धनुषा । धनुषा–१ को राजनीतिक मैदान यतिबेला फेरि एकपटक तातिएको छ । वाम आन्दोलन, सशस्त्र संघर्ष र त्यसपछिको संसदीय अभ्यास हुँदै राष्ट्रिय राजनीतिमा आफ्नो छुट्टै पहिचान बनाएका मातृकाप्रसाद यादव यस पटक पुनः प्रतिनिधिसभा सदस्य पदका लागि मैदानमा उत्रिएका छन् । हाल नेपाली कम्युनिस्ट पार्टीबाट यादव उम्मेदवारका रूपमा चुनावी प्रतिस्पर्धामा छन् ।
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा धनुषा–१ बाट जनता समाजवादी पार्टीका दीपक कार्की २७ हजार ४३२ मतसहित विजयी हुँदा यादव २१ हजार ४८३ मत ल्याएर निकटतम प्रतिस्पर्धी बनेका थिए । जनमत पार्टीबाट प्रतिस्पर्धा गरेका किशोरी साहले १४ हजारभन्दा बढी मत ल्याउनुभएको थियो भने राप्रपाका उम्मेदवारले मल्लले आठ हजारभन्दा बढी मत प्राप्त गर्नुभएको थियो । त्यसबेला राष्ट्रिय स्वतन्त्र पार्टीको न्यून मत प्राप्त भएको थियो ।
यसपटक भने अघिल्लो परिणाम उल्ट्याउने लक्ष्यसहित उनी मतदातामाझ पुगेका छन् । त्यसअघि २०७४ मा भने यादवले कार्कीलाई ९ हजार १२२ मतान्तरले पराजित गर्दै २६ हजार ४१८ मत प्राप्त गरेका थिए । २०७९ को निर्वाचनमा गठबन्धनका साथी इमानदार नहुँदा पराजित भएको उनले बताए ।
यादव यसपटक अघिल्लो परिणाम उल्ट्याउने स्पष्ट लक्ष्यसहित मतदातामाझ पुगेका छन् । उनी भन्छन्, ‘यो सामान्य निर्वाचन होइन, फरक राजनीतिक परिस्थितिमा भइरहेको छ । यदि हामीले जितेनौँ भने प्राप्त उपलब्धि गुम्ने खतरा बढ्न सक्छ।’ उनको भनाइमा शिक्षा, स्वास्थ्य, कृषि आधुनिकीकरण र सुशासन प्राथमिकतामा छ । विश्लेषकहरूका अनुसार अघिल्लो निर्वाचनमा विजयी भएका कार्कीलाई यसपटक उस्तै परिणाम दोहोर्याउन चुनौती हुनेछ ।
यादवले आफ्नो प्रचार अभियानमा विगतका उपलब्धिको रक्षा, संघीयता सुदृढीकरण र स्थानीय पूर्वाधार विकासलाई जोड दिएका छन् । उनले आफू नीति निर्माणमा अनुभवी रहेको दाबी गर्दै “विकासका लागि केन्द्र र प्रदेशबीच समन्वयकारी भूमिका खेल्न सक्ने प्रतिनिधि आवश्यक” रहेको तर्क अघि सारेका छन् । विगतको मत परिणामलाई हेर्दा यसपटकको प्रतिस्पर्धा रोचक हुने देखिन्छ ।
सपटक धनुषा–१ मा नेपाली कांग्रेसबाट रामपल्टन साह, नेकपा (एमाले)बाट रामचन्द्र मण्डल, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट मातृकाप्रसाद यादव, जसपाबाट दीपक कार्की, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रास्वपाबाट किशोरी साह (कमल), राप्रपाबाट मनोजमल्ल ठकुरीसहित ४२ उमेदवार छन् ।
रास्वपाका साह २०७४ मा नेकपा (एमाले) बाट क्षेत्र नम्बर १ ‘क’ बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । २०७९ को प्रतिनिधिसभा निर्वाचनमा जनमत पार्टीबाट उम्मेदवार बनेका उनले यसपटक रास्वपाबाट प्रतिस्पर्धामा छन् ।
नेकपा (एमाले) का रामचन्द्र मण्डल प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएर प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनेका छन् । यसअघि उहाँ २०७४ मा धनुषा क्षेत्र नम्बर १ ‘ख’ बाट तत्कालीन नेकपा (माओवादी केन्द्र) र २०७९ मा नेकपा (एमाले) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । नेपाली कांग्रेसका रामपल्टन साहले आफू यस क्षेत्रको नयाँ अनुहार भएकाले मतदाताबाट सकारात्मक साथ पाउने विश्वास उहाँले व्यक्त गरे ।

