ढल्केबर, धनुषा ।
युवा इन्जिनियर सञ्जयकुमार महतोले आफूलाई धनुषा–४ मा जेन–जी पुस्ताको उम्मेदवार म मात्र भएको दाबी गरेका छन् । यो क्षेत्रमा अरु सबैजसो ५० कटेका उम्मेदवार भएको बताउँदै जनता चाहेको जेन–जी पुस्ताको म एकमात्र उम्मेदवार रहेको उनको भनाइ छ ।
यसबीच पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भिडियो सन्देश जारी गर्दै धनुषा–४ का मतदातासँग आफ्ना पार्टीका उम्मेदवार सञ्जय कुमार महतोलाई विजयी गराउन अपिल गरेका छन् । आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै जारी उक्त सन्देशमा उनले महतो कुशासन, बेथिति र महँगीविरुद्ध सशक्त आवाज उठाउँदै आएका दूरदर्शी विद्यार्थी नेता भएको उल्लेख गर्दै संसदका लागि उपयुक्त उम्मेदवार भएको जिकिर गरेका छन् ।
प्रचण्डले युवा पुस्ताको प्रतिनिधित्व गर्ने महतो संसदमा पुगे देश र क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै राम्रो मतान्तरसहित निर्वाचित हुने दाबीसमेत गरेका छन् । ‘अबको संसदमा नयाँ ऊर्जा, प्राविधिक दक्षता र स्पष्ट दृष्टिकोण चाहिन्छ,’ उनको भनाइ उद्धृत गरिएको छ ।
फरक शैली, फरक प्रस्तुति
धनुषा–४ मा यसपटक सञ्जय महतोको चुनावी अभियान परम्परागत शैलीभन्दा फरक देखिएको छ। ठूला आमसभा र शक्ति प्रदर्शनभन्दा बढी उनी घरदैलो अभियान, साना अन्तरक्रिया र डिजिटल माध्यमको प्रयोगमार्फत मतदातासम्म पुगेका छन्।
विशेषगरी युवापुस्तामाझ ‘जेन–जी’ भावनाअनुसार नयाँ सोच, पारदर्शिता र व्यवहारिक योजनासहित अघि बढेको उम्मेदवारका रूपमा उनलाई हेरिएको छ। सामाजिक सञ्जालमार्फत नियमित संवाद, सार्वजनिक प्रतिबद्धता र नीति–केन्द्रित बहसले उनले आफूलाई मुद्दामुखी राजनीतिज्ञका रूपमा प्रस्तुत गरेका छन्। “व्यक्तिगत आरोप–प्रत्यारोपभन्दा विकास, सुशासन र नीतिगत सुधारमा बहस हुनुपर्छ,” महतो भन्छन्।
कृषिमा नीतिगत हस्तक्षेपको प्रतिबद्धता
कृषि सम्भावना बोकेको क्षेत्र धनुषा–४ मा किसानका समस्या सञ्जयको प्रमुख एजेन्डा बनेको छ । उनले उत्पादन लागतअनुसार मूल्य सुनिश्चितता, मलबीउको समयमै उपलब्धता, सिँचाइ पूर्वाधार विस्तार, कृषि बीमाको प्रभावकारी कार्यान्वयन तथा व्यवस्थित बजारीकरण प्रणाली स्थापना गर्ने प्रतिबद्धता जनाएका छन् ।
‘कृषि क्षेत्रलाई दीर्घकालीन नीति हस्तक्षेप आवश्यक छ। किसानले लागतभन्दा कम मूल्य पाउने अवस्था अन्त्य हुनुपर्छ,’ उनको भनाइ छ । उनले संसदमा पुगेपछि कृषिसम्बन्धी ऐन–कानुन सुधार र बजेट विनियोजनमा प्रभावकारी भूमिका खेल्ने दाबी गरेका छन्।
शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारी
महतोले कृषि मात्र नभई शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारीलाई पनि समान प्राथमिकतामा राखेका छन्। शिक्षामा गुणस्तर सुधार र प्राविधिक शिक्षाको विस्तार, स्वास्थ्य सेवामा पहुँच विस्तार र पूर्वाधार सुदृढीकरण, पर्यटन प्रवद्र्धनमार्फत स्थानीय अर्थतन्त्र चलायमान बनाउने तथा युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्ने विषयमा नीतिगत तहबाट पहल गर्ने उनको योजना छ। “युवालाई विदेशिन बाध्य बनाउने होइन, स्वदेशमै अवसर सिर्जना गर्ने राजनीतिक इच्छाशक्ति चाहिन्छ,” उनी भन्छन्।
को हुन् सञ्जय?
