ढल्केबर, धनुषा ।
मधेस प्रदेशका वन तथा वातावरण मन्त्री शङ्करप्रसाद चौधरीले वन जङ्गलको तीव्र विनाशका कारण वन्यजन्तु र मानवबीचको द्वन्द्व बढ्दै गएको बताउनुभएको छ । शनिबार धनुषाको ढल्केबरमा आयोजित निजी वन सम्बन्धी क्षमता अभिवृद्धि गोष्ठीमा बोल्दै उहाँले प्राकृतिक सन्तुलन बिग्रँदा वन्यजन्तु आहाराको खोजीमा बस्ती पस्न बाध्य भएको उल्लेख गर्नुभयो ।
उहाँले पहिले वन क्षेत्रमा फलफूल र पानीको पर्याप्त स्रोत हुने गरेकोमा अहिले मानवीय स्वार्थका कारण वन नष्ट हुँदा वन्यजन्तु आहाराको खोजीमा बस्ती पस्न बाध्य भएको बताउनुभयो । जङ्गलमा जामुन र केरा जस्ता फलफूल सकिएकाले वन्यजन्तुले भोको पेट पाल्न किसानको अन्नबाली नष्ट गरिरहेको उहाँको भनाइ थियो ।
वन संरक्षणका लागि एउटा रूख काट्दा तीन–चार वटा नयाँ रूख रोप्ने अठोट लिन सबैलाई आग्रह गर्दै मन्त्री चौधरीले वन्यजन्तुले पु¥याउने क्षतिका सम्बन्धमा जथाभावी जनावर मार्नुभन्दा कानुनी प्रक्रिया अपनाउन सुझाव दिनुभयो । यदि बँदेल जस्ता वन्यजन्तुले बालीनाली नोक्सान गरेमा स्थानीय निकाय, वडा प्रतिनिधि र प्रहरीको उपस्थितिमा मुचुल्का उठाएर राहतका लागि निवेदन दिनुपर्ने प्रावधान रहेको उहाँले जानकारी दिनुभयो ।
केही विशेष अवस्थामा किसानलाई वन्यजन्तु मार्ने अधिकार भए पनि मारिएको जनावर घर लैजान नपाइने र मुचुल्का सहित सम्बन्धित निकायमा बुझाउनुपर्ने कानुनी नियम रहेको उहाँले प्रस्ट पार्नुभयो । मधेस प्रदेश सरकारले वन्यजन्तुलाई बस्तीमा आउनबाट रोक्न मेस जाली र तारबार लगाउने कार्यलाई प्राथमिकतामा राखेको र बजेटको सीमा अनुसार हरेक वर्ष यस्ता सुरक्षात्मक काम विस्तार गर्दै लैजाने प्रतिबद्धता समेत उहाँले व्यक्त गर्नुभयो ।
कार्यक्रममा डिभिजन वन कार्यालय धनुषाका प्रमुख विनोद सिंहले वन्यजन्तुबाट हुने क्षति न्यूनीकरणका लागि कार्यालयले प्रक्रियागत रूपमा काम गरिरहेको बताउनुभयो ।

