ढल्केबर, धनुषा ।
धनुषाको धनुषाधाम नगरपालिका–९, भिमानस्थित साइनो कबुलियत वन उपभोक्ता समितिमा आबद्ध महिला अचार बनाउने सीप हासिल गरेपछि व्यवसाय गर्ने तयारीमा जुट्नुभएको छ । उहाँहरू घरेलु उद्योग दर्ता गरेर व्यवसाय गर्ने तयारीमा जुट्नुभएको छ ।
डिभिजन वन कार्यालय धनुषाले आयआर्जन र स्वरोजगारसँग जोड्ने उद्देश्यले समितिमा आबद्ध १५ जना महिलालाई अचार उत्पादनसम्बन्धी सीपमूलक तालिम प्रदान गरेको थियो ।
तालिममा सहभागी मिनाकुमारी जर्घाले सिकेको सीपलाई सदूपयोग गर्दै व्यवसायिक रुपमा अचार उत्पादन गरेर बजारमा पठाउने योजना बनाएको बताउनुभयो । उहाँले भन्नुभयो, “तालिमपछि गुणस्तरीय अचार कसरी बनाउने, कसरी लामो सयमसम्म सुरक्षित राख्ने भन्ने सिकेका छौँ । अब यसलाई व्यवसायका रुपमा अघि बढाउने योजना छ ।” उहाँले पहिले घरका लागि मात्रै अचार बनाउने गरेको बताउँदै उहाँले ज्ञानको अभावमा अचार छिट्टै बिग्रिने र स्वाद परिवर्तन हुनेजस्ता समस्या आउने गरेको सुनाउनुभयो ।
तालिममा सहभागी अर्की महिला तेजकुमारी आलेले तालिमबाट अचार बनाउने विधिमात्र नभई गुणस्तर कायम गर्ने उपाय, र बजार व्यवस्थापनसम्बन्धी आधारभूत ज्ञानसमेत प्राप्त भएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले समूह बनाएर उत्पादन सुरु गरेका छौँ । अब घरेलु उद्योगमा दर्ता गरेर व्यवसाय विस्तार गर्ने योजना छ ।”
तालिममार्फत गाँजर, मूला, लसुन, काउली, तितेकरेला, आँप, अमला, बयर र च्याउलगायत स्थानीय स्तरमामा पाइने फलफूल तथा तरकारीबाट विभिन्न प्रकारका अचार उत्पादन सिकेको उहाँले जानकारी गराउनुभयो । उहाँका अनुसार डिभिजन वन कार्यालयले तालिमसँगै अचार उत्पादनका लागि आवश्यक भाँडा, मिक्स्चर मेसिनलगायत उपकरण पनि उपलब्ध गराएको छ । यसले व्यवसाय सुरु गर्न सहज हुने आलेको भनाइ छ ।
डिभिजन वन कार्यालय धनुषाका प्रमुख विनोद सिंहले वन संरक्षणसँगै वन उपभोक्ता समूहमा आबद्ध महिलालाई स्वरोजगारसँग जोड्ने उद्देश्यले यो सीपमूलक तालिम प्रदान गरिएको बताउनुभयो । उहाँले यस्ता कार्यक्रमले महिलाको आर्थिक सशक्तीकरणसँगै स्थानीय उत्पादनको प्रवद्र्धनमा पनि योगदान पुग्ने जानकारी दिनुभयो ।

