प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान मिति नजिकिँदै जाँदा महोत्तरीमा दल परित्यागको क्रम तीव्र बनेको छ । मतदानको मुखमै नेकपा (एमाले) परित्याग गरी दर्जनौं कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । त्यस्तै, नेकपा जसपाका गरी सयौं कार्यकर्ता पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
भंगहा नगरपालिका कञ्चनवनमा आयोजित वृहत पार्टी प्रवेश कार्यक्रममा नवप्रवेशीहरुलाई नेपाली कांग्रेसका मधेश प्रदेश सभापतिसमेत रहेका मुख्यमन्त्री कृष्णप्रसाद यादवले अबिर र माला लगाएर पार्टीमा स्वागत गर्नुभयो ।
उक्त अवसरमा मुख्यमन्त्री यादवले लोकतन्त्रको संरक्षण र देशलाई वर्तमान संकटबाट मुक्त गराउने शक्ति नेपाली कांग्रेस मात्र भएको दाबी गर्नुभयो । उहाँले विकास, सुशासन र स्थायित्वका लागि कांग्रेसको विकल्प नरहेको उल्लेख गर्दै निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई विजयी गराउन अपिल गर्नुभयो ।
नेपाली कांग्रेस मधेश प्रदेश अनुशासन समितिका संयोजक सुरेश यादवको पहलमा एमाले, जसपा र नेकपाका नेताकार्यकर्ताहरु कांग्रेसमा प्रवेश गरेको जनाइएको छ ।
निर्वाचन नजिकिँदै गर्दा दल परिवर्तन र कार्यकर्ता तानातानको राजनीतिक माहोल झन् तातिएको देखिएको छ ।

