ढल्केबर ट्रमा सेन्टर अन्यत्र सार्ने षडयन्त्रको विरोधमा ¥याली

|

ढल्केबर, धनुषा ।
धनुषाको ढल्केबरमा ट्रमा सेन्टर अन्यत्र सार्ने षडयन्त्रको विरोधमा शनिबार ¥याली निकालिएको छ । ढल्केबरमा कायम गरिएको प्रस्तावित ट्रमा सेन्टर अन्यत्र सार्न लागिएको भन्दै ट्रमा सेन्टर संरक्षण संघर्ष समितिको आयोजनामा ¥याली निकालिएको हो ।

ढल्केबरस्थित महेन्द्र पार्कबाट सुरु भएको ¥याली चोक तथा आसपासका क्षेत्रको परिक्रमा गरी पुनः सोही स्थानमा पुगेर कोण सभामा परिणत भएको थियो । ¥यालीमा सहभागीले ‘ढल्केबरको ट्रमा सेन्टर अन्त सार्न पाइँदैन’, ‘स्वास्थ्यमन्त्री राजीनामा दे’ लगायतका विभिन्न नारा लेखिएका प्लेकार्ड, तथा ब्यानर बोकेका थिए । ¥यालीका सहभागीले ढल्केबरमा प्रस्तावित ट्रमा सेन्टर अन्यत्र सार्न नहुने भन्दै सरकारको निर्णयको चर्को विरोध गरेका थिए ।

¥यालीमा प्रतिनिधि सभा सदस्य डा. चन्द्रमोहन यादव, मधेश प्रदेश सभा सदस्य हरिनारायण महतो, प्रदेश सभा सदस्य कुवेरकान्त झा, पूर्वमन्त्री शेषनारायण यादव, मिथिला नगरपालिकाका नगर प्रमुख महेन्द्र महतो, उपप्रमुख सुनिता सिंह बुढाथोकी, विभिन्न वडाका वडाध्यक्ष, स्थानीय उद्योगी व्यवसायी, राजनीतिक दलका प्रतिनिधि, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि तथा स्थानीयको उल्लेखनीय सहभागिता थियो ।

कोण सभालाई सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्य डा. चन्द्रमोहन यादवले सडक दुर्घटनाको जोखिमलाई दृष्टिगत गर्दा यहाँ ट्रमा सेन्टर आवश्यक रहेको धारणा राख्नुभयो । प्रदेश सभा सदस्य हरिनारायण महतो र कुवेरकान्त झाले पनि ढल्केबरमा कायम गरिएको ट्रमा सेन्टर अन्यत्र सार्ने निर्णय स्वीकार्य नहुने बताउनुभयो । उहाँहरूले स्थानीयको लामो समयदेखिको माग र आन्दोलनलाई बेवास्ता नगरी सरकारले तत्काल निर्णय सच्याउनुपर्नेमा जोड दिनुभयो ।

पूर्वमन्त्री शेषनारायण यादवले ढल्केबरमा ट्रमा सेन्टर स्थापना गर्ने प्रक्रिया अघि बढिसकेको अवस्थामा अन्यत्र सार्ने प्रयासले स्थानीयवासीको भावनामा चोट पुगेको बताउनुभयो । उहाँले निर्णय नसच्चिए आफु अनसनमा बस्ने चेताबनी दिनुभयो ।

मिथिला नगरपालिकाका नगर प्रमुख तथा ट्रमा सेन्टर संरक्षण संघर्ष समितिका संयोजक महेन्द्र महतोले ढल्केबरमा ट्रमा सेन्टर स्थापना गर्ने निर्णय कुनै व्यक्ति वा दलको मात्र विषय नभई यस क्षेत्रका नागरिकको आवश्यकता र अधिकारसँग जोडिएको विषय भएको बताउनुभयो । उहाँले ढल्केबरबाट ट्रमा सेन्टर सार्ने निर्णय फिर्ता नभएसम्म आन्दोलन जारी रहने स्पष्ट पार्नुभयो ।

गत मंगलबार सङ्घीय सरकारका स्वास्थ्यमन्त्री निशा मेहताले प्रतिनिधि सभा बैठकमा मधेश प्रदेशको लहानमा ट्रमा सेन्टर निर्माण गर्ने अभिव्यक्ति दिएपछि ढल्केबरमा कायम गरिएको ट्रमा सेन्टर अन्यत्र सार्न लागिएको भन्दै स्थानीयवासी, जनप्रतिनिधि तथा राजनीतिक दलका प्रतिनिधि आन्दोलित भएका हुन् ।

अन्य सहभागीले ढल्केबरमा ट्रमा सेन्टर स्थापना गर्ने यसअघिका निर्णय कार्यान्वयन गर्न, त्यसका लागि आवश्यक प्रक्रिया अघि बढाउन र अन्यत्र सार्ने निर्णय तत्काल रोक्न सरकारसँग माग गरेका छन् । प्रदर्शनकारीले शान्तिपूर्ण रूपमा ¥याली तथा कोण सभा गरी सरकारलाई निर्णय सच्याउन दबाब दिएका छन्। संघर्ष समितिले माग सम्बोधन नभएसम्म आन्दोलनका कार्यक्रम गरिरहने जनाएको छ ।