प्रतिनिधि सभाका उम्मेदवारले नाला बनाउने नाममा भोट माग्नु गलत : महेश यादव

|

ढल्केबर, धनुषा । धनुषा निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार इन्जिनियर महेश यादवले कतिपय उम्मेदवारले स्थानीय तहअन्तर्गत पर्ने कामलाई एजेण्डा बनाएर जनता झुक्याउने काम गरिरहेको आरोप लगाउनुभएको छ । प्रतिनिधिसभा सदस्यको मूल काम कानुन निर्माण, ठूला राष्ट्रिय परियोजनाको पहल र रोजगारी सिर्जना गर्नु हो । सानातिना नाला, इनार, सडक ढलानजस्ता विषयमा मत माग्नु संसदीय भूमिकासँग मेल नखाने यादवको भनाइ छ ।

उज्यालो नेपाल पार्टी बाट उम्मेदवार बनेका उहाँले चुनावी कार्यक्रममा बोल्दै अहिलेको चुनाव संसदीय चुनाव भएकाले जनतालाई स्थानीय तहका कामको प्रलोभनमा पारेर भ्रम सिर्जना गरिरहेको आरोप लगाउनुभयो । ‘अहिले केही पुराना प्रतिनिधिहरूले ‘नाला बनाइदिन्छु, सडक बनाइदिन्छु’ भनेर मत मागिरहेका छन्,’ उहाँले भन्नुभयो, उनले भने, ‘तर प्रतिनिधि सभाको चुनाव भनेको देशको कानुन निर्माण गर्ने, ठूला प्रोजेक्ट अघि बढाउने र विगतमा बन्द भएका उद्योग सञ्चालनमा ल्याउने विषयसँग सम्बन्धित हो ।’

उहाँका अनुसार सांसद देशको उच्च तहमा बसेर नीतिगत निर्णय गर्ने व्यक्ति भएकाले रोजगारी र स्वरोजगारी सिर्जना, विकेन्द्रित अर्थतन्त्रलाई सुदृढ बनाउने तथा प्रदेश र स्थानीय तहलाई सशक्त बनाउने दिशामा ध्यान दिनुपर्छ । उहाँले आफूले स्पष्ट रूपमा स्थानीय र संघीय जिम्मेवारीको भिन्नता जनतालाई बुझाउँदै आएको दाबी गर्नुभयो । ‘कतिपय ठाउँमा मलाई इनार बनाइदिनु भनेर भन्नुहुन्छ,’ उहाँले भन्नुभयो, ‘तर म त्यसलाई स्थानीय तहको जिम्मेवारी हो भनेर प्रस्ट पार्छु ।’।

मधेशमा गहिरिँदै गएको भूमिगत पानीको समस्या औँल्याउँदै यादवले स्थायी समाधानका लागि ‘वाटर कन्जरभेसन पोलिसी’ ल्याउनुपर्ने आवश्यकता औंल्याउनुभयो । ‘अहिले पानीको सतह निकै तल झरेको छ । मुर्गिया खोलाभन्दा उता पहाडी क्षेत्रको पानीलाई डाइभर्सन गरी लाखौँ किसानका लागि सिँचाइ र पिउने पानीको दीर्घकालीन व्यवस्था गर्न सकिन्छ,’ उहाँले भन्नुभयो । उहाँका अनुसार पानीको समस्या केवल मधेशको मात्र नभई समग्र देशकै साझा चुनौती भएकाले राष्ट्रिय स्तरमै पोलिसी बनाउन आवश्यक छ ।

इन्जिनियर यादवले नेपाल प्राकृतिक स्रोतले सम्पन्न देश भएको उल्लेख गर्दै कोशी नदी र महाकाली नदी जस्ता नदीहरूको पानीलाई वैज्ञानिक ढंगले च्यानलमार्फत व्यवस्थापन गर्न सके सिँचाइ र खानेपानीको स्थायी समाधान सम्भव रहेको बताए ।
‘वर्षाको पानी संकलनका लागि ‘वाटर रिजभ्र्वायर’ निर्माण गर्न सकिन्छ। यसले खेतीपाती र खानेपानी दुवै क्षेत्रमा ठूलो राहत दिन्छ,’ उहाँले भन्नुभयो । रोजगार अभावलाई प्रमुख राष्ट्रिय समस्या ठहर गर्दै उहाँले हरेक नागरिकलाई रोजगारी दिनु राज्यको दायित्व भएको बताए । सुशासनको प्रत्याभूति, युवालाई उद्यमशीलतामा जोड्ने नीति तथा किसानका लागि ‘कृषक उद्योग’ दर्ता सहज बनाउने विषयलाई आफ्नो प्राथमिकतामा राखेको उनले जानकारी दिनुभयो ।

‘यो ‘जेन–जी’ आन्दोलन पुराना दलहरूले काम गर्न नसकेकै कारण आएको हो । जनता आजित भइसकेका छन्,’ उहाँले भन्नुभयो, ‘मेरो प्रतिस्पर्धा व्यक्तिसँग होइन, विचारसँग हो । समाजमा देखाएको व्यवहार र काम नै मेरो जितको आधार हो ।’
अघिल्लो निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिस्पर्धा गरेका यादव यसपटक उज्यालो नेपाल पार्टी बाट उम्मेदवार बनेका हुन् । उक्त पार्टीको नेतृत्व कुलमान घिसिङ ले गरिरहेका छन् ।

यादवले आफूलाई ‘नैतिकवान्, चरित्रवान् र सक्षम युवा इन्जिनियर’ भन्दै मतदातासमक्ष दीर्घकालीन नीतिगत सुधार, प्राकृतिक स्रोतको सदुपयोग र रोजगारीमुखी विकासको स्पष्ट दृष्टिकोणसहित अघि बढेको बताउनुभयो ।