हो ।
धेरैले मलाई भ्रष्ट पार्टीबाट भन्दा बरु स्वतन्त्र लड्नुपथ्र्यो भन्ने सुझाव दिनुभयो । यस सुझावका लागि धरै धन्यवाद । तर हाम्रो संविधानको मर्म अनुसार, मैले बिचार भएको पार्टी नै रोज्नुपर्ने हुन्छ । फेरि पनि दोहोर्याउन चाहें, पार्टी र विचार कहिल्यै गलत हुँदैन । गलत हुने भनेकै ब्यक्ति हो । केहि व्यक्ति खराव भए भन्दैमा बिचार नै त्याग्नु न्यायसंगत मान्दिन । किनकि नेकपा कुनै ब्यक्तिको पार्टी हैन, हामी सम्पुर्ण कम्युनिष्ट विचार भएकाहरुको पार्टी हो ।
अहिले सुनको मुल्यले आकाश छोएको छ, यसैको उदाहरण दिउँ । मानौं तपाईंसँग भएको सुनको औंठी फोहोरमा खस्यो । अब त्यो फोहोर औंठीलाई फाल्नुहुन्छ कि सफा गर्नतिर लाग्नुहुन्छ ? फाल्छु भन्नुहुन्छ भने मेरो भन्नु केहि छैन, म सफा गर्नेतिर परें ।
अर्को कुरा, मेरो बिचारसँग असहमती हुन पाईन्छ तर त्यसका लागि कम्तिमा बिचार हुनुपर्यौ । यत्तिकै भिडको पछि लागेर बिना बिचार म हिड्न सक्दिनँ । न त आफ्नो बिचार त्यागेर अवसरबादी नै बन्न सक्छु ।
हाम्रो पार्टी नेकपाले जिन्जी आन्दोलनको मर्मलाई मनन गर्यो । आफूलाई सुधार्ने चेष्टा गर्यो । विगतलाई हेर्नुहोस् सबैभन्दा पहिले जेनजी आन्दोलनलाई समर्थन गर्दै, नयाँ चुनाव चिन्ह सहित, नयाँ एकता गरेर हामी आएका हौं ।
अहिले म जस्तो युवालाई टिकट दिएर पार्टिले जेनजी आन्दोलनलाई समर्थन गरेको छ । के यो परिवर्तन हैन र ? हामी परिवर्तनको पक्षमा छौं । तारा चिन्ह परिवर्तन चाहिरहेको छ । साथ दिने त तपाईंहरूले नै हो !
म भाषण गर्न जान्दिनँ । त्यसैले बोलेर हैन, काम गरेर देखाउनेछु। यो पटक विचार भन्दा माथि उठेर, म जत्तिको वैचारिक रूपमा स्पष्ट युवा उमेदवारलाई मतदान गर्नुहुन सम्पुर्ण धनुषा जिल्लाको निर्वाचन क्षेत्र नं ४ का आमाबुबा, दाजुभाइ, दिदीबहिनीहरुलाई अरुरोध गर्दछु ।

