पार्टीको उम्मेदवारलाई सघाउन मिथिलाका निर्वतमान मेयरले लिए उम्मेदवारी फिर्ता

|

ढल्केवर, धनुषा

धनुषाको मिथिला नगरपालिकाका निर्वतमान मेयर हरिनारायण महतोले स्वतन्त्रबाट मेयरको उम्मेदवारी फिर्ता लिएका छन् । उनले नेकपा एमालेबाट बागी उम्मेदवारी दर्ता गराएका थिए ।

निर्वतमान मेयर महताले एमालेबाट मेयरमा उम्मेदवारी दिएका राजाराम महतोलाई चुनावमा सहयोग गर्न आफ्नो उम्मेदवारी फिर्ता लिएको बताए ।

मनोनयन दर्ताको अन्तिम दिन सोमबार बिहान एक्कासी मेयरको टिकटबाट पार्टीले विमुख गरेपछि उनले स्वतन्त्रबाट मेयरमा उम्मेदवारी दर्ता गराएका थिए ।

अध्यक्ष केपी शर्मा ओली र पार्टीका उच्च अधिकारीसँगका गहन छलफल पश्चात उम्मेदवारी फिर्ता लिएको मिथिला नगरपालिकाका निर्वतमान मेयर महतोले बताए । मिथिला नगरपालिकाको निर्वाचन अधिकृतको कार्यालय पुगेर शुक्रबार दिउँसो उनले आफ्नो उम्मेदवारी फिर्ता लिएको छ ।

एमाले नगर कमिटीले मेयरको उम्मेदवारीमा हरिनारायणको एकल नाम सिफारिस गरेको भएपनि मनोनयन दर्ताको अन्तिम दिन सोमबार उहाँको स्थानमा पार्टीले राजाराजलाई टिकट दिएको थियो । एमालेबाट टिकट नपाएपछि पार्टी परित्यागको घोषणा गर्दै निर्वतमान नगर प्रमुख हरिनारायणले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए ।