हुर्केर छहारी दिने बेला रुख काटिएपछि पर्यावरण अभियन्तामा चिन्ता

|

जनकपुर ।
जनकपुरधामस्थित जानकी मन्दिरको उत्तरतर्फ रहेको अङ्गराज पोखरीको डिलमा रोपिएका रुख काटिएपछि पर्यावरण अभियन्ताले चिन्ता गर्नुभएको छ । हुर्किएर छहारी दिन थालेको करिब १० वटा रुख काटिएपछि वृक्षमानवका उपनामले परिचित पर्यावरण अभियन्ता सुरेश शर्माले चिन्ता व्यक्त गर्नुभएको हो ।

उहाँले छ वर्षअघि ‘क्लिन एण्ड ग्रिन जनकपुर’ अभियानअन्तर्गत आफ्नै हातले रोपेको रुख काटिएपछि दुःख लागेको बताउनुभयो । पोखरीको डिलमा पर्खाल निर्माण गर्ने क्रममा रुखहरु काटिएको जानकारी दिनुभयो । उहाँका अनुसार अधिकांश रुखहरू हुर्किएर छहारी दिन थालेका थिए । जानकी मन्दिर दर्शन गर्न आउने श्रद्धालु, पर्यटक तथा स्थानीय बासिन्दाले ती रुखको छहारीमा विश्राम गर्ने गरेका थिए ।

उहाँले रुख काट्नुभन्दा आधुनिक प्रविधिको प्रयोग गरी अन्यत्र स्थानान्तरण गर्न सकिने विकल्प हुँदाहुँदै त्यसतर्फ ध्यान नदिइएको बताउनुभयो । अहिले विश्वका धेरै ठाउँमा ठूला रुखसमेत सुरक्षित रूपमा स्थानान्तरण गर्ने प्रविधि विकास भइसकेको उल्लेख गर्दै उहाँले विकास निर्माणका नाममा वातावरणमाथि क्षति पु¥याउनु उचित नभएको बताउनुभयो । शर्माले भन्नुभयो, “अहिले प्रविधिको प्रयोग गरेर रुखलाई अन्यत्र सार्न सकिन्छ । त्यसो गर्दा विकास पनि हुन्थ्यो र हरियाली पनि जोगिन्थ्यो ।” यसरी काटिएको देख्दा किन मैले यो रुख रोपेँ होला भन्ने पश्चाताप लागिरहेको उहाँले सुनाउनुभयो ।

उहाँले थप्नुभयो “जसरी आमाबाबुले बच्चालाई जन्म दिएर हुर्काउँछन् र ठूलो भएको देखेर खुसी हुन्छन्, त्यसैगरी हामीले रोपेका बिरुवा छहारी दिने अवस्थामा पुगेका थिए । तर एकाएक काटिँदा शोक र आक्रोश उत्पन्न भएको छ ।” विकास निर्माण गर्दा वातावरण संरक्षणलाई प्राथमिकतामा राख्न सम्बन्धित निकायसँग उहाँले आग्रह गर्नुभयो । उहाँले विकास र हरियालीबीच सन्तुलन कायम गर्नुपर्नेमा जोड दिँदै उहाँले रुख संरक्षणका लागि नागरिकस्तरबाट समेत खबरदारी आवश्यक रहेको बताउनुभयो ।

रुख काटिएको विषयमा जनकपुरधाम उपमहानगरपालिका–१०, का वडाध्यक्ष मिथिलेश कर्णले रुख जानाजान नकाटेको बताउँदै निर्माण कार्यका क्रममा भएको असावधानीका कारण ढलेको दाबी गर्नुभयो । उहाँले पोखरीको डिलमा पर्खाल निर्माणका लागि रुखको जराछेउको माटो खनिएपछि बिहीबार साँझ चलेको हावाहुरी र वर्षाका कारण रुख ढलेको जानकारी दिनुभयो ।

वडाध्यक्ष कर्णले ढलेको रुखलाई सोही स्थानमा उचित व्यवस्थापन गर्न निर्माण व्यवसायीलाई निर्देशन दिइसकिएको बताउनुभयो । उहाँका अनुसार मधेश प्रदेश सरकारको लगानीमा अङ्गराज पोखरी सौन्दर्यकरणको काम भइरहेको छ भने वडाको विकास बजेटबाट पोखरीको डिलमा पर्खाल निर्माणको काम अघि बढाइएको छ ।