ढल्केबर, धनुषा ।
मधेस प्रदेश सरकारका उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री कनिश पटेलले मुलुकको आर्थिक समृद्धिका लागि लघु उद्योग र मानव विकासलाई प्राथमिकता दिनुपर्ने बताउनुभएको छ । शनिबार धनुषाको लालगढमा आयोजित उद्यम विकास सहजकर्ता सङ्घ मधेस प्रदेशको तेस्रो महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
मन्त्री पटेलले नेपालको अर्थतन्त्रमा उद्योग क्षेत्रको ११ प्रतिशतभन्दा बढी योगदान रहेको र त्यसमा पनि लघु उद्योगको भूमिका सबैभन्दा महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘स्थानीय उत्पादनको पहिचान गर्ने र त्यसलाई आर्थिक उपार्जनसँग जोड्ने मुख्य जिम्मेवारी उद्यम विकास सहजकर्ताको हो । यो जनशक्तिलाई अझ सशक्त र दोब्बर बनाउन आवश्यक छ ।’
मन्त्री पटेलले भौतिक पूर्वाधार निर्माणलाई मात्र विकास मान्ने सोच परिवर्तन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘जनता र जनप्रतिनिधि सडक र भवन निर्माणमा मात्र केन्द्रित हुने गरेका छन् । अब समाजलाई आर्थिक क्रान्तिसँग जोड्न लद्यु उद्योग बढाउन आवश्यक छ ।’ स्थानीय स्रोत र साधनको प्रयोग गरी उद्यमशीलतामार्फत नागरिकको प्रतिव्यक्ति आय बढाउन सके मात्र समुन्नत राष्ट्र निर्माण सम्भव हुने उहाँको भनाइ छ ।

मन्त्री पटेलले उद्यमीले भोग्दै आएका कानुनी र प्रशासनिक झमेलाका बारेमा बोल्दै मन्त्री पटेलले उद्योग दर्ता प्रक्रियालाई डिजिटल बनाउन प्रदेश सरकार लागिपरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘उद्योग दर्तामा देखिएका समस्या समाधान गर्न हामी अनलाइन प्रणाली ल्याउँदै छौँ । सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वयको अभावमा कार्यक्षेत्रमा दोहोरोपन र कानुनी अड्चन देखिएकाले यी समस्या समाधानका लागि तीनवटै तहका सरकारलाई एक ठाउँमा राखेर एकद्वार प्रणाली लागू गर्न आफूले पहल गर्ने प्रतिबद्धता समेत उहाँले जनाउनुभयो ।
उहाँले युवा उद्यमीहरूलाई प्रोत्साहन गर्न आगामी नीति तथा कार्यक्रम र बजेटमा विशेष व्यवस्था गरिने बताउनुभयो । मन्त्री पटेलले लगानी अभाव समाधान गर्न प्रदेश सरकारले ब्याज अनुदान कार्यक्रम ल्याउने तयारी गरेको उल्लेख गर्नुहुँदै उहाँले आगामी बजेट निर्माण हुनुअघि नै पुनः एकपटक सरोकारवालासँग बृहत् छलफल गरी ठोस योजना ल्याउने आश्वासन दिनुभयो ।
कार्यक्रममा संघका मधेश प्रदेश अध्यक्ष पञ्चा पण्डितलगायत दुई सयभन्दा बढी लद्यु उद्योगका सञ्चालकको उपस्थिति रहेको थियो ।

