‘हिन्दू राष्ट्र र राजसंस्था स्थापनाका लागि जनता राप्रपाको पक्षमा छ’ : मनोज मल्ल

|

धनुषा निर्वाचन क्षेत्र नं. १ मा चुनावी अभियान अन्तिम चरणमा पुग्दै गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रतिनिधिसभा सदस्य उम्मेदवार मनोज मल्लले हिन्दू राष्ट्र पुनस्र्थापना र राजसंस्थासहितको व्यवस्था स्थापनाका पक्षमा जनताको समर्थन रहेको दाबी गर्नुभएको छ ।
मल्लले आफूले उठाएका एजेन्डाप्रति मतदाताको सकारात्मक प्रतिक्रिया पाएको बताउनुभयो । ‘जनता अहिलेको व्यवस्थाबाट दिक्क छन् । उनीहरू स्थायित्व, सुशासन र सांस्कृतिक पहिचानको खोजीमा छन्,’ उहाँले भन्नुभयो, ‘हिन्दू राष्ट्र र राजसंस्था स्थापना नै त्यसको आधार हो भन्ने भावना जनतामा बलियो बन्दै गएको छ ।’
मल्लले नेपाललाई धर्मनिरपेक्ष राष्ट्र घोषणा गरिएपछि सामाजिक तथा सांस्कृतिक मूल्य कमजोर बन्दै गएको तर्क गर्नुभयो । ‘नेपाल विश्वकै एक मात्र हिन्दू राष्ट्र थियो । त्यो पहिचान गुमेपछि राष्ट्रिय आत्मविश्वासमा समेत असर परेको छ,’ उहाँले दाबी गर्नुभयो, ‘हाम्रो परम्परा, संस्कार र मौलिकता जोगाउन हिन्दू राष्ट्र आवश्यक छ।’
राजसंस्थासहितको व्यवस्थाबारे टिप्पणी गर्दै उहाँले राजनीतिक अस्थिरता अन्त्य गर्न र राष्ट्रलाई एकताबद्ध बनाउन परम्परागत संस्थाको भूमिका पुनःस्थापित गर्नुपर्ने धारणा राख्नुभयो । ‘बारम्बार सरकार परिवर्तन हुने, भ्रष्टाचार मौलाउने र विकास अवरुद्ध हुने अवस्था अन्त्य गर्न दीर्घकालीन स्थायित्व चाहिन्छ,’ उहाँले भन्नुभयो ।
संघीयताप्रति असन्तुष्टि जनाउँदै मल्लले वर्तमान संरचनाले राज्यको खर्च बढाएको तर अपेक्षित विकास नदिएको आरोप लगाउनुभयो । चुनावी कार्यक्रममा स्थानीय बासिन्दाले रोजगारी, शिक्षा, स्वास्थ्य सेवा तथा सडक पूर्वाधार सुधारका विषय उठाएको उल्लेख गर्दै मल्लले आफू निर्वाचित भए आधारभूत आवश्यकतालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। ‘राजनीति सत्ताका लागि होइन, सेवाका लागि हो,’ उहाँले भन्नुभयो, ‘जनताको विश्वास जितेर काम गर्ने इमानदार नेतृत्वको आवश्यकता छ।’

पार्टीका स्थानीय नेता–कार्यकर्ताले पनि यसपटक धनुषा–१ मा राप्रपाको माहोल उत्साहजनक रहेको दाबी गरेका छन् । घरदैलो अभियानका क्रममा हिन्दू राष्ट्र र राजसंस्थाको मुद्दाले विशेष समर्थन पाएको उनीहरूको भनाइ छ ।
राप्रपाले हिन्दू राष्ट्र पुनस्र्थापना, राजसंस्थासहितको प्रत्यक्ष लोकतन्त्र, सुशासन र भ्रष्टाचार नियन्त्रणलाई मुख्य चुनावी एजेन्डा बनाएर प्रतिस्पर्धा गरिरहेको छ । अब मतदाताले यी एजेन्डालाई कत्तिको विश्वास गर्छन् भन्ने कुरा निर्वाचन परिणामले स्पष्ट पार्नेछ ।