धनुषामै विद्यालय शिक्षा पूरा गरेका सञ्जय उच्च शिक्षाका लागि काठमाडौं पुगेका थिए। उनले २०६९ सालमा त्रिभुवन विश्वविद्यालय अन्तर्गतको थापाथली क्याम्पसबाट सिभिल इन्जिनियरिङमा स्नातक गरेका छन्।
काठमाडौं आएलगत्तै उनी तत्कालीन माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीमा आबद्ध भए। क्लास कमिटीबाट राजनीतिक यात्रा सुरु गरेका उनले बागमती प्रदेश कमिटीमार्फत केन्द्रीय सदस्यको जिम्मेवारी सम्हाले। पछि संगठनको सचिवालय सचिवको रूपमा काम गर्दै संगठनात्मक अनुभव हासिल गरे।
“म विद्यार्थी राजनीतिबाटै आएको हुँ। संघर्ष, संगठन र विचारबाटै यहाँसम्म आइपुगेको हुँ,” सञ्जय भन्छन्।
उनका अनुसार, जेन–जी आन्दोलन सुरु हुनुअघि नै प्रचण्डले उनलाई प्रतिनिधिसभाको तयारी गर्न सुझाव दिएका थिए। आन्दोलनले चुनावी वातावरण तयार गरिदिएपछि जिल्लास्तरका नेताहरूले पनि उनलाई उम्मेदवारका रूपमा अघि सारेका हुन्।
पारिवारिक पृष्ठभूमि र व्यक्तिगत यात्रा
सञ्जयको पारिवारिक पृष्ठभूमि पनि राजनीतिक छ। उनका बुवा २०५४ सालमा जनमोर्चाबाट वडा अध्यक्ष निर्वाचित भएका थिए। पार्टी एकीकरणपछि पनि राजनीतिमा सक्रिय रहे तापनि पारिवारिक आर्थिक जिम्मेवारीका कारण निरन्तरता दिन सकेनन्।
“तीन दिदीहरूको विवाह र सामाजिक दायित्वका कारण बुवाले राजनीति छाड्नुपर्यो। अधुरो सपना पूरा गर्ने प्रेरणा त्यहीँबाट आएको हो,” सञ्जय बताउँछन्।
पेशागत अनुभव
२०७३ सालमा इन्जिनियरिङ अध्ययन पूरा गरेपछि सञ्जयले निर्माण र डिजाइन क्षेत्रमा सक्रियता बढाए। विगत करिब १० वर्षदेखि उनी स्थानीय तह, शहरी विकास, सिँचाइ तथा सडक पूर्वाधारसम्बन्धी परियोजनामा संलग्न छन्।
उनका अनुसार, करिब २०० भन्दा बढी स्थानीय तहका संरचनाहरूको डिजाइन तथा डीपीआर तयारीमा आफू संलग्न रहेको अनुभव छ। हाल उनी धनुषामै बसेर राजनीति र पेशालाई सँगसँगै अगाडि बढाइरहेका छन्।
प्रतिस्पर्धा र चुनौती
धनुषा–४ मा यसपटकको प्रतिस्पर्धा रोचक मानिएको छ। सञ्जयका प्रमुख प्रतिस्पर्धीमा पूर्वमन्त्री रघुबीर महासेठ र नेपाली कांग्रेसका नेता महेन्द्र यादव रहेका छन्। दुवै राजनीतिक र आर्थिक रूपमा प्रभावशाली व्यक्तित्वका रूपमा चिनिन्छन्।
तर सञ्जय भने आर्थिक हैसियतभन्दा जनलहरमा विश्वास गर्ने बताउँछन्। “यो चुनाव पैसाको होइन, पुस्तान्तरणको हो। जेन–जी पुस्ताको प्रतिनिधित्व गर्ने उम्मेदवार म मात्र हुँ,” उनले दाबी गरेका छन्।
धनुषा–४ मा यसपटकको निर्वाचन केवल उम्मेदवारबीचको प्रतिस्पर्धा मात्र नभई पुरानो र नयाँ पुस्ताबीचको बहसका रूपमा समेत हेरिएको छ। युवा इन्जिनियर सञ्जय कुमार महतोले आफूलाई परिवर्तनको प्रतीकका रूपमा प्रस्तुत गरेका छन्। अन्तिम निर्णय भने मतदाताको हातमा छ।

