मधेश स्वास्थ्य निर्देशनालयमा औषधी खरिदमा सेटिङको आरोप

|

स्वास्थ्य निर्देशनालयमा ‘सेटिङ्ग’
इच्छाएको सप्लार्यसलाई ठेक्का दिन ‘स्पेशिफिकेशन’

जनकपुरधाम । मधेश प्रदेशको स्वास्थ्य निर्देशनालयले औषधी खरिदमा आपुर्तीकर्तासंग सेटिङ्ग गरेको पाइएको छ । निश्चित आपुर्तीकर्तालाई टेण्डर दिन ‘स्पेशिफिकेशन’ तोकेको पाइएको हो ।
स्पेशिफिकेशन निश्चित आपुर्तीकर्तासंग मात्र मिल्ने गरी तोकेर बारम्बार त्यही सप्लार्यसको टेण्डर कबुल गर्दै आएको देखिन्छ । नियामवलीमै मेनुफेक्चरिङ अनिवार्य र अथोराइजेशन पत्र जस्ता सर्त राखेर लभ मेडिकल जलेश्वर र जीएच मेडिहेल्थ कन्सर्न भक्तपुरको टेण्डर बारम्बार कबुल भएको देखिएको छ । निर्देशनालयले गएको चैत ३० गते औषधी खरिदको लागि सूचना आह्वान गरेका थिए । तर, चार वटा कम्पनीको औषधी मेनुफेक्चरिङ अनिवार्य सर्त राखेर निर्देशनालयका कर्मचारीहरुले सेटिङ्ग गरेको आरोप लागेको छ । एक आपुर्तीकर्ताका अनुसार सार्वजनिक खरिद ऐनको प्रस्तावनामै प्रतिस्पर्धा, स्वच्छता, इमान्दारीता, जवाफदेहिता र विश्वसनिय प्रर्वद्धन गरी ठेक्का कबुल हुनुपर्ने उल्लेख छ । तर, मधेश प्रदेशको स्वास्थ्य निर्देशनालयले सो ऐन विपरीत नियमावलीमा स्पेशिफिकेशन तोकेर महंगोमा औषधी खरिद गरिरहेका छन् ।
‘औषधी खरिदमा आइएसओ, जिएमटी मुख्य कुरा हो । यी प्रावधानहरु हुनुपर्छ । तर निर्देशनालयले प्रतिस्पर्धाबाट अन्य सप्लार्यशलाई बञ्चित गर्न स्पेशिफिकेशन तोक्ने गरेको छ,’उनले भने,‘चार वटा कम्पनीको औषधी मेनुफेक्चरिङ अनिवार्य भनिएको छ । साथै अथोराइजेशन लेटर पनि अनिवार्यजस्ता जटिल प्रावधान बनाएको छ ।’ उनका अनुसार आइटम अनुसार लक नगरेर समग्र आइटम लक गर्दा सीमित आपुर्तीकर्ता मात्रै कागजात पुर्‍याउन सक्ने जटिल प्रावधान राखेका हुन्छन् । कर्मचारीको मनपरीले सुलभ मूलयमा आपुर्ती हुने औषधी महंगोमा खरिद भइरहेको उनले सुनाए । उनले उदाहरण दिदै भने,‘यस्तो सेटिङ्गको कारण दुई करोडमा खरिद हुने समान चार/पाँच करोडमा खरिद भइरहेको छ ।’ नेपालको कुनै पनि प्रदेशमा यस्ता जटिल प्रावधान नरहेको उनको दावी छ । सूचना आह्वानपछि सम्बन्धित कार्यालयको खरिद समिति बैठक बस्नु अगावै निश्चित आपुर्तीकर्तासंग सेटिङ्ग भएको उनको अनुमान छ ।

यही जेठ १५ गते द सोलुशन मेडिटेक प्रा.लि.सहित चार वटा आपुर्तकर्ताले निर्देशनालयमा सो प्रावधान संशोधन गर्न निवेदन नै दिएका थिए । चार आइटमको हकमा अथोराइजेशन लेटर अनिवार्य नहुने गरी बोलपत्रमा प्रतिस्पर्धा गर्ने वातावरण बनाई दिन अनुरोधसहित निवेदन दिएका थिए । निवेदनमा डब्लुएचओ–जीएमपी र डिडिए प्रमाणपत्रको अधारमा बोलपत्र प्रतिस्पर्धामा भाग लिन पाउनु पर्ने माग गरिएको छ ।
यस विषयमा थप बुझ्नको लागि निर्देशनालयका निर्देशक सरोज न्यौपानेलाई सम्पर्क गर्दा निवेदनमाथि छलफल भइरहेको बताए । स्पेशिफिकेशनको बारेमा उनले केही बोल्न मानेन् । भेटेर कुरा गर्ने भन्दै पञ्छिए । स्टोर प्रमुख युगल किसोर यादवले यस विषयमा अनविज्ञता प्रकट गरे । लेखापाल जितेन्द्र यादवले सबै गुनासो सुनवाई गर्न नसकिने बताए । र, यस विषयको फोकल पर्सनसंग कुरा गर्नुपर्ने बताए ।

यस्तै प्रकृति अनियमितता मधेश प्रदेशको स्वास्थ्य मन्त्रालयले असअघि पनि गरेका थिए । प्रदेश जनस्वास्थ्य प्रयोगशालाले स्पेशिफिक तोकेर स्वास्थ्य उपकरण र सामग्री खरिद गर्दा ५२ करोडको भ्रष्टाचार गरेको विशेष अदालतले ठहर गर्दै १६ जना कर्मचारीलाई निलम्बन र जरिवना गरेका थिए ।