ढल्केबर, धनुषा ।
मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले उपचारमाभन्दा नागरिकलाई बिरामी नै हुन नदिने उपाय अपनाउनुपर्ने बताउनुभएको छ । मङ्गलबार धनुषाको लालगढमा स्वास्थ्य निर्देशनालय मधेश प्रदेशद्वारा आयोजित मधेश प्रदेशस्तरीय पोषण नीति सम्वाद तथा शिखर सम्मेलनलाई सम्बोधन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो ।
मुख्यमन्त्री यादवले थोरै खर्चमा धेरै उपलब्धि हासिल गर्नका लागि नागरिकको खानपान र पोषणमा सुधार ल्याउनु नै उत्तम विकल्प भएको बताउनुभयो । व्याप्त अशिक्षा र गरिबीका कारण कुपोषणको समस्या देखिएकोे बताउँदै उहाँले प्रदेशलाई कुपोषणमुक्त बनाउन स्वास्थ्य क्षेत्रका विज्ञ तथा मन्त्रालयका सचिवलाई ठोस योजना बनाउन निर्देशनसमेत दिनुभयो ।
उहाँले बिरामी भइसकेपछि उपचारका लागि अन्य प्रदेश वा विदेश जानुपर्ने बाध्यता रहेकाले आगामी वर्षको बजेट तथा कार्यक्रममा कुपोषण न्यूनिकरणका योजनालाई प्राथमिकताका साथ समेट्ने जानकारी दिनुभयो । मुख्यमन्त्री यादवले मधेश प्रदेशको भूगोल सानो भए पनि जनसङ्ख्याको चाप अन्य प्रदेशको तुलनामा उच्च रहेको उल्लेख गर्दै सातवटै प्रदेशमध्ये सबैभन्दा बढी जनसङ्ख्या भएको यस प्रदेशमा जनघनत्वका कारण स्वास्थ्य र सरसफाइमा समस्या देखिएकोे बताउनुभयो ।
स्वस्थ जनशक्ति उत्पादनका लागि गर्भधारणको समयदेखि नै उचित पोषण सुनिश्चित गरिनुपर्ने बताउँदै उहाँले भन्नुभयो, “गर्भधारणकै समयमा स्वस्थ वातावरण र पोषण पाएमा मात्र स्वस्थ बच्चा जन्मिन्छ, जसले भविष्यमा प्रदेश र देशको विकासमा प्रभावकारी योगदान दिन सक्छ ।”
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री जङ्गीलाल रायले आमा र बच्चाको पोषण सुधारका लागि नीतिभन्दा बढी कार्यान्वयन जोड दिनुपर्ने बताउनुभयो । गर्भावस्थामा आमाको उचित हेरचाह नभए जन्मिने बच्चा पनि कुपोषित हुने बताउँदै उहाँले कुपोषण अन्त्य गरी आमा र बच्चालाई स्वस्थ बनाउनु नै सरकारको मुख्य लक्ष्य रहेको जानकारी दिनुभयो ।
मन्त्री रायले सेमिनार र गोष्ठी धेरै भए पनि त्यसको ठोस प्रतिफल लक्षित वर्गसम्म पुगे नपुगेको विषयमा अनुगमन हुनुपर्ने बताउनुभयो । सक्षम व्यक्तिले आफ्नो हेरचाह आफैँ गर्न सक्ने उल्लेख गर्दै उहाँले सरकारले सञ्चालन गरेका कार्यक्रम विपन्न वर्गमा केन्द्रित हुनुपर्ने जानकारी दिनुभयो । उहाँले तीनै तहका सरकारले मिलेर पोषणका लागि प्रभावकारी योजना बनाउनुपर्ने बताउनुभयो ।
तीन दिनसम्म चल्ने सो सम्मेलनले मधेश प्रदेशको पोषण अवस्था सुधारका लागि ठोस नीतिगत खाका तयार पार्ने विश्वास लिइएको छ । कार्यक्रममा प्रदेशका स्वास्थ्यकर्मी, नीति निर्माता र सरोकारवाला निकायका प्रतिनिधिको सहभागिता रहेको छ ।

