क्यान उपाध्यक्षद्वारा धनुषाका महिला क्रिकेट टोलीलाई खेल सामग्री सहयोग

|

ढल्केबर, धनुषा । नेपाल क्रिकेट संघ (क्यान) का उपाध्यक्ष रोशन सिंहले धनुषाका महिला क्रिकेट खेलाडीहरुलाई किट प्रदान गरेका छन् ।
मिथिला नगरपालिका–२, नक्टाझिजस्थित श्री जनता माध्यमिक विद्यालयको खेलमैदानमा अभ्यासरत स्थानीय महिला क्रिकेट टोलीलाई “बोल्ट्स बटालियन” समूहको समन्वयमा क्यानका उपाध्यक्ष तथा महोत्तरी जिल्ला क्रिकेट संघका अध्यक्ष समेत रहेका सिंह र संघका कोषाध्यक्ष सैफ अलीले संयुक्त रूपमा क्रिकेट किट हस्तान्तरण गरेका हुन् ।

स्थानीय स्तरमा स्रोत साधनको अभावबीच अभ्यास गरिरहेका खेलाडीहरूको अवस्थाबारे जानकारी पाएपछि “बोल्ट्स बटालियन” का प्रतिनिधि जयकृष्ण महतोले सहयोगका लागि पहल गरेका थिए । सोही पहलअनुसार सिंहले सहयोग गर्ने प्रतिबद्धता जनाउँदै किट उपलब्ध गराएका हुन् ।

उपाध्यक्ष सिंहले ग्रामीण क्षेत्रमा अझै पनि महिलालाई खेलकुदमा सहभागी हुन अवरोध रहने गरेको उल्लेख गर्दै बदलिँदो परिवेश र प्रविधिको विकाससँगै महिलाहरू क्रिकेटतर्फ आकर्षित हुनु सकारात्मक संकेत भएको बताए ।
यसैगरी “बोल्ट्स बटालियन” का प्रतिनिधि महतोले खेलाडीहरूको मनोबल बढाउने उद्देश्यले आफूहरू समन्वयकारी भूमिकामा सक्रिय रहँदै आएको जानकारी दिए ।

महिला टोलीकी स्थानीय प्रशिक्षक रोजी कडारीले सीमित स्रोत–साधनका बाबजुद एक वर्षदेखि नियमित अभ्यास गर्दै आएको बताइन ्। उनले आवश्यक खेल सामग्री र व्यवस्थित मैदानको अभावले समस्या भइरहेको उल्लेख गर्दै क्यान उपाध्यक्षबाट प्राप्त सहयोगले टोलीलाई थप उत्साहित बनाएको बताइन् ।

कडारीले महिलाहरूलाई पनि खेलकुदमा समान अवसर दिनुपर्नेमा जोड दिँदै महिला सशक्तीकरण तथा राष्ट्रको विकासमा खेलकुदमार्फत योगदान पु¥याउन सबै पक्षले सहयोग गर्नुपर्ने आवश्यकता औंल्याइन् ।