डुबान र आगलागीजन्य विपद् न्यूनीकरणका लागि कृत्रिम अभ्यास

|

महेन्द्रनगर, धनुषा ।
धनुषाको महेन्द्रनगरमा बाढी, डुबान तथा आगलागीजन्य विपद्को जोखिम न्यूनीकरण र उद्धार क्षमतालाई सुदृढ बनाउने उद्देश्यले दुईदिने बहुप्रकोप कृत्रिम अभ्यास गरिएको छ । ह्याबिट्याट फर ह्युमानिटी इन्टरनेसनल नेपालको सहयोग तथा सामुदायिक सुधार केन्द्र (सीआइसी) को आयोजनामा ‘सेफर नेपाल’ परियोजना अन्तर्गत कृत्रिम अभ्यास गरिएको हो ।

कार्यक्रम संयोजक विरेन्द्र कर्णका अनुसार विपद्को समयमा उद्धार तथा प्रतिकार्यलाई प्रभावकारी बनाउन सामुदायिक विपद् व्यवस्थापन समिति, वडास्तरीय विपद् व्यवस्थापन समिति, नगरपालिकाका प्रतिनिधि, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका सदस्यहरूलाई संयुक्त रूपमा प्रशिक्षण प्रदान गरिएको हो । तालिमको सैद्धान्तिक कक्षा स्थानीय सर्पदंश उपचार केन्द्रको सभाहलमा सञ्चालन गरिएको थियो ।

तालिममा भक्तपुरबाट अरुण सेनजुको नेतृत्वमा आएको आरएनएस–१६ को प्राविधिक टोलीले प्रशिक्षण दिएको थियो । टोलीले बाढी, डुबान तथा आगलागी जस्ता विपद्का बेला अपनाउनुपर्ने सुरक्षा उपाय, उद्धार विधि तथा प्राथमिक उपचारसम्बन्धी जानकारी प्रदान गरेको थियो ।
तालिमअन्तर्गत छिरेश्वरनाथस्थित ऐतिहासिक दूधमती पोखरीमा बाढी तथा डुबानसम्बन्धी व्यावहारिक अभ्यास गरिएको थियो । सहभागीहरूलाई लाइफ ज्याकेटको प्रयोग, डुङ्गा सञ्चालन, पानीमा फसेका व्यक्तिको उद्धार तथा प्राथमिक उपचारका विधिबारे स्थलगत अभ्यास गराइएको थियो ।

त्यसैगरी आगलागीजन्य विपद् नियन्त्रणसम्बन्धी अभिमुखीकरण कार्यक्रमसमेत सञ्चालन गरिएको छ । आगलागी भएको अवस्थामा अपनाउनुपर्ने सावधानी, दमकल पुग्नुअघि समुदायले गर्न सक्ने प्रारम्भिक नियन्त्रणका उपाय तथा सुरक्षित उद्धार प्रक्रियाबारे जानकारी दिइएको संयोजक कर्णले बताउनुभयो ।

उहाँका अनुसार तालिमको अन्तिम चरणमा ग्यास सिलिन्डर तथा घरायसी आगलागी नियन्त्रणसम्बन्धी प्रयोगात्मक अभ्याससमेत गरिएको छ । सहभागीहरूलाई आगो निभाउने सुरक्षित विधि तथा आपत्कालीन अवस्थाको व्यवस्थापनबारे प्रदर्शनमार्फत सिकाइएको थियो ।
कार्यक्रम संयोजक कर्णले विपद् जुनसुकै बेला आउन सक्ने भएकाले पूर्वतयारीलाई बलियो बनाउन यस्ता अभ्यास आवश्यक रहेको बताउनुभयो । उहाँले समुदाय र सुरक्षा निकायलाई व्यावहारिक रूपमा दक्ष बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको जानकारी दिनुभयो ।