ढल्केबर, धनुषा ।
आदिकवि भानुभक्त आचार्यको २१३ औँ जन्मजयन्तीका अवसरमा प्रगतिशील लेखक सङ्घ नेपाल (प्रलेस) धनुषाले विशेष रचना वाचन कार्यक्रम आयोजना गरेको छ । ढल्केबरस्थित मोहन महतो–मुंगालाल महतो स्मृति प्रतिष्ठानको सभाहलमा आयोजित कार्यक्रममा प्रलेस धनुषाका अध्यक्ष गणेश घिमिरेको अध्यक्षता तथा मिथिला नगरपालिकाकी उपप्रमुख सुनिता सिंह बुढाथोकीको प्रमुख आतिथ्य रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि बुढाथोकीले साहित्य समाज परिवर्तनको महत्वपूर्ण माध्यम भएकाले नयाँ पुस्तालाई साहित्यप्रति आकर्षित गर्दै मानवीय मूल्य र मान्यतासँग जोड्न आवश्यक रहेको बताउनुभयो । साहित्यले सभ्य, सुसंस्कृत र जिम्मेवार समाज निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ थियो ।
कार्यक्रममा सत्यनारायण आलोक, वरिष्ठ पत्रकार अनिल कर्ण, प्रलेसकर्मी जीवनस्पर्शी, प्रलेस नेपालको विदेश विभाग सदस्य प्रेम घिमिरे, केन्द्रीय सदस्य विमला विश्वकर्मा, मधेश प्रदेश समितिका अध्यक्ष नारायण घिमिरे, बुढ्यौली साहित्य समाज सिरहाका अध्यक्ष गणेश अधिकारी तथा मिथिला साहित्य प्रतिष्ठान धनुषाका अध्यक्ष विपिराज दहाललगायतले आ–आफ्नो रचना तथा शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
वक्ताहरूले आदिकवि भानुभक्त आचार्यले नेपाली भाषा र साहित्यको विकासमा पु¥याएको योगदान अतुलनीय र अविस्मरणीय रहेको उल्लेख गर्दै उहाँको साहित्यिक विरासतलाई नयाँ पुस्तासम्म पु¥याउन यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने धारणा राख्नुभयो । साहित्य सिर्जनामा युवापुस्ताको सहभागिता बढाउन थप प्रयास आवश्यक रहेको उहाँहरूको भनाइ थियो ।
कार्यक्रममा कविता, गीत, गजल, मुक्तकलगायत विभिन्न विधाका साहित्यिक रचनाहरू वाचन गरिएको थियो । रचना वाचन गर्ने स्रष्टाहरूमा विदुषी दहाल, अनिल कर्ण, पूजा यादव, जीवनस्पर्शी, कुशल अधिकारी, लिलानाथ गौतम, प्रेमनिधि भट्टराई, बैकुण्ठ श्रेष्ठ, विमला विक, रेनुका भण्डारी दहाल, डोरबहादुर खड्का, जनकप्रसाद पौडेल, दिनेश कोइराला, विपिराज दहाल, निरप्रसाद शर्मा, विपुल विद्रोही, पवित्रा कुमारी, सत्यनारायण आलोक, दुर्गा गौतम, राजकुमार विक, फुल्गेन मगही, राकेश झा, गणेश तिमिल्सिना, गणेश घिमिरे, देवी घिमिरे, प्रेम घिमिरे, नारायण घिमिरे, निला घिमिरेलगायतका स्रष्टाको सहभागिता रहेको थियो ।
कार्यक्रमको अन्त्यमा सभाध्यक्ष गणेश घिमिरेले कार्यक्रममा सहभागी प्रमुख अतिथि, अतिथिहरू, साहित्यकार तथा सम्पूर्ण सहभागीप्रति आभार व्यक्त गर्नुभयो। उहाँले कार्यक्रम सफल बनाउन सहयोग गर्ने प्रायोजक मिथिला जडीबुटी सहकारी संस्था, ढल्केबर तथा सहयोगी साहित्यिक व्यक्तित्वहरूलाई विशेष धन्यवाद ज्ञापन गर्नुभयो।

