ढल्केबर, धनुषा ।
धनुषाको कमला नगरपालिमा आर्थिक वर्ष २०८२÷०८३ को बजेट प्रस्तुत भएको झण्डै नौ महिनापछि पारित भएको छ । स्थानीय जनप्रतिनिधिबीच विवादका कारण रोकिएको बजेट सहमतिपछि पारित भएको हो ।
कमला नगरपालिकाका नगरप्रमुख विश्वेश्वरप्रसाद यादवले निर्धारित समयमा नै नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरिएको बताउँदै बजेट बाँडफाँटको विषयलाई लिएर रोकिएको बजेट नवौ नगर सभाबाट पारित भएको बताउनुभयो । उहाँले नगर प्रमुख यादवले बजेट पािरत भएसँगै कर्मचारी, शिक्षक तथा सामाजिक सुरक्षा भत्ता वितरणलगायत विकास निर्माणका काम गर्न ढोका खुलेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘बजेट पारित नहुँदा कर्मचारीको तलबभत्ता, विकास निर्माणलगायत नगरपालिकाबाट प्रदान गरिने सम्पूर्ण सेवा ठप्प थियो । नगर सभा सम्पन्नसँगै अब सबै कार्य गर्ने ढोका खुलेको छ ।’ वैशाख पहिलो सातादेखि सामाजिक सुरक्षा भत्ता, कर्मचारीको तलब भत्ता र विकास निर्माणको कार्यलाई गति दिने उहाँले जानकारी दिनुभयो ।
प्रमुख प्रशासकीय अधिकृत डा. श्रवणकुमार साहलेले कर्मचारीको तलब भत्ता छिट्टै उपलब्ध गराउने बताउनुभयो । उहाँले नगर सभा सम्पन्न भएको विवरण कम्प्युटरमा प्रविष्ट तथा कोलेनिकाको काम अघि बढाएको बताउँदै यो काम सक्नबित्तिकै सामाजिक सुरक्षा भत्ता, शिक्षक तथा कर्मचारी तलब वितरण र विकास निर्माणको काममा जोड दिने जानकारी दिनुभयो ।
नगर सभा नहुँदा साउन महिनादेखि तलब भत्ता नपाएका शिक्षक, कर्मचारीले सामाजिक सुरक्षा भत्ता पाउँदै आउनुभएका सेवाग्राहीले आन्दोलित बनेका थिए ।
नेपालको संविधान तथा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार प्रत्येक गाउँपालिका र नगरपालिकाले असार १० गतेभित्र आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट गाउँसभा वा नगरसभामा पेश गर्नुपर्ने व्यवस्था छ । सोही ऐनले नीति तथा कार्यक्रम तथा बजेट पेश गरेपछि १५ दिनभित्र बहुमतले पारित गर्नुपर्ने प्रावधानसमेत राखेको छ ।

