नेकपाका केन्द्रीय सदस्य तामाङ रास्वपामा प्रवेश

|

ढल्केबर, धनुषा ।
धनुषाको मिथिला नगरपालिका–३, हरिहरपुर निवासी नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य जयलाल पाख्रिन तामाङ पार्टी परित्याग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्नुभएको छ ।

मंगलबार आयोजित कार्यक्रममा उहाँलाई धनुषा–४ रास्वपाका प्रतिनिधिसभा सदस्य उम्मेदवार राजकिशोर महतोले पार्टीमा स्वागत गर्नुभयो ।
रास्वपामा प्रवेश गरेपछि तामाङले देशमा वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता बढ्दै गएको बताउँदै पारदर्शिता, सुशासन र विकासका मुद्दालाई प्राथमिकतामा राखेर काम गर्न आफूले नयाँ यात्रा सुरु गरेको उल्लेख गर्नुभयो । ‘जनताले परम्परागत राजनीति होइन, परिणाममुखी र जिम्मेवार नेतृत्व खोजिरहेका छन्। त्यसकारण मैले समयको मागअनुसार निर्णय गरेको हुँ,’ उहाँले भन्नुभयो ।

त्यसैगरी उम्मेदवार महतोले तामाङ जस्ता अनुभवी र जुझारु नेताको आगमनले पार्टी संगठन बलियो भएको र आसन्न निर्वाचनमा जित हासिल गर्न थप ऊर्जा मिलेको बताउनुभयो । ‘तामाङको लामो राजनीतिक अनुभव र जनतासँगको सम्बन्धले हाम्रो अभियानलाई अझ प्रभावकारी बनाउनेछ,’ उहाँले भन्नुभयो ।

रास्वपाले धनुषामा संगठन विस्तार अभियानलाई तीव्र बनाउँदै आएको जनाएको छ। हालै विभिन्न दल परित्याग गरी नेता–कार्यकर्ताहरू रास्वपामा प्रवेश गर्ने क्रम बढ्दै गएको पार्टी स्रोतले जनाएको छ।