ढल्केबर, धनुषा ।
मधेश प्रदेशका चार जना पत्रकारलाई सम्मान गरिएको छ । धनुषाको ग्रामीण क्षेत्रबाट सञ्चालित रेडियो धनुषको छैटौं वार्षिकोत्सवका अवसरमा पत्रकारितामार्फत समाजका विभिन्न क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै सम्मान प्रदान गरिएको हो ।
गोरखापत्रका ढल्केवर समाचारदाता विजयकुमार साह, बीबीसी मधेश प्रदेशका समाचारदाता माधुरी महतो, नयाँ पत्रिकाका सिरहा समाचारदाता मनिलाल विक तथा अपाङ्गताबाट रेडियो मिथिलामा कार्यरत मनिष मैथिललाई नगद पाँच हजार रुपियाँसहित सम्मान गरिएको आयोजकले जानकारी दिएका छन् ।
रेडियो धनुषले यस वर्षदेखि विभिन्न विधामा उत्कृष्ट योगदान पु¥याउने पत्रकारलाई सम्मान गर्ने परम्परा सुरु गरेको जनाएको छ । सोही अनुसार साहलाई ग्रामीण पत्रकारितामा उल्लेखनीय योगदानका लागि सम्मान गरिएको हो । उहाँले लामो समयदेखि ग्रामीण भेगका समस्या, विकास, पूर्वाधार र जनजीवनसँग सम्बन्धित विषयलाई राष्ट्रिय सञ्चार माध्यममार्फत उजागर गर्दै आएको सम्मान गरिएको आयोजकले जानकारी दिएका छन् ।
त्यसैगरी बिबिसीका महतोलाई महिला पत्रकारिताको क्षेत्रमा सक्रियता र सशक्त उपस्थिति जनाउँदै आएकालेसम्मान गरिएको हो । विकलाई दलित समुदायका मुद्दा, विभेद र सामाजिक न्यायका सवाललाई निरन्तर उठाउँदै आएकाले सम्मान गरिएको बताइएको छ । यस्तै, मनिष मैथिललाई अपाङ्गता भएका व्यक्तिहरूको आवाजलाई सञ्चार माध्यममार्फत प्रवाह गर्दै समावेशी पत्रकारितामा पु¥याएको योगदानका लागि सम्मान गरिएको हो ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य मातृकाप्रसाद यादवले पत्रकारिता समाज परिवर्तनको महत्वपूर्ण माध्यम भएको उल्लेख गर्दै ग्रामीण क्षेत्रबाट सञ्चालित सञ्चारमाध्यमले जनताको आवाजलाई राज्यसम्म पु¥याउने पुलको काम गरिरहेको बताउनुभयो । उहाँले सत्य र निष्पक्ष पत्रकारितालाई अझ सशक्त बनाउन बनाउनुपर्ने धारण व्यक्त गर्नुभयो ।
मिडिया काउन्सिल मधेश प्रदेशका कार्यवाहक अध्यक्ष सुरेशकुमार यादवले पत्रकारितामा समावेशिता र विविधता अत्यन्त आवश्यक रहेको बताउँदै महिला, दलित र अपाङ्गता समुदायका पत्रकारलाई प्रोत्साहन गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने धारणा राख्नुभयो ।
रेडियो धनुषका सञ्चालक तथा सञ्चारकर्मी मुकेशकुमार ठाकुरले ग्रामीण क्षेत्रमै बसेर सञ्चार सेवा प्रदान गर्दै आएको रेडियो धनुषले स्थानीय मुद्दा, संस्कृति र पहिचानलाई उजागर गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको बताउनुभयो । उहाँले आगामी दिनमा पनि यस्ता कार्यक्रममार्फत पत्रकारको हौसला प्रदान गरिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